YouVersion Logo
Search Icon

लूका पुस्‍तक परिचय

पुस्‍तक परिचय
लूका औषधी गर्ने एक जना डाक्टर थिए (कलस्सी ४:१४), र पावल प्रेरितका घनिष्‍ठ सहयोगी पनि थिए। लूकाले यो सुसमाचार मात्र होइन तर “प्रेरितहरूका काम” भन्‍ने नयाँ करारको पुस्तक पनि लेखे (हेर्नोस्‌ लूका १:१-४; प्रेरित १:१-२)। पावल प्रेरित प्रचार गर्नका निम्ति ग्रीस र टर्कीमा दोस्रो र तेस्रो पटक यात्रा गर्दा कुनै-कुनै ठाउँमा लूका पनि तिनीसँगसँगै गए (हेर्नोस्‌ प्रेरित १६:१०; २०:६)। रोममा जाने पावलको अन्‍तिम समुद्र यात्रामा लूका पनि तिनको साथमा थिए (प्रेरित २७:१-२)। अनि रोममा पुगेर पावल कैदीको रूपमा थुनिएपछि, लूकाले तिनको सेवा गरे (२ तिमोथी ४:११)।
त्‍यसकारण लूकाले ख्रीष्‍टियान धर्मको सुरुको विषयमा लेखेका मात्र होइनन्‌ तर तिनी त्‍यसमा सहभागी पनि भएका थिए।
मत्ती आफै यहूदी भएका हुनाले, आफ्‍नो सुसमाचार विशेष गरी यहूदीहरूका लागि लेखे। तर लूकाचाहिँ ग्रीक थिए, त्‍यसकारण तिनले आफ्‍नो सुसमाचार विशेष गरेर अन्‍य जातिहरूले सजिलोसँग बुझ्‍न सक्‍ने गरी लेखेका छन्‌।
यो सुसमाचार लेख्दा, लूकासँग मर्कूसको सुसमाचारको एउटा प्रतिलिपि थियो। (मर्कूसको सुसमाचार पहिले नै लेखिएको सुसमाचार थियो।) यसैकारण लूकाले आफ्‍नो सुसमाचारमा मर्कूसको सुसमाचारमा लेखिएका धेरै कुरा दोहोर्‍याएका छन्‌।
मर्कूसले लेखेका कुरा बाहेक, लूकाले अरू कुरा पनि लिएर आफ्‍नो सुसमाचार रचना गरे। यसमा मत्तीको सुसमाचारमा लेखिएका केही कुरा पनि समाबेश गरिएका छन्। अरू केही कुरा लूकाको सुसमाचारमा मात्रै पाइन्‍छ।
मुख्य सम्झनुपर्ने कुरा यो हो कि लूका डाक्टर मात्र थिएनन्, तर पक्‍का इतिहासकार पनि थिए। यस सुसमाचार र “प्रेरितहरूका कामको पुस्तक” मा पनि लूकाले एकदम होशियारसँग बिस्तारमा धेरै साना-साना सत्‍य ऐतिहासिक कुराहरू लेखेका छन्‌। लूकाको लेखाइको यथार्थता अरू धेरै ऐतिहासिक किताबहरू र बैज्ञानिक अनुसन्धानबाट एकदम पुष्‍ट र प्रमाणित भएको छ। येशू ख्रीष्‍टको सुसमाचार कुनै एक जना मानिसले कल्‍पना गरेको कथा होइन। त्योचाहिँ पूरा तवरले एउटा सत्य र ऐतिहासिक कुरा हो।
लूकाले आफ्‍नो सुसमाचार कुन सालमा लेखेका थिए भन्‍ने कुरा निश्चयसँग थाहा छैन। बाइबलका धेरै विद्वानहरू लूकाको सुसमाचार ईस्वी सम्बत्‌ ६५-७० मा लेखिएको थियो भनेर विचार गर्छन्‌। अरूहरू त्यसभन्दा पछि लेखिएको हो भनी ठान्‍छन्‌।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in