YouVersion Logo
Search Icon

आमोस 2

2
मोआब
1 # यशैया 15:1—16:14; 25:10-12; यर्मिया 48:1-47; इजकिएल 25:8-11; सपन्‍याह 2:8-11 परमप्रभु भन्‍नुहुन्‍छ, “मोआबका मानिसहरूले घरिघरि पाप गरेका छन् र त्‍यसको निम्‍ति म तिनीहरूलाई दण्‍ड नदिई छोड्‍नेछैनँ। एदोमका राजाका हड्डीहरू जलाएर खरानी बनाई तिनीहरूले मरेको राजाको समेत अपमान गरे। 2यसकारण म मोआब देशमा आगो लगाइदिनेछु र किर्योतका किल्‍लाहरू भस्‍म पारिदिनेछु। लडाइँको होहल्‍ला, सेनाको सोर र तुरहीको आवाजबीच मोआबका मानिसहरू मर्नेछन्। 3त्‍यस देशका शासक र भारदारहरू सबैलाई म नाश गर्नेछु।”
यहूदा
4परमप्रभु भन्‍नुहुन्‍छ, “यहूदाका मानिसहरूले घरिघरि पाप गरेका छन् र त्‍यसको निम्‍ति म तिनीहरूलाई दण्‍ड नदिई छोड्‍नेछैनँ। तिनीहरूले मेरो व्‍यवस्‍थालाई हेला गरे र मेरा आज्ञापालन गरेनन्। तिनीहरूका पिता-पुर्खाहरूले पुजेकै देवी-देवताहरूले तिनीहरूलाई भर्माएका छन्। 5यसकारण म यहूदामा आगो लगाइदिनेछु र यरूशलेमका किल्‍लाहरू भस्‍म पारिदिनेछु।”
इस्राएलमाथि परमेश्‍वरको न्‍याय
6परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएलका मानिसहरूले घरिघरि पाप गरेका छन् र त्‍यसको निम्‍ति म तिनीहरूलाई दण्‍ड नदिई छोड्‍नेछैनँ। आफूले लिएको ऋण तिर्न नसक्‍ने सोझा मानिसहरू र एक जोर जुत्ताको दामसम्‍म चुकाउन नसक्‍ने गरीब मानिसहरूलाई तिनीहरूले कमारा बनाई बेचिदिन्‍छन्। 7तिनीहरूले गरीबहरूमाथि थिचोमिचो गर्दछन् र अत्‍याचारमा परेकाहरूलाई न्‍याय दिँदैनन्। बुबा र छोरो दुवै जना एउटै केटीसित सुत्‍दछन् र त्‍यसरी मेरो पवित्र नाममा कलङ्क लाउँदछन्। 8प्रत्‍येक आराधना-स्‍थलमा दरिद्रहरूबाट अन्‍यायसाथ बन्‍धक लिइएका वस्‍त्रहरूमाथि तिनीहरू सुत्‍दछन्। आफ्‍ना देवस्‍थानमा तिनीहरू जरिमानास्‍वरूप लिइएका दाखमद्य पिउँदछन्।
9 # व्यवस्था 3:8-11 “हे मेरा प्रजा, मैले तिमीहरूकै खातिर एमोरीहरूलाई पूरा नाश गरेको थिएँ। ती एमोरीहरू देवदारुका रूखहरूझैँ अग्‍ला र फलाँटका रूखहरूझैँ बलिया थिए तर मैले तिनीहरूलाई टुप्‍पादेखि जरैसम्‍म नाश पारें। 10मैले तिमीहरूलाई मिश्रदेशबाट निकाली ल्‍याएँ, चालीस वर्षसम्‍म उजाड-स्‍थानको बीचबाट डोर्‍याएँ र एमोरीहरूको देश तिमीहरूको निज देश बनाउनलाई दिएँ। 11#गन्ती 6:1-8मैले तिमीहरूका छोराहरूबाट अगमवक्ताहरू र युवाहरूबाट नाजिरीहरू चुनें। हे इस्राएलका मानिसहरू हो, के यो साँचो कुरा होइन र? म परमप्रभु, बोलेको छु। 12तर तिमीहरूले नाजिरीहरूलाई मद्य पिउन लगायौ र अगमवक्ताहरूलाई मेरा वचन बोल्‍न दिएनौ। 13यसकारण हेर, अब म तिमीहरूलाई अन्‍नले लादेको गाडाले झैँ जमिनमा किचिदिनेछु। 14वेगले दगुर्नेहरू पनि उम्‍कन सक्‍नेछैनन्, बलियाहरूको बल पनि काम लाग्‍नेछैन र योद्धाहरूले पनि आफैंलाई बचाउन सक्‍नेछैनन्।
15धनु-काँड चलाउनेहरू खडा रहन सक्‍नेछैनन्, वेगले दगुर्नेहरू उम्‍कनेछैनन् र घोडामा सवार हुनेहरूले आफ्‍ना प्राण बचाउन सक्‍नेछैनन्। 16त्‍यस दिन सुरवीरहरू पनि हतियार छोडेर भाग्‍नेछन्।” परमप्रभु बोल्‍नुभएको छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in