आमोस 7
7
सलहको दर्शन
1परमप्रभु परमेश्वरबाट मैले एउटा दर्शन पाएँ। राजाको भागमा पर्ने घाँस काटिसकेपछि नयाँ घाँस पलाउन लाग्दा उहाँले एक हुल सलह सृष्टि गर्नुभएको मैले देखें। 2सलहहरूले देशका सबै हरिया घाँसपात खाइसकेको मैले देखें र मैले भनें, “सार्वभौम परमप्रभु, आफ्ना प्रजालाई क्षमा गर्नुहोस्! तिनीहरू कसरी बाँच्न सक्छन्? तिनीहरू साह्रै साना र दुर्बल छन्।”
3तब परमप्रभुले आफ्नो मन बदल्नुभयो र भन्नुभयो, “त्यसो भए तैँले देखेको दर्शन पूरा हुनेछैन।”
आगोको दर्शन
4परमप्रभु परमेश्वरबाट मैले अर्को एउटा दर्शन पाएँ। उहाँले आफ्ना प्रजालाई आगोद्वारा सजाय दिन तयारी गर्न लाग्नुभएको देखें। आगोले महासागर सुकाइदियो र जमिनमा आगो लाग्न सुरु भयो। 5तब मैले भनें, “परमप्रभु परमेश्वर, थामिनुहोस्! कसरी तपाईंका प्रजा बाँच्न सक्छन्? तिनीहरू साह्रै साना र दुर्बल छन्।”
6परमप्रभुले फेरि आफ्नो मन बदल्नुभयो र भन्नुभयो, “लौ त्यसो भए यो पनि हुनेछैन।”
साहुलको दर्शन
7परमप्रभुबाट मैले अर्को एउटा दर्शन पाएँ। मैले उहाँलाई साहुल लगाएर बनाएका भित्तानिर हातमा साहुल लिएर उभिरहनुभएको देखें। 8उहाँले मलाई सोध्नुभयो, “आमोस, तैँले के देख्दैछस्?” मैले उहाँलाई, “एउटा साहुल देख्दै छु,” भनेर जवाफ दिएँ।
तब उहाँले भन्नुभयो, “मेरो प्रजा इस्राएललाई म साहुल लाउँदै छु। तिनीहरूलाई सजाय दिने कुरामा अब मेरो मन बदल्नेछैन। 9इसहाकका सन्तानले पूजा गरेका पूजा-स्थलहरू ध्वंस हुनेछन्। इस्राएलका पवित्र स्थलहरू भत्काइनेछन्। म यारोबाम राजाको वंशलाई समाप्त गर्नेछु।”
आमोस र अमस्याह
10तब बेथेलका पूजाहारी अमस्याहले इस्राएलका राजा यारोबामकहाँ यस्तो खबर पठाए, “आमोसले मानिसहरूका बीचमा तपाईंको विरुद्धमा जाल गरिरहेको छ। त्यसले भनेको कुरा देशले सहन सक्दैन। 11त्यसले यसो भन्दै छ, ‘यारोबाम लडाइँमा मर्नेछन् र इस्राएलका मानिसहरू कैदी बनाइएर देशबाट निकालावास गरिनेछन्’।”
12तब अमस्याहले आमोसलाई भने, “हे अगमवक्ता, अब भयो! यहूदामा फर्क र त्यहाँ तिम्रो अगमवाणी कह। त्यहाँका मानिसले तिमीलाई ज्याला देऊन्। 13अब यहाँ बेथेलमा अरू धेरै अगमवाणी नभन। यो त राजाको पूजास्थल हो, राष्ट्रको मन्दिर हो।”
14आमोसले जवाफ दिए, “म ज्यालाको लागि अगमवाणी भन्ने खालको अगमवक्ता होइनँ, म गोठालो हुँ र नेभाराका रूखहरू स्याहार्ने काम पनि गर्दछु। 15परमप्रभुले मलाई गोठाले कामबाट निकाल्नुभएर इस्राएलका मानिसहरूलाई अगमवाणी भन्न आज्ञा गर्नुभयो। 16अब परमप्रभुको वचन सुन। इस्राएलको विरुद्धमा अगमवाणी नभन र इसहाकको घरानाको विरुद्ध बोल्न बन्द गर भनी तिमी मलाई भन्छौ। 17यसैकारण अमस्याह, तिमीलाई परमप्रभु भन्नुहुन्छ, ‘तिम्री स्वास्नी सहरमा एउटी वेश्या हुनेछे र तिम्रा छोरा-छोरीहरू लडाइँमा मारिनेछन्। तिम्रो जमिन भाग लाएर अरूहरूले बाँडिलिनेछन् र तिमी आफैंचाहिँ मूर्तिपूजा गर्नेहरूको एउटा देशमा मर्नेछौ। अनि इस्राएलका मानिसहरूचाहिँ निश्चय आफ्ना देशबाट टाढा कैद गरी देश निकालावास गरिनेछन्’।”
Currently Selected:
आमोस 7: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.