YouVersion Logo
Search Icon

उत्‍पत्ति 11

11
बाबेलको धरहरा
1पहिले पृथ्‍वीका जम्‍मै मानिसहरूको एउटै भाषा थियो अनि तिनीहरू एकैनासे शब्‍दहरू चलाउँथे। 2पूर्वमा डुलिहिँड्दा तिनीहरू शिनार बेबिलोनिया देशको एउटा मैदानमा आइपुगे र त्‍यहाँ बस्‍न थाले। 3तिनीहरूले आपसमा भने “आओ, हामी इँटा बनाऔं र पोलेर कडा पारौं।” तब तिनीहरूले घर आदि बनाउन इँटा र त्यो पक्‍का गरी बाँध्‍न अलकत्रा लिए। 4तिनीहरूले भने, “लौ, अब हामी एउटा सहर त्‍यसमा एउटा आकाश छुने धरहरा बनाऔं। त्‍यसरी हामी आफ्‍नो नाम राखौं र सारा पृथ्‍वीभरि छरपष्‍ट भएर बस्‍ननपरोस्।”
5तब परमप्रभु त्‍यो सहर र ती मानिसहरूले बनाएको धरहरा हेर्न आउनुभयो 6र भन्‍नुभयो, “अब यी मानिसहरू एउटै जाति हुन् र एउटै भाषा बोल्‍छन्। यो त तिनीहरूले के गर्ने हुन्, त्‍यसको सुरु मात्रै हो, अब तिनीहरूले आफूले चाहेको सबै कुरा गर्न सक्‍नेछन्, 7हामी तल गएर तिनीहरूका भाषामा खलबली पारिदिऔं र तिनीहरूले एक-अर्काको बोली नबुझून्।” 8यसरी परमप्रभुले तिनीहरूलाई सारा पृथ्‍वीमा छरपष्‍ट पार्नुभयो र तिनीहरूले त्‍यो सहर बनाउन बन्‍द गरे। 9त्‍यो सहरको नाम बेबिलोन राखियो किनभने त्‍यहाँ परमप्रभुले सबै मानिसहरूका भाषामा खलबल गरिदिनुभयो र तिनीहरूलाई पृथ्‍वीभरि छरपष्‍ट पारिदिनुभयो।
शेमका सन्‍तानहरू
(१ इतिहास १:२४-२७)
10शेमका सन्‍तान यिनै हुन्। जलप्रलयको दुई वर्षपछि शेमको उमेर १०० वर्ष हुँदा उनले अर्पक्षदलाई जन्‍माए। 11त्‍यसपछि उनी अरू ५०० वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्‍मे।
12अर्पक्षदको उमेर ३५ वर्ष हुँदा उनको एउटा छोरो शेलह जन्‍म्‍यो। 13त्‍यसपछि उनी अरू ४०३ वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्‍मे।
14शेलहको उमेर ३० वर्षको हुँदा उनको एउटा छोरो एबेर जन्‍म्‍यो। 15त्‍यसपछि उनी अरू ४०३ वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्‍मे।
16एबेर ३४ वर्षको हुँदा उनको एउटा छोरो पेलेग जन्‍म्‍यो। 17त्‍यसपछि उनी अरू ४३० वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्‍मे।
18पेलेग ३० पुग्‍दा उनको एउटा छोरो रऊ जन्‍म्‍यो। 19त्‍यसपछि उनी अझ २०९ वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्‍मे।
20रऊ ३२ वर्ष पुग्‍दा उनको एउटा छोरो सरूग जन्‍म्‍यो र 21त्‍यसपछि उनी अरू २०७ वर्ष बाँचे र उसका अरू छोरा-छोरीहरू जन्‍मे।
22सरूगको उमेर ३० वर्षको हुँदा उनको एउटा छोरो नाहोर जन्‍म्‍यो। 23त्‍यसपछि उनी अरू २०० वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्‍मे।
24नाहोर २९ वर्ष हुँदा उनको एउटा छोरो तेरह जन्‍म्‍यो। 25त्‍यसपछि उनी अरू ११९ वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्‍मे।
26तेरह ७० वर्षको हुँदा उनी अब्राम, नाहोर र हारानको बुबा भए।
तेरहका सन्‍तानहरू
27अब्राम, नाहोर र हारानका बुबा तेरहका सन्‍तान यिनै हुन्। हारान लोतका बुबा भए 28अनि उनका बुबा जिउँदै छँदा हारान बेबिलोनिया देशमा आफ्‍नै सहर ऊरमा मरे। 29अब्रामले साराईलाई र नाहोरले हारानकी छोरी मिल्‍कालाई विवाह गरे। हारान यिस्‍काका पनि बुबा हुन्‌। 30साराईका छोरा-छोरीहरू भएनन्।
31तेरह आफ्‍ना छोरा-बुहारी अब्राम र साराई, आफ्‍नो नाति अर्थात् हारानका छोरा लोतलाई सँगै लिएर कनान देशमा जान बेबिलोनिया देशको ऊर सहरबाट हिंडे। तिनीहरू हारानसम्‍म गए र त्‍यहाँ बास गर्न लागे।
32त्‍यहाँ २०५ वर्ष उमेर पुगेर तेरह मरे।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in