YouVersion Logo
Search Icon

2 पत्रुस 1

1
1येशू ख्रीष्‍टको सेवक र प्रेरित सिमोन पत्रुसबाट,
तिनीहरूलाई जसले हाम्रा परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको धार्मिकताद्वारा हाम्रो जस्तै बहुमूल्य विश्‍वास पाएका छन्:
2परमेश्‍वर र येशू हाम्रा प्रभुको ज्ञानद्वारा तिमीहरूलाई अनुग्रह र शान्ति प्रशस्त मात्रामा होऊन्!
बोलावट र छनौटको निश्‍चयता
3उहाँको ईश्‍वरीय शक्‍तिले उहाँ सम्बन्धी हाम्रो ज्ञान, जसले आफ्नै महिमा र भलाइमा हामीलाई बोलाउनुभएको छ; हामीलाई हाम्रा जीवन र धार्मिकताका निम्ति चाहिने सबै आवश्यकता दिनुभएको छ। 4जसद्वारा उहाँले हामीलाई आफ्ना महान् र बहुमूल्य प्रतिज्ञाहरू दिनुभएको छ, यसरी ती प्रतिज्ञाहरूद्वारा तिमीहरू ईश्‍वरीय स्वभावमा सहभागी बन, र दुष्‍ट इच्छाहरूले ल्याउने संसारको भ्रष्‍टचारदेखि भाग्नसक्छौ।
5यसैको निम्ति नै आफ्नो विश्‍वासमा सद्गुण, र सद्गुणमा ज्ञान, 6ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्‍ति, 7भक्‍तिमा भातृ-स्‍नेह, र भातृ-स्‍नेहमा प्रेम थप्नलाई अथक परिश्रम गर! 8किनकि यी गुणहरू तिमीहरूमा प्रशस्त मात्रामा छन् भने, हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी गुणहरूले तिमीहरूलाई बेकम्मा र फलरहित हुनदेखि बचाउनेछन्। 9तर कसैमा ती छैनन् भने, ऊ नजिकै मात्र देख्ने र दृष्‍टिविहीन हो, र उसका पुराना पापहरू सफा गरिएका छन् भन्‍ने कुरा भूलेको हुन्छ।
10यसकारण हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरू आफ्नो बोलावट र छनौटलाई निश्‍चित गर्न उत्सुक बन; किनकि तिमीहरूले यी कुरा गर्‍यौ भने तिमीहरू कहिल्यै पापमा पर्नेछैनौ, 11र तिमीहरूले हाम्रा प्रभु र मुक्‍तिदाता येशू ख्रीष्‍टको अनन्त राज्यमा भव्य स्वागत पाउनेछौ।
पवित्र धर्मशास्त्रको अगमवाणी
12यसर्थ तिमीहरूले यी कुराहरू जानेर अहिले तिमीहरूसित भएको सत्यतामा स्थिरतापूर्वक स्थापित भएका भए तापनि तिमीहरूलाई यी कुराहरू सधैं स्मरण गराउनेछु। 13म यो शरीररूपी पालमा होउन्जेल, तिमीहरूको सम्झनालाई ताजा गरिराख्न उचित ठान्दछु; 14किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई स्पष्‍ट पार्नुभएझैं, म चाँडै नै यसलाई पन्छाउनेछु भनी जान्दछु। 15अनि मेरो विदापछि पनि तिमीहरूले यी कुराहरू सम्झिराख्न सक्ने तुल्याउनलाई म सकेसम्म प्रयास गर्नेछु।
16हाम्रा प्रभु येशू ख्रीष्‍टको शक्‍ति र आगमनको सम्बन्धमा तिमीहरूलाई बताउँदा हामीहरू कुनै धूर्त दन्त्यकथाहरूको पछि लागेनौं, तर हामी त उहाँका वैभव देख्ने साक्षीहरू थियौं। 17किनकि उहाँले परमेश्‍वर पिताबाट इज्जत र महिमा प्राप्‍त गर्नुभयो, जुन बेला महिमामय गौरवबाट यसो भन्‍ने आवाज उहाँकहाँ आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्‍न छु।”#1:17 मत्ती 17:5; मर्कू 9:7; लूका 9:35 18त्यो पवित्र डाँडामा जब हामी उहाँसित हुँदा स्वर्गबाट आएको त्यो आवाज हामी आफूले सुन्यौं।
19अनि हामीसित भएका अगमवक्‍ताका शब्दहरू अझ निश्‍चित भएका छन्, र दिनको उदय भएर बिहानीको तारा तिमीहरूको हृदयमा उदय नभएसम्म अन्धकार स्थानमा ज्योति चम्केझैं तिमीहरूले यस कुरामाथि ध्यान दिनु असलै हुनेछ। 20मुख्य कुरो, तिमीहरूले यो बुझ्नुपर्दछ कि, पवित्र धर्मशास्त्रमा भएका अगमवाणीहरू अगमवक्‍ताहरूका आफ्नै व्याख्याबाट आएका होइनन्; 21किनकि अगमवाणीको सुरु मानिसको इच्छाबाट भएको होइन, तर पवित्र आत्माले अगुवाइ गर्नुभएर मानिसहरूले परमेश्‍वरका तर्फबाट बोलेका हुन्।

Currently Selected:

2 पत्रुस 1: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in