YouVersion Logo
Search Icon

प्रेरित 3

3
पत्रुसले एउटा हिँड्न नसक्नेलाई निको पारेको
1एक दिन पत्रुस र यूहन्‍ना दिउँसोको तीन बजेतिर प्रार्थनाका निम्ति मन्दिरतिर गइरहेका थिए। 2त्यसै समयमा जन्मैदेखिको एउटा हिँड्न नसक्ने मानिसलाई बोकेर मन्दिरको सुन्दर भन्‍ने ढोकातिर लगिँदैथियो। त्यस ढोकामा त्यसलाई सधैं त्यसरी नै लगेर राखिन्थ्यो, जहाँ बसेर त्यसले मन्दिर जाने मानिसहरूसँग भीख माग्ने गर्दथ्यो। 3जब त्यसले पत्रुस र यूहन्‍नालाई मन्दिरभित्र पस्‍न लागेको देख्यो, तब त्यस हिँड्न नसक्नेले तिनीहरूसँग पैसा माग्यो। 4अनि पत्रुस र यूहन्‍नाले त्यसलाई नियालेर हेरे, अनि पत्रुसले भने, “हामीतिर हेर!” 5त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले उनीहरूलाई ध्यान दिएर हेर्‍यो।
6अनि पत्रुसले भने: “मसँग सुन वा चाँदी छैन, तर मसँग जे छ, त्यो तिमीलाई दिन्छु नासरतका येशू ख्रीष्‍टको नाउँमा तिमी हिँड।” 7यति भनेर आफ्नो दाहिने हातले त्यस हिँड्न नसक्नेलाई समातेर उनले उठाउन थाले, अनि त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो। 8अनि त्यो आफ्नो खुट्टाका बलले बुरुक्‍क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरको आँगनहरूमा गयो। 9जब सबै मानिसहरूले त्यसलाई हिँडिरहेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे, 10मन्दिरको सुन्दर भनिने ढोकामा बसेर सधैं भीख माग्ने मानिस त्यही नै हो भनी तिनीहरूले चिने; अनि त्यो हिँड्न नसक्ने राम्रोसँग हिँड्न सकेको देखेर तिनीहरू आश्‍चर्य चकित भए, र अचम्म माने।
भीडलाई पत्रुसको उपदेश
11अनि त्यो भीख माग्नेले पत्रुस र यूहन्‍नालाई समातेर आएको देखेर त्यहाँ भएका सबै मानिसहरू आश्‍चर्यमा परे, र तिनीहरू मन्दिरभित्रको सोलोमन नामको दलानमा दगुर्दै आए। 12यो देखेर पत्रुसले तिनीहरूलाई यसो भने: “इस्राएलका मानिसहरूहो, यस कुरामा तपाईंहरू किन आश्‍चर्य चकित हुनुभयो? मानौ हाम्रा आफ्नै शक्‍ति वा भक्‍तिद्वारा हामीले यस मानिसलाई हिँडाउन सकेको भनी ठान्‍दै, किन तपाईंहरू हामीलाई आश्‍चर्यका साथ हेर्दै हुनुहुन्छ? 13अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर, हाम्रा पुर्खाका परमेश्‍वरले आफ्नो सेवक येशूलाई महिमित गर्नुभयो। तपाईंहरूले उहाँलाई मृत्युको मुखमा पठाउनुभयो र पिलातसले उहाँलाई छोडिदिने निर्णय गर्दा पनि तपाईंहरूले अस्वीकार गर्नुभयो। 14तब तपाईंहरूले एउटा पवित्र, धर्मी जनलाई अस्वीकार गर्नुभयो र त्यसको साटो एउटा हत्यारालाई छोडिदिने माग गर्नुभयो। 15तपाईंहरूले जीवनको सृष्‍टिकर्तालाई मार्नुभयो, तर परमेश्‍वरले उहाँलाई मरेकाबाट बौराएर जीवित पार्नुभयो। हामी यस तथ्यका साक्षी छौं। 16येशूको नाउँमा विश्‍वास राख्नाले नै तपाईंहरूले देखिराख्नुभएको र चिनिराख्नुभएको यो मानिस आज आफ्नै खुट्टामा उभिन सक्ने भयो। येशूको नाउँ र उहाँबाट आउने विश्‍वासका कारण नै यो मानिस पूर्ण निको भयो, जुन कुरो तपाईंहरू देख्दैहुनुहुन्छ।
17“अब प्रभुमा दाजुभाइ-दिदीबहिनीहरूहो, यो मलाई थाहा छ कि तपाईंका शासकहरूले गरेजस्तै, तपाईंहरूले अन्जानमा यस्तो काम गर्नुभयो। 18तर परमेश्‍वरका ख्रीष्‍टले दुःख भोग्नुपर्नेछ भनी उहाँले सबै अगमवक्‍ताहरूद्वारा जसरी अगमवाणी गर्नुभएको थियो, त्यसलाई परमेश्‍वरले यसरी पूरा गर्नुभयो। 19त्यसैले पश्‍चात्ताप गर्नुहोस् र परमेश्‍वरतिर फर्कनुहोस्, ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्। 20अनि उहाँले तपाईंहरूको उद्धारको निम्ति नियुक्‍त गरिनुभएका येशू अर्थात् ख्रीष्‍टलाई पठाउनुहुनेछ। 21आफ्ना पवित्र अगमवक्‍ताहरूद्वारा अनन्तकालदेखि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैं, सबै कुरा उहाँले फेरि पुनः: स्थापना नगरून्जेल येशू स्वर्गमै विराजमान हुनुपर्दछ। 22किनकि मोशाले भनेका छन्, ‘तिमीहरूका आफ्ना मानिसहरूबाट नै परमेश्‍वरले मजस्तै एकजना अगमवक्‍ता तिमीहरूका निम्ति उठाउनुहुनेछ; उहाँले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूले मान्‍नैपर्छ। 23उहाँको कुरा ध्यान दिएर नसुन्‍नेलाई त्यसका जनहरूबाट पूर्ण रूपले निकालिनेछ।’#3:23 व्यव 18:15, 18, 19
24“वास्तवमै, शमूएलदेखिका सबै अगमवक्‍ताहरूमध्ये, जो-जतिले बोलेका छन्, सबैले यी दिनहरूमा भएका घटनाहरूका बारेमा अगमवाणी गरेका हुन्। 25तिमीहरू अगमवक्‍ताहरूका र करारका सन्तान हौ, जुन करार परमेश्‍वरले तिमीहरूका पुर्खाहरूसँग गर्नुभएको थियो। उहाँले अब्राहामलाई भन्‍नुभएको थियो, ‘तेरा सन्तानद्वारा पृथ्वीका सबै मानिसहरूले आशिष पाउनेछन्।’#3:25उत्प 22:18; 26:4 26जब परमेश्‍वरले आफ्नो सेवकलाई जीवित पार्नुभयो, तिमीहरू सबैलाई दुष्‍ट मार्गबाट फर्काएर आशिष दिन परमेश्‍वरले सबैभन्दा पहिले उहाँलाई तिमीहरूकहाँ नै पठाउनुभयो।”

Currently Selected:

प्रेरित 3: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in