यूहन्ना 21
21
येशू सात जना चेलाकहाँ देखा पर्नुभएको
1त्यसपछि येशू फेरि चेलाहरूको अघि गालील क्षेत्रको तिबेरियास तालमा देखा पर्नुभयो। 2सिमोन पत्रुस, जुम्ले भनिने थोमा, गालीलको काना निवासी नथानेल, जब्दियाका छोराहरू र अरू दुई जना येशूका चेलाहरू जम्मा भएका थिए। 3#लूका 5:5अनि सिमोन पत्रुसले साथीहरूलाई भने, “म त माछा मार्न जान्छु।” अरूहरूले भने, “हामी पनि तिमीसँगै जान्छौं।” अनि तिनीहरू गएर नाउमा चढे, तर तिनीहरूले रातभरिमा एउटै माछा पनि पक्रिन सकेनन्।
4बिहान उज्यालो हुन लाग्दा येशू किनारमा उभिनुभएको थियो। तर चेलाहरूले येशू नै हुनुहुन्छ भनेर चिन्न सकेनन्। 5येशूले तिनीहरूलाई भन्नुभयो, “ए भाइ हो, तिमीहरूले केही माछा मारेका छौ कि?” तिनीहरूले जवाफ दिए, “अहँ एउटै पनि मारेका छैनौं!” 6#लूका 5:6येशूले तिनीहरूलाई भन्नुभयो, “नाउको दाहिनेपट्टि जाल हान र तिमीहरूले माछा फेला पार्नेछौ।” येशूले भनेकै ठाउँमा तिनीहरूले जाल हाने। माछा यति धेरै पर्यो कि तिनीहरूले जाल तान्नै सकेनन्। 7यो देखेर येशूका धेरै प्यारा चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ!” “उहाँ प्रभु हुनुहुन्छ,” भनेको सुन्नेबित्तिकै पत्रुस आफ्नो फुकालेको लुगा बेरेर पानीमा हामफाले। 8अरू चेलाहरूचाहिँ नाउमा चढेर माछाले भरिएको जाल तान्दै किनारमा आए। तिनीहरू जमिनबाट धेरै टाढा त थिएनन्, अन्दाजी सय मिटरजति मात्रै पर थिए।
9किनारमा आइपुग्दा तिनीहरूले आगोको भुङ्ग्रामाथि माछा र रोटी देखे। 10येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले पक्रेका अलिकति माछा ल्याओ!” 11सिमोन पत्रुसले पानीबाट निस्केर ठूला-ठूला माछाले भरिएको जाल तानेर जमिनमा ल्याए। जम्मा एक सय त्रिपन्न वटा माछा परेका रहेछन्। तर यति धेरै माछा परेर पनि त्यो जाल च्यातिएन। 12येशूले तिनीहरूलाई “खान आओ!” भनेर बोलाउनुभयो। त्यतिखेर कुनै पनि चेलाले ‘तपाईं को हुनुहुन्छ?’ भनेर येशूलाई सोध्ने आँट गरेनन्। तिनीहरूले उहाँ “प्रभु नै हुनुहुन्छ,” भनेर चिनिसकेका थिए। 13येशूले आगोको नजिकै गएर रोटी लिएर तिनीहरूलाई दिनुभयो, त्यसै गरी माछाहरू पनि दिनुभयो।
14मृत्युबाट बिउँतनुभएपछि उहाँ चेलाहरूकहाँ देखा पर्नुभएको योचाहिँ तेस्रो पटक थियो।
येशू र पत्रुस
15तिनीहरूले खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई अरूले भन्दा बढी माया गर्छौ?”
पत्रुसले भने, “ज्यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा तपाईंलाई थाहा छ।”
येशूले उनलाई भन्नुभयो, “त्यसो भए मेरा पाठाहरूलाई चराऊ।”
16अनि येशूले पत्रुसलाई दोस्रोपल्ट सोध्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई साँच्चै माया गर्छौ?”
पत्रुसले भने, “ज्यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा तपाईंलाई थाहा छ।”
येशूले भन्नुभयो, “त्यसो भए मेरा भेडाहरूको हेरचाहा गर।”
17अनि येशूले पत्रुसलाई तेस्रोपल्ट सोध्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई माया गर्छौ?” येशूले उनलाई तीनपल्टसम्म ‘के तिमी मलाई माया गर्छौ’ भनेर सोध्नुभएकोले पत्रुस अति नै दु:खी भए।
उनले भने, “प्रभु, तपाईं सबै कुरा जान्नुहुन्छ, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा पनि तपाईं आफैंलाई थाहा छ।”
येशूले पत्रुसलाई भन्नुभयो, “त्यसो भए मेरा भेडाहरूको हेरचाहा गर। 18म तिमीलाई भन्छु, तिमी युवा हुँदा आफ्नो पटुका आफैं कस्थ्यौ र जहाँ मन लाग्यो, त्यहाँ जान्थ्यौ। तर बुढो भएपछि तिमीले आफ्ना हात पसार्नेछौ अनि अर्को एक जनाले तिम्रो पटुका कसिदिनेछ र तिमीलाई मन नलागेको ठाउँमा लैजानेछ।” 19(यो कुरा येशूले भन्नुहुँदा पत्रुसले परमेश्वरको आदर र महिमा गर्न कसरी मर्नुपर्नेछ भन्दै हुनुहुन्थ्यो।) त्यसपछि येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो पछि लाग।”
येशूका प्यारा चेला
20 #
यूहन्ना 13:25
प्रभुका प्यारा चेला पछि-पछि आउँदै थिए। (भोजमा उनले येशूको छातीमा अडेस लागेर “प्रभु, तपाईंलाई कसले पक्राइदिँदै छ?” भनेर सोधेका थिए।) 21पछाडि फर्केर हेर्दा त पत्रुसले उनलाई आइरहेको देखेर येशूलाई सोधे, “प्रभु, यिनको चाहिँ के हुन्छ नि?” 22येशूले पत्रुसलाई जवाफ दिनुभयो, “म नआउञ्जेल ऊ बाँचिरहोस् भन्ने इच्छा गरे पनि तिमीलाई के त? तिमीचाहिँ मेरो पछि लाग।”
23येशूको यो जवाफले गर्दा ती चेला मर्नेछैनन् भन्ने कुरा येशूका अरू चेलाहरूमा फैलियो। खासमा येशूले तिनी मर्नेछैनन् भन्नुभएको थिएन। तर उहाँले “म नआउञ्जेल ऊ बाँचिरहोस् भन्ने इच्छा गरे पनि तिमीलाई के त?” भनेर भन्नुभएको थियो।
24यही चेलाले नै यी सबै कुराहरू देखेर यहाँ साक्षी दिँदै छ, उनले नै यी कुराहरू पनि लेखे अनि उनको साक्षी साँचो हो भनी हामी जान्दछौं।
समाप्ति
25अब येशूले अरू पनि धेरै कामहरू गर्नुभएको छ। ती सबै एक-एक गरेर लेखिने हो भने लेखिएका किताबहरू सारा संसारमा पनि अटाउँदैनन् होला।
Zur Zeit ausgewählt:
यूहन्ना 21: सरल नेपाली
Markierung
Teilen
Kopieren
Möchtest du deine gespeicherten Markierungen auf allen deinen Geräten sehen? Erstelle ein kostenloses Konto oder melde dich an.
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.