Logo de YouVersion
Icono de búsqueda

मत्ती 11

11
येशू अनि बप्‍तिस्मा दिने यूहन्‍ना
1येशूले आफ्ना बाह्रैजना चेलाहरूलाई निर्देशन दिइसक्नुभएपछि, उहाँ त्यहाँबाट गालीलका शहरहरूतिर शिक्षा दिन र प्रचार गर्न जानुभयो।
2जब यूहन्‍नाले झ्यालखानामा ख्रीष्‍टले गर्नुभएको कामको बारेमा सुने, तिनले आफ्ना चेलाहरूलाई उहाँकहाँ यो सोध्न पठाए, 3“के जो आउनेवाला मुक्‍तिदाता हुनुहुन्थ्यो, त्यो तपाईं नै हुनुहुन्छ, अथवा हामी अझै कसैको प्रतीक्षा गरौं?”
4येशूले जवाफ दिनुभयो, “जाओ र जे तिमीहरूले सुन्छौ र देख्छौ, त्यो यूहन्‍नालाई भन: 5दृष्‍टिविहीनहरूले दृष्‍टि पाउँछन् र हिँड्न नसक्‍नेहरू हिँड्छन्, कुष्‍ठरोग लागेकाहरू निको हुन्छन्, सुन्‍न नसक्नेहरूले सुन्छन्, मरेकाहरू जीवित पारिन्छन्, र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ। 6त्यो धन्यको हो, जसको विश्‍वास मबाट हट्दैन।”
7यूहन्‍नाका चेलाहरू जब जान लागे, येशूले भीडलाई यूहन्‍नाका विषयमा भन्‍न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्‍लाइरहेको निगालोलाई? 8यदि होइन भने तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई? होइन, महङ्गो लुगा लाउनेहरू ता राजाका दरबारमा हुन्छन्। 9त्यसो भए तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्‍तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्‍ताभन्दा पनि महानलाई। 10यी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ:
“ ‘म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउनेछु,
जसले तिम्रो बाटो तयार पार्नेछन्।’#11:10 मला 3:1
11म तिमीहरूलाई साँच्‍चै भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा कोही पनि बप्‍तिस्मा दिने यूहन्‍नाभन्दा महान् छैन; तापनि स्वर्गको राज्यमा सानोभन्दा सानो पनि तिनीभन्दा महान् हुनेछ। 12बप्‍तिस्मा दिने यूहन्‍नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य बलपूर्वक अघि बढिरहेको छ, अनि बलजफती गर्नेहरूले यसलाई पक्रिराखेका छन्। 13किनकि सबै अगमवक्‍ताहरू अनि व्यवस्थाले यूहन्‍नाको समयसम्म अगमवाणी गरे। 14अनि यदि तिमीहरू यसलाई ग्रहण गर्न राजी छौ भने आउनुपर्ने एलिया तिनी नै हुन्। 15जसको कान छ, त्यसले सुनोस् र बुझोस्।
16“यस पुस्तालाई म केसित तुलना गरूँ? तिनीहरू बजारमा बसेर अरूहरूलाई बोलाउँदै यसो भन्‍ने बालकहरूजस्ता छन्:
17“ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौं,
अनि तिमीहरू नाचेनौ।
हामीले शोकको गीत गायौं,
अनि तिमीहरूले विलाप गरेनौ!’
18किनकि यूहन्‍ना न ता खाँदै आए, न पिउँदै आए, अनि तिनीहरू भन्छन्, ‘तिनलाई भूत लागेको छ।’ 19मानिसका पुत्र खाँदै र पिउँदै आएँ, अनि तिनीहरू भन्छन्, ‘हेर, यो घिचुवा र पियक्‍कड अनि कर उठाउनेहरू र पापीहरूको मित्र।’ तर बुद्धि ठीक छ भन्‍ने त त्यसका कामहरूले प्रमाणित गर्छन्।”
पश्‍चात्ताप नगर्ने शहरहरूलाई धिक्‍कार!
20त्यसपछि येशूले ती शहरहरूलाई धिक्‍कार्न थाल्नुभयो, जहाँ उहाँका धेरैजसो शक्‍तिशाली कामहरू गरिएका थिए, किनकि तिनीहरूले पश्‍चात्ताप गरेनन्। 21“धिक्‍कार तँलाई हे खोराजिन! धिक्‍कार तँलाई हे बेथसेदा! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले भाङ्ग्रा ओढेर खरानी धसेर पश्‍चात्ताप गर्नेथिए। 22तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टायर र सीदोनको अवस्था सहनसक्ने हुनेछ। 23अनि तँ, हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ त तल पातालमा खसालिनेछस्। यदि तँमा गरिएका शक्‍तिशाली कामहरू सदोममा गरिएका भए, त्यो आजसम्म रहनेथियो। 24तर म तिमीहरूलाई यो भन्दछु, कि न्यायको दिनमा, तिमीहरूको भन्दा त सदोमको अवस्था सहनसक्ने हुनेछ।”
पुत्र येशू ख्रीष्‍टमा परमेश्‍वर पिताको प्रकाश
25त्यस बेला येशूले निरन्तर भन्‍नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु, किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्‍त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ। 26किनकि हे पिता, तपाईंलाई यसै गर्न असल लाग्यो।
27“मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले जान्दैन, अनि पितालाई पुत्रले बाहेक र पुत्रले प्रकट गर्न चाहनुभएकाहरू बाहेक अरू कसैले चिन्दैन।
28“हे सबै थाकेका र बोझले दबिएकाहरूहो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु। 29मेरो जुवा आफूमाथि लेओ अनि मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्माको लागि विश्राम पाउनेछौ। 30किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।”

Actualmente seleccionado:

मत्ती 11: NCV

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión