अचानक अब्शालोमको भेट दाऊदका केही मानिसहरूसित भयो। अब्शालोम एउटा खच्चरमा चढेका थिए। खच्चर एउटा फलाँटको रूखमुनिबाट भएर जाँदा अब्शालोमको टाउको एउटा हाँगामा अल्झियो। खच्चरचाहिँ दगुरेर गइहाल्यो; तर अब्शालोम रूखको हाँगामा झुण्डिए र हावामा झुलिरहे। दाऊदका मानिसहरूमध्ये एक जनाले उनलाई देख्यो र योआबलाई भन्यो, “हजुर, मैले अब्शालोमलाई एउटा फलाँटको रूखमा झुण्डिरहेको देखें!”