YouVersion लोगो
खोज आइकन

प्रेरित 5:1-11

प्रेरित 5:1-11 NNRV

तर हननिया नाउँका कोही एक जना र तिनकी पत्नी सफीराले एक टुक्रा जमिन बेचे, र त्‍यसको मोलबाट तिनकी पत्नीकै जानकारीमा केही हिस्‍सा आफूसँग राखे, र केही हिस्‍सा ल्‍याएर प्रेरितहरूका चरणमा राखिदिए। तर पत्रुसले भने, “ए हननिया, पवित्र आत्‍मासँग झूट बोल्‍ने र जमिनको बिक्रीको मोलबाट केही हिस्‍सा आफूसँग राख्‍ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो? त्‍यो बिक्री नभइञ्‍जेल के त्‍यो तिम्रो आफ्‍नै थिएन? र त्‍यो बिक्री भएपछि पनि त्‍यो तिम्रै अधिकारमा थिएन र? यस्‍तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसहरूलाई त होइन, तर परमेश्‍वरलाई नै ढाँटेका छौ।” यो कुरा सुनेर हननिया भूइँमा लड़े र तिनले प्राण त्‍यागे। यो सुन्‍नेहरू सबैमाथि ठूलो डर छायो। तब जवानहरूले उठेर तिनलाई लुगाले बेह्रे र बाहिर बोकी लगे, र गाडिदिए। जे भइसकेको थियो सो थाहा नपाई प्राय: तीन घण्‍टापछि तिनकी पत्नी पनि भित्र आई। पत्रुसले त्‍यसलाई सोधे, “मलाई भन, तिमीहरूले जमिन त्‍यत्तिमै बेचेका हौ?” अनि त्‍यसले भनी, “ज्‍यू, त्‍यत्तिमै।” तर पत्रुसले त्‍यसलाई भने, “तिमीहरूले प्रभुका आत्‍माको परीक्षा गर्न कसरी मिलेर मतो गर्‍यौ? हेर, तिम्रा पतिलाई गाड्‌नेहरू ढोकामै छन्‌ र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजानेछन्‌।” अनि तुरुन्‍तै त्‍यो उनका पाउनेर लड़ी र प्राण त्‍याग गरी। जब जवानहरू भित्र आए, त्‍यसलाई मरिसकेकी देखेर बाहिर बोकेर लगे, र त्‍यसको पतिको नजिकमा गाडिदिए। सारा मण्‍डलीमाथि र यी कुरा सुन्‍ने सबैमाथि ठूलो डर छायो।