YouVersion लोगो
खोज आइकन

यशैया 13

13
बेबिलोनका विरुद्धमा अगमवाणी
1बेबिलोनको विषयमा आमोजका छोरा यशैयाले दर्शनमा पाएको ईश्‍वरवाणी: #यशै ४७:१-१५; यर ५०:१—५१:६४
2नाङ्गो डाँड़ामा एउटा झन्‍डा खड़ा गर। तिनीहरूलाई उच्‍च सोरले कराऊ र भारदारहरूका मूल ढोकामा पस्‍न इशारा गर। 3मेरा पवित्र जनहरूलाई मैले आज्ञा गरेको छु। मेरो रीस पोखाउन मेरा योद्धाहरूलाई मैले हुकुम दिएको छु। तिनीहरू मेरो विजयमा आनन्‍दित हुन्‍छन्‌। 4सुन, पर्वतहरूमा भएको हल्‍ला, भीड़को हल्‍लाजस्‍तै ठूलो। सुन, राज्‍यहरूका माझमा भएको कोलाहल, जाति-जातिहरू एकसाथ जम्‍मा हुँदा भएको होहल्‍लाझैँ। सर्वशक्तिमान्‌ परमप्रभुले लड़ाइँको निम्‍ति सेना जम्‍मा गर्दैहुनुहुन्‍छ। 5परमप्रभु र उहाँका रीसका हतियारहरू टाढ़ा देश, आकाशको पल्‍लो छेउदेखि सारा देशलाई नाश गर्न आउँछन्‌।
6डाँको छोड़ी-छोड़ी रोऊ, किनकि परमप्रभुको दिन नजिक छ। सर्वशक्तिमान्‌को तर्फबाट भयङ्कर सर्वनाशको रूपमा त्‍यो आउनेछ। #योए १:१५ 7यसकारणले गर्दा सबै हातहरू कमजोर हुनेछन्, सबै मानिसहरूको मुटुले ठाउँ छोड्‌नेछ। 8तिनीहरू डराउनेछन्‌। पीडा र वेदनाले तिनीहरूलाई छोप्‍नेछ, सुत्‍केरी स्‍त्रीलाई पीडा भएझैँ तिनीहरू पीडाले व्‍याकुल हुनेछन्‌। तिनीहरू एक-अर्कालाई चकित भई हेर्नेछन्‌। तिनीहरूको अनुहार आगोको ज्‍वालाझैँ हुनेछ।
9हेर, परमप्रभुको दिन देशलाई उजाड़ पार्न र त्‍यहाँ भित्र भएका पापीहरूलाई त्‍यहाँबाट सर्वनाश गर्न, क्रोध र भयानक रीसको साथ निष्‍ठुर दिन आइरहेछ। 10आकाशका ताराहरू र तिनका तारापुञ्‍जले आफ्‍नो चमक दिनेछैनन्‌। सूर्य पनि उदय हुँदाहुँदै अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले ज्‍योति दिनेछैन। #इज ३२:७; मत्ती २४:२९; मर्क १३:२४-२५; लूक २१:२५; प्रका ६:१२-१३ 11म संसारलाई त्‍यसको दुष्‍ट्याइँको निम्‍ति र दुष्‍टलाई तिनीहरूका अधर्मको निम्‍ति दण्‍ड दिनेछु। म अहङ्कारीको घमण्‍डको अन्‍त गर्नेछु, र निष्‍ठुरहरूको शेखी झार्नेछु। 12म मान्‍छेलाई निखुर सुनभन्‍दा दुर्लभ र ओपीरको सुनभन्‍दा पनि अझ अप्राप्‍य बनाउनेछु। 13यसैकारण उहाँको ज्‍वलन्‍त रीसको दिनमा म आकाशलाई थरथर काम्‍ने तुल्‍याउनेछु, र सर्वशक्तिमान्‌ परमप्रभुको क्रोधमा पृथ्‍वी त्‍यसको ठाउँमा हल्‍लिनेछ।
14तिनीहरू खेदिएको हरिणझैँ, र गोठालोविनाका भेड़ाहरूझैँ, हरेक मानिस आफ्‍नै मानिसकहाँ फर्केर जानेछ, र हरेक मानिस आफ्‍नै स्‍वदेशमा भागी जानेछ। 15भेटिएको हरेक मानिस रोपिनेछ, र पक्रिएका सबै तरवारले ढालिनेछन्‌। 16तिनीहरूका बालकहरू तिनीहरूकै आँखाको सामुन्‍ने पछारिएर चिल्‍लिबिल्‍ली पारिनेछन्‌। तिनीहरूका घर लुटिनेछन्, र तिनीहरूका पत्‍नीहरू भ्रष्‍ट पारिनेछन्‌।
17हेर, म मादीहरूलाई तिनीहरूका विरुद्धमा उठाउनेछु, जुनहरू चाँदीको परवाह गर्दैनन्, र सुनको लालच पनि गर्दैनन्‌। 18उनीहरूका काँड़हरूले जवान मानिसहरूलाई हिर्काएर ढाल्‍नेछन्‌। उनीहरूले शिशुहरूलाई दया गर्नेछैनन्, न त उनीहरूले केटाकेटीहरूलाई दयाको दृष्‍टिले हेर्नेछन्‌। 19राज्‍यहरूको रत्‍न बेबिलोनलाई, जसमाथि बेबिलोनीहरू गर्व गर्दछन्, सदोम र गमोरालाई जस्‍तै परमेश्‍वरले उल्‍टाइदिनुहुनेछ। #उत १९:२४ 20त्‍यहाँ कहिल्‍यै कोही बस्‍नेछैन, पुस्‍तौँसम्‍म त्‍यहाँ कोही बस्‍नेछैन। कुनै अरबीले त्‍यहाँ आफ्‍नो पाल टाँग्‍नेछैन। कुनै गोठालाले आफ्‍नो बगाल त्‍यहाँ विश्राम गर्न दिनेछैन। 21तर जङ्गली जनावरहरूले त्‍यहाँ विश्राम गर्नेछन्‌। तिनका घरहरू स्‍यालहरूले भरिनेछन्‌। लाटोकोसेराहरू त्‍यहाँ बस्नेछन्, र जङ्गली बाख्राहरू त्‍यहाँ उफ्रँदै खेल्‍नेछन्‌। #यशै ३४:१४; सप २:४; प्रका १८:२ 22हुँड़ारहरू तिनका किल्‍लाहरूमा र स्‍यालहरू तिनका सुन्‍दर-सुन्‍दर महलहरूमा कराउनेछन्‌। त्‍यसको समय नजिकै आएको छ, र त्‍यसको दिन अब धेरै छैन।

अहिले सेलेक्ट गरिएको:

यशैया 13: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्