यर्मिया 20
20
यर्मिया र पशहूर
1यर्मियाले यी कुराहरूको अगमवाणी गरिरहेका जब परमप्रभुको मन्दिरका मुख्य अधिकृत इम्मेरका छोरा पूजाहारी पशहूरले सुने, 2तब पशहूरले यर्मिया अगमवक्तालाई पिट्न लगाए र परमप्रभुको मन्दिरमा बेन्यामीनको माथिल्लो ढोकामा भएको ठिँगुरोमा हालिदिए। 3भोलिपल्ट जब पशहूरले यर्मियालाई ठिँगुरोबाट निकाले तब यर्मियाले तिनलाई भने, “परमप्रभुले तिम्रो नाउँ पशहूर होइन, तर मागोर-मिस्साबीब#20:3 “मागोर-मिस्साबीब” को अर्थ “त्रास चारैतिर छ।” राख्नुभएको छ। 4किनकि परमप्रभु यसो भन्नुहुन्छ: ‘तँलाई तेरो आफ्नै निम्ति र तेरा सबै मित्रहरूका निम्ति म एक त्रासको पात्र तुल्याउनेछु। तिनीहरू आफ्ना शत्रुहरूका तरवारले तेरै आँखाका सामुन्ने मारिनेछन्। म यहूदालाई बेबिलोनको राजाको हातमा सुम्पिदिनेछु, जसले तिनीहरूलाई कैद गरेर बेबिलोनमा लैजानेछ, अथवा तिनीहरूलाई तरवारले मार्नेछ। 5म यस सहरका सबै धन-सम्पत्ति तिनीहरूका शत्रुहरूका हातमा दिनेछु— त्यसका सबै उत्पादन, त्यसका सबै बहुमूल्य वस्तुहरू र यहूदाका राजाहरूका सारा धन-दौलत। उनीहरूले ती सबै लूट्का माल स्वरुप बेबिलोनमा लानेछन्। 6अनि हे पशहूर, तँ र तेरो घरमा बस्ने सबै कैदी भएर बेबिलोनमा निर्वासित हुनेछौ, तँ र तेरा सब मित्रहरू, जसलाई तैंले झूटा अगमवाणी भनेको थिइस्, सबै मर्नेछौ र त्यहीँ गाड़िनेछौ’।”
यर्मियाको उजूर
7हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो, र मैले धोका खाएँ। तपाईंले मलाई जित्नुभयो र तपाईं ममाथि विजयी हुनुभयो। दिनभरि नै म हाँसोको पात्र बनें, सबले मलाई ठट्टा गर्छन्। 8जब-जब म बोल्छु, तब-तब चर्को सोरले कराएर “उपद्रव र सर्वनाश भयो” भनी म घोषणा गर्छु। यसैले परमप्रभुको वचनले दिनभरि नै मलाई निन्दा र खिसी ल्याएको छ। 9तर “म उहाँको चर्चा गर्नेछैनँ, म फेरि कहिल्यै उहाँको नाउँमा बोल्नेछैनँ” भनी यदि म भन्छु भने उहाँको वचन मेरो हृदयमा जलिरहेको र मेरा हड्डीहरूमा थुनिराखेको आगोजस्तो हुन्छ। त्यसलाई भित्र रोकिराख्दा म थकित हुन्छु, साँच्चै म त्यो थाम्नै सक्दिनँ। 10धेरैले कानेखुसी गरेका म सुन्दछु, “त्रास चारैतिर छ! त्यसको खबर गरौं! त्यसको विरुद्धमा खबर गरौं।” मेरा सबै मित्रहरू यसो भन्दै मेरो पतन पर्खिरहेछन्, “शायद त्यसले धोका खान्छ होला, र हामी त्यसमाथि विजयी भएर साटो फेर्न सक्छौं।”
11तर परमप्रभु एक शक्तिशाली योद्धाझैँ मसित हुनुहुन्छ, यसैले मलाई सताउनेहरू ठेस खाएर लोट्नेछन्। तिनीहरू ममाथि विजयी हुनेछैनन्। तिनीहरू सफल हुनेछैनन्, र तिनीहरू साह्रै लाजमा पर्नेछन्। तिनीहरूको अनादर कहिल्यै बिर्सिइनेछैन। 12हे सर्वशक्तिमान् परमप्रभु, जसले धर्मात्माहरूको जाँच गर्नुहुन्छ, जसले हृदय र मन खोतल्नुहुन्छ, तपाईंले तिनीहरूलाई बदला लिनुभएको म हेर्न पाऊँ, किनभने मैले मेरो मुद्दा तपाईंलाई नै सुम्पिदिएको छु।
13परमप्रभुलाई स्तुति चढ़ाओ! परमप्रभुको प्रशंसा गर! उहाँले दरिद्रहरूको प्राणलाई दुष्टहरूका हातदेखि छुटाउनुहुन्छ।
14म जन्मेको दिन श्रापित होस्! मेरी आमाले मलाई जन्म दिएको दिन आशिषित नहोस्। #अयू ३:१-१९ 15त्यो मानिस श्रापित होस्, जसले मेरा बुबालाई यो समाचार दियो, “तिम्रो एउटा बालक, अर्थात् छोरो जन्म्यो,” र तिनलाई खुशी तुल्यायो। 16त्यो मानिस ती नगरहरूजस्तो होस्, जसलाई परमप्रभुले दयाविना सर्वनाश गर्नुभयो। त्यसले बिहान रुवाबासी, र मध्यदिनमा युद्धको ध्वनि सुन्नुपरोस्, 17किनभने त्यसले मलाई गर्भैमा मारेन, नत्रता मेरी आमा नै मेरो चिहान हुनेथिइन्, र तिनको गर्भ सधैँभरि विस्तृत भइरहनेथियो। 18दु:ख र अफसोस हेर्न र मेरो जीवनका दिन लाजमा बिताउनलाई म किन गर्भबाट निस्केछु?
अहिले सेलेक्ट गरिएको:
यर्मिया 20: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012