YouVersion लोगो
खोज आइकन

हितोपदेश 24

24
1दुष्‍ट मानिसहरूको डाह नगर्, तिनीहरूसँग सङ्गत गर्न इच्‍छा नगर्,
2किनभने तिनीहरूको हृदयले उपद्रव रच्‍दछ,
र तिनीहरूका ओठले झमेला ल्‍याउने कुरा गर्दछ।
3बुद्धिले घर बनाइन्‍छ,
र सुझबुझले त्‍यो स्‍थापित हुन्‍छ,
4ज्ञानद्वारा यसका कोठाहरू अति उत्‍कृष्‍ट र सुन्‍दर थोकहरूले भरिभराउ हुन्‍छन्‌।
5बुद्धिमान्‌ मानिसको शक्ति महान्‌ हुन्‍छ,
र ज्ञानी मानिसको सामर्थ्‍य बढ्‌छ।
6युद्ध गर्नका निम्‍ति तँलाई अगुवाइ चाहिन्‍छ, विजय पाउनलाई धेरै सल्‍लाहकार चाहिन्‍छ।
7मूर्खको निम्‍ति बुद्धि साह्रै उच्‍च हुन्‍छ, ढोकामा जम्‍मा भएको समुदायको अगि बताउने कुरा त्‍यससँग हुँदैन।
8खराबी जसले रच्‍दछ, त्‍यो षड्‌यन्‍त्रकारीको नाउँले चिनिनेछ।
9मूर्खताका षड्‌यन्‍त्रहरू पाप हुन्,
र मानिसहरू अर्काको खिल्‍ली उड़ाउनेलाई घिनाउँछन्‌।
10सङ्कष्‍टको दिनमा लरखराइस्‌ भने, तेरो बल कति कम रहेछ!
11मार्नलाई लगिएकाहरूलाई बचा, मारकाटतिर ढुनमुनिरहेकाहरूलाई रोक्‌।
12यदि तँ भन्‍छस्, “हामीलाई त यसबारे केही थाहै भएन,” के हृदय जाँच गर्नुहुनेले यो कुराको ख्‍याल राख्‍नुहुन्‍न र? तेरो जीवन रक्षा गर्नुहुनेलाई यो कुरा थाहा हुँदैन र?
के उहाँले हरेक व्‍यक्तिलाई त्‍यसको कामअनुसार बदला दिनुहुन्‍न र?
13हे मेरो छोरा, मह खा, किनभने त्‍यो असल हुन्‍छ, चाकाबाटको महको स्‍वाद तँलाई गुलियो हुन्‍छ।
14यो पनि याद राख्‌ कि बुद्धि तेरो प्राणको लागि गुलियो हुनेछ। यसलाई तैंले प्राप्‍त गरिस्‌ भने, तेरो भविष्‍यको लागि आशा छ,
र तेरो आशा व्‍यर्थै जानेछैन।
15धर्मी मानिसका घरको विरुद्ध दुष्‍टले ढुकेझैँ ढुकी नबस्, त्‍यसको वासस्‍थानमाथि छापा नमार्,
16किनभने धर्मी मानिस सातै पटक लड्यो भने पनि फेरि उठ्‌छ, तर दुष्‍टहरूलाई विपत्तिले नाश गरिदिन्छन्।
17तेरो शत्रुको पतन हुँदा नरमा, त्‍यसले ठेस खाँदा तेरो हृदय हर्षित नहोस्,
18नत्रभने परमप्रभुले देख्‍नुहुनेछ र असहमति जनाउनुहुनेछ,
र त्‍यसदेखि आफ्‍नो क्रोध हटाउनुहुनेछ।
19दुष्‍ट मानिसहरूको कारण पीर नमान्, वा दुष्‍टप्रति डाही नबन्,
20किनभने दुष्‍ट मानिसका भविष्‍यको आशा हुँदैन,
र दुष्‍टको बत्ती निभाइनेछ।
21हे मेरो छोरा, परमप्रभुको र राजाको डर राख्,
र विद्रोहीहरूसँग नमिल्,
22किनभने उहाँहरू दुवैले तिनीहरूमाथि एक्‍कासि सर्वनाश पठाउनुहुनेछ।
र कस्‍ता विपत्तिहरू उहाँहरूले पठाउनुहोला भनी कसलाई थाहा हुन्‍छ र?
बुद्धिमान्‌का अरू उखानहरू
23यी पनि बुद्धिमान्‌का उखानहरू हुन्‌:
न्‍याय गर्दा पक्षपात गर्नु राम्रो होइन।
24दोषीलाई जसले “तिमी निर्दोष छौ,” भन्‍छ, मानिसहरूले त्‍यसलाई सराप्‍नेछन्‌ र जातिहरूले त्‍यसको निन्‍दा गर्नेछन्‌।
25तर तिनीहरूको भलो हुनेछ, जसले दोषीको अपराध साबित गर्छ। त्‍यस व्‍यक्तिमाथि प्रशस्‍त आशिष्‌ बर्षनेछ।
26ईमानदार जवाफचाहिँ ओठमाथिको चुम्‍बनजस्‍तै हो।
27बाहिरको काम पूरा गर्,
र आफ्‍नो खेतबारी तयार पार्, अनि त्‍यसपछि आफ्‍नो घर बना।
28आफ्‍नो छिमेकीको विरुद्ध केही कारणैविना गवाही नदे, वा आफ्‍ना ओठलाई छली कामको लागि प्रयोग नगर्‌।
29यसो नभन्, “त्‍यसले मलाई गरेझैँ म पनि त्‍यसलाई गर्नेछु, त्‍यस मानिसले मलाई गरेको साटो म लिनेछु।”
30म एउटा अल्‍छेको खेततिरबाट गएँ, एउटा समझ नभएको मानिसको दाखबारीबाट भएर गएँ,
31चारैतिर काँढ़ाहरू उम्रेका थिए, झारैझारले खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल उजाड भएको थियो।
32मैले अवलोकन गरेका कुराहरूलाई हृदयमा विचार गरें,
र मैले देखेका कुराहरूबाट एक शिक्षा सिकें।
33क्षणभरको सुताइ र क्षणभरको उँघाइले, #हितो ६:१०-११ हात बाँधेर क्षणभरको आराम गराइले,
34दरिद्रता तँमाथि डाँकूझैँ,
र अभावचाहिँ सशस्‍त्र मानिसझैँ आइलाग्‍नेछ।

अहिले सेलेक्ट गरिएको:

हितोपदेश 24: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्