१ शमूएल 19
19
शाऊलले दाऊदको खेदो गर्छन्
1शाऊलले आफ्ना छोरा जोनाथन र सबै भारदारहरूलाई म दाऊदलाई मार्ने उपाय गर्छु भने। जोनाथनले दाऊदलाई खुबै मन पराउँथे 2र तिनलाई भने, “मेरा बुबाले तिमीलाई मार्ने चेष्टा गर्दै छन्। भोलि बिहान होशियार हुनु, कुनै गुप्त स्थानमा गएर बस्नू। 3म गएर तिमी लुकिरहेको खेतमा मेरा बुबाको छेउमा उभिनेछु र तिम्रो बारेमा कुरा गर्नेछु। मैले केही कुरा थाहा पाएँ भने तिमीलाई भन्नेछु।”
4जोनाथनले शाऊलको अघि दाऊदको प्रशंसा गरेर भने, “हजुर, आफ्नो सेवक दाऊदलाई केही खराबी नगर्नुहोस्। तिनले कहिल्यै तपाईंको खराबी गरेका छैनन्। त्यसका सट्टामा तिनले गरेका हरकामले तपाईंको ठूलो मद्दत भएको छ। 5आफ्नो प्राण खतरामा हालेर तिनले गोल्यतलाई मारे र परमप्रभुले इस्राएलको निम्ति महान् विजय दिनुभयो। त्यो देखेर तपाईं प्रसन्न हुनुभयो। तर किन अहिले तपाईं एउटा निर्दोष मानिसलाई अन्याय गर्न चाहनुहुन्छ? किन दाऊदलाई कुनै कारणबिना मार्न चाहनुहुन्छ?”
6शाऊलले शपथ खाए, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिँदछु कि दाऊद मारिनेछैन।” 7यसकारण जोनाथनले दाऊदलाई बोलाएर सबै कुरा भने। तिनले दाऊदलाई शाऊलकहाँ लगे र अघिझैँ दाऊदले राजाको सेवा गरे।
8पलिश्तीहरूसित फेरि लडाइँ भयो। दाऊदले तिनीहरूलाई हमला गरेर पूर्णरूपले हराए र तिनीहरू भागे।
9एक दिन परमप्रभुले पठाउनुभएको दुष्टात्माले शाऊललाई अधीन गर्यो। तिनी आफ्नो घरमा हातमा एउटा भाला लिएर बसिरहेका थिए र दाऊद त्यहाँ बसेर वीणा बजाइरहेका थिए। 10भाला हानेर शाऊलले दाऊदलाई भित्तैमा टाँस्ने चेष्टा गरे; तर दाऊद तर्किए र भाला भित्तामा गाडियो। दाऊद उम्केर बाँचे।
11 #
भजनसंग्रह 59
त्यही रात शाऊलले केही मानिसहरूलाई दाऊदको घरमाथि नजर राख्नू र बिहानै तिनलाई मारिदिनू भनी पठाए। दाऊदकी स्वास्नी मीकलले तिनलाई होशियार गराइन् र भनिन्, “आज राती भाग्नुभएन भने भोलि तपाईं मर्नुहुनेछ।” 12तिनले उनलाई एउटा झ्यालबाट तल झारिदिइन् र उनी भागेर गए। 13त्यसपछि तिनले घरको देवको मूर्ति लिएर ओछ्यानमा सुताइन्, टाउको मुनि बाख्राका रौँले बनाएको सिरानी राखिदिइन् र लुगा ओढाइदिइन्। 14जब शाऊलका मानिसहरू दाऊदलाई समात्न आए, मीकलले तिनीहरूलाई दाऊद बिरामी छन् भनिदिइन्। 15तर शाऊलले दाऊदलाई आफ्नै आँखाले हेरिआउनू भनी तिनीहरूलाई फर्काइपठाए। शाऊलले तिनीहरूलाई यस्तो आज्ञा दिए, “त्यसलाई खाटैमा यहाँ लिएर आओ र म त्यसलाई मार्नेछु।” 16तिनीहरू घरभित्र पसे र खाटमाथि घरका देवताको मूर्ति बाख्राका रौंका सिरानीमा शिर राखेर लडिरहेको भेट्टाए। 17शाऊलले मीकललाई सोधे, “किन तैँले मलाई यसरी छल गरेर मेरो शत्रुलाई भाग्न दिइस्?”
तिनले उत्तर दिइन्, “उनले ‘मलाई भाग्न मद्दत गरिनस् भने तँलाई नै मार्छु,’ भने।”
18दाऊद भागेर रामामा शमूएलकहाँ गए र शाऊलले तिनलाई गरेका सबै कुरा सुनाए। त्यसपछि उनी र शमूएल नैयोतमा गएर बसे। 19दाऊद रामाको नैयोतमा छन् भनी शाऊललाई कसैले सुनायो। 20दाऊदलाई पक्रन शाऊलले केही मानिसहरू त्यहाँ पठाए। तिनीहरूले एक दल अगमवक्ताहरू आफ्ना अगुवा शमूएलसँग अगमवाणी बोल्दैगरेका देखे। तब शाऊलका मानिसहरूलाई परमेश्वरको आत्माले अधीन गर्नुभयो र तिनीहरूले पनि अगमवाणी बोल्न लागे। 21शाऊलले जब यो कुरा सुने, अरू मानिसहरूलाई त्यहाँ पठाए र तिनीहरूले पनि अगमवाणी बोल्न थाले। तेस्रोपल्ट तिनीहरूले अरू मानिसहरूलाई पठाए, तिनीहरूले पनि अगमवाणी बोल्न थाले। 22तब तिनी आफैं रामामा गए। सेकूमा भएको ठूलो कुवामा आइपुग्दा तिनले शमूएल र दाऊद कहाँ छन् भनी सोधे। तिनीहरू नैयोतमा छन् भनी तिनलाई भनियो। 23उनी त्यहीँ जान लाग्दा परमेश्वरको आत्मा उनीमाथि पनि आउनुभयो र उनी पनि नैयोतसम्मै अगमवाणी बोल्दै गए। 24#१ शमूएल 10:11,12उनले आफ्ना वस्त्र फुकाले र शमूएलको सामुन्ने अगमवाणी बोल्दै त्यो दिन र रातभरि नाङ्गै बसे। (त्यसरी यो भनाइ सुरु भयो, “के शाऊल पनि अगमवक्ता भएका छन्?”)
अहिले सेलेक्ट गरिएको:
१ शमूएल 19: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.