YouVersion लोगो
खोज आइकन

१ शमूएल 27

27
पलिश्‍तीहरूका माझमा दाऊद
1दाऊदले मनमनै भने, “एक न एक दिन शाऊलले मलाई मार्नेछन्। पलिश्‍तमा भागेर जानु मेरो निम्‍ति सबैभन्दा असल हुनेछ। तब शाऊलले मलाई इस्राएलमा खोजी गर्न छोड्‍नेछन् र मलाई डर हुनेछैन।” 2यसर्थ तुरुन्‍तै दाऊद र तिनका छ सय मानिसहरू माओकको छोरो गातका राजा आकीशकहाँ गए। 3दाऊद र तिनका मानिसहरू परिवारसहित गातमा बसोबास गर्न लागे। दाऊदका दुईवटी स्‍वास्‍नीहरू तिनीसित थिए– एउटी यिजरेलकी अहीनोम र अर्की नाबालकी विधवा कर्मेलकी अबीगेल। 4दाऊद भागेर गातमा गएका छन् भन्‍ने सुनेपछि शाऊलले तिनको खोजी गर्न छोडे।
5दाऊदले आकीशलाई भने, “यदि तपाईं मेरा मित्र हुनुहुन्‍छ भने मलाई बसोबास गर्न एउटा सानो सहर दिनुहोस्। मलाई हजुरसित राजधानीमा बस्‍ने केही जरुरत छैन।” 6यसकारण आकीशले दाऊदलाई सिक्‍लग सहर दिए। त्‍यसैकारण त्‍यस दिनपछि सदासर्वदा सिक्‍लग यहूदाका राजाहरूको सम्‍पत्ति भएको छ। 7दाऊद पलिश्‍तमा सोह्र महिनासम्‍म बसे।
8ती दिनमा दाऊद र तिनका मानिसहरूले गशूर, गिज्री र अमालेकका मानिसहरूमाथि हमला गर्दथे। ती मानिसहरू त्‍यस इलाकामा धेरै दिनदेखि बसोबास गर्दैआएका थिए। तिनले तिनीहरूका देशका शूरसम्‍म र मिश्रदेशसम्‍मै लुटपाट गर्दथे 9र सबै पुरुष र स्‍त्रीहरूलाई मार्दथे र तिनका भेडा, गाई-गोरु, गधा, ऊँट र लुगाफाटासमेत लुट्दथे। त्‍यसपछि उनी आकीशकहाँ फर्किआउँथे। 10आकीशले तिनलाई “आज तिमीले कहाँ लूटपाट गर्‍यौ?” भनी सोध्‍थे। उनी भन्‍थे, ‘यहूदाको नेगेव देशमा’ अथवा ‘यरहमेलीहरू वा केनीहरूको नेगेव देशमा।’ 11दाऊदले सबै पुरुष र स्‍त्रीहरूलाई मार्दथे र कोही पनि गातमा फर्केर गई दाऊद र उनका मानिसहरूले के गरेका थिए, त्‍यसको बयान दिन सक्‍दैनथे। जतिञ्‍जेल दाऊद पलिश्‍तमा बसे, तिनले त्‍यसै गरिरहे। 12तर आकीशले दाऊदलाई विश्‍वास गर्थे र मनमा यसरी सोच्‍दथे, “तिनका आफ्‍ना प्रजा इस्राएलीहरूले तिनलाई यति घृणा गर्छन् कि जीवनभरि तिनले मेरो सेवा गर्नुपर्नेछ।”

अहिले सेलेक्ट गरिएको:

१ शमूएल 27: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्