YouVersion लोगो
खोज आइकन

१ शमूएल 3

3
परमप्रभुले शमूएललाई दर्शन दिनुहुन्‍छ
1ती दिनमा बालक शमूएलले एलीका अधीनमा रही परमप्रभुको सेवा गरेका बेलामा परमप्रभुको वचन र दर्शन दुवै कम पाइन्‍थे। 2एक रात एली आफ्‍नो कोठामा सुतिरहेका थिए, उनका आँखा राम्ररी नदेख्‍ने भएका थिए। 3जहाँ पवित्र करारको सन्‍दुक राखिएको थियो, त्‍यहाँ शमूएल सुतिरहेका थिए। मिरमिरे उज्‍यालोमा बत्ती बलिरहेकै थियो, 4परमप्रभुले शमूएललाई बोलाउनुभयो। तिनले उत्तर दिए, “हजुर, म यहाँ छु!” 5र दगुरेर एलीकहाँ गई भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।”
तर एलीले उत्तर दिए, “मैले तँलाई बोलाइनँ, गएर सुत्।” शमूएल गएर ओछ्यानमा सुते।
6-7परमप्रभुले शमूएललाई फेरि बोलाउनुभयो। मलाई बोलाउने परमप्रभु हुन् भनी उनले थाहा पाएनन् किनभने अघि कहिल्‍यै परमप्रभु तिनीसित बोल्‍नुभएको थिएन। यसकारण तिनी उठेर एलीकहाँ गए र भने, “तपाईंले मलाई बोलाउनुभयो र म आएँ।”
तर एलीले भने, “छोरो, मैले तँलाई बोलाइनँ, गएर सुत्।”
8परमप्रभुले शमूएललाई तेस्रोपल्‍ट बोलाउनुभयो। तिनी उठेर एलीकहाँ गए र भने, “तपाईंले मलाई बोलाउनुभयो र म आएँ।”
तब एलीले थाहा पाए कि केटोलाई बोलाउनुहुने परमप्रभु हुनुहुँदो रहेछ। 9यसकारण उनले केटोलाई भने, “गएर सुत्। फेरि उहाँले तँलाई बोलाउनुभयो भने यसो भन्‍नू, ‘आज्ञा होस्, परमप्रभु, तपाईंको सेवकले सुनिरहेको छ।” यसकारण शमूएल फेरि ओछ्यानमा गए।
10परमप्रभु आएर त्‍यहाँ उभिनुभयो र उहाँले पहिलेजस्‍तै बोलाउनुभयो, “शमूएल! ए शमूएल!”
शमूएलले उत्तर दिए, “आज्ञा गर्नुहोस्, तपाईंको सेवकले सुनिरहेको छ।”
11परमप्रभुले त्‍यसलाई भन्‍नुभयो, “कुनै दिन इस्राएलीहरूसित म यस्‍तो डरलाग्‍दो कुरा गर्नेछु कि त्‍यो सुन्‍ने हरेकको टाउको रन्‍थनिनेछ। 12त्‍यस दिन मैले एलीका परिवारका विरुद्धमा दिएका सबै हप्‍काइ सुरुदेखि अन्‍तसम्‍म पूरा गर्नेछु। 13मैले एलीलाई पहिले नै, ‘तेरा छोराहरूले मेरो विरुद्धमा भ्रष्‍ट कुरा गरेका कारणले म तेरो परिवारलाई सदाकालको निम्‍ति दण्‍ड दिनेछु’ भनी भनिसकेको छु। तिनीहरूले त्‍यसो गर्दै छन् भनी एलीले जान्‍दथ्यो; तर त्‍यसले तिनीहरूलाई रोकेन। 14यसकारण म एलीका परिवारलाई गम्‍भीरतासाथ भन्‍दै छु कि यस भयङ्कर पापको फल कुनै बलिदान वा भेटीले कहिल्‍यै मेट्‍न सक्‍नेछैन।”
15शमूएल बिहानसम्‍म ओछ्यानमा लडिरहे। त्‍यसपछि तिनी उठेर परमप्रभुको मन्‍दिरका ढोकाहरू खोले। एलीलाई त्‍यस दर्शनबारे बताउन तिनलाई डर लागेको थियो। 16एलीले त्‍यसलाई बोलाए, “शमूएल, मेरो छोरो!”
“हजुर!” शमूएलले उत्तर दिए।
17“परमप्रभुले तँलाई के भन्‍नुभयो?” एलीले सोधे, “मदेखि केही कुरा नलुका। उहाँले भनेका सबै कुरा तैँले मलाई भनिनस् भने परमेश्‍वरले तँलाई सजाय दिनुहुनेछ।” 18यसकारण शमूएलले सबै कुरा भने, तिनले केही लुकाएनन्। एलीले भने, “उहाँ परमप्रभु भन्‍नुहुन्‍छ। उहाँलाई जे कुरा असल लाग्‍दछ, त्‍यो उहाँले गर्नुहुनेछ।”
19शमूएल बढ्दै गए। परमप्रभु उनीसित हुनुहुन्‍थ्‍यो र तिनले भनेका सबै कुरा उहाँले पूरा गराउनुभयो। 20यसर्थ इस्राएलका एक कुनादेखि अर्को कुनासम्‍मका सबै मानिसहरूले शमूएल परमप्रभुका अगमवक्ता हुन् भनी थाहा पाए। 21परमप्रभुले आफ्‍नो दर्शन शीलोमा दिइरहनुभयो, त्‍यहीं उहाँले शमूएललाई दर्शन दिएर कुरा गर्नुभएको थियो। अनि शमूएल बोल्‍दा सारा इस्राएलले सुन्‍दथ्यो।

अहिले सेलेक्ट गरिएको:

१ शमूएल 3: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्