YouVersion लोगो
खोज आइकन

प्रेरित 27:21-44

प्रेरित 27:21-44 सरल नेपाली

मानिसहरूले खाना नखाएको धेरै दिन भइसकेको थियो। पावलले सबैका अघि उभिएर भने, “दाजुभाइहरू हो, तपाईंहरूले मेरा कुरा सुनिदिनुपर्थ्‍यो र क्रेटबाट हिँड्‍नुहुँदैनथ्‍यो। त्‍यस बेला मैले भनेको कुरा सुनिदिएको भए नता यस्‍तो दु:ख पाइन्‍थ्‍यो नता कुनै चीजबीचको नाश नै हुनेथियो। तर अब म बिन्‍ती गर्छु– हरेस नखानुहोस्, कसैले पनि आफ्‍नो ज्‍यान गुमाउनुपर्नेछैन, खालि जहाज मात्रै नाश हुनेछ। म परमेश्‍वरको मानिस हुँ र उहाँकै सेवा गर्दै छु। उहाँकै एउटा दूतले आज राती मेरो छेउमा आएर भने, ‘ए पावल, नडराऊ, तिमीले रोमी महाराजाको सामुन्‍ने जानैपर्छ र तिम्रै कारणले गर्दा परमेश्‍वरले तिमीसँग जाने सबैको रक्षा गर्नुहुनेछ’। यसकारण मेरा दाजुभाइहरू हो, हताश नहुनुहोस् किनभने परमेश्‍वरले भन्‍नुभएको त्‍यो कुरा अवश्‍य पूरा हुनेछ भन्‍ने विश्‍वास मैले राखेको छु। अब हामी कुनै टापुको किनारामा ठोकिनेछौं।” हाम्रो जहाज यसरी आँधीको बीचमा एड्रियास भन्‍ने समुद्रमा लरखराइरहेको चौध दिन भइसकेको थियो। आधाराततिर जहाज चलाउनेहरूलाई कुनै देशको किनारमा पुग्‍न आँट्यौंजस्‍तो लाग्‍यो। त्‍यसो हुँदा उनीहरूले पानीको गहिराइ नाप्‍न थाले। नाप्‍दा चालीस मिटर जति गहिरो रहेछ। अलि पर पुगेपछि फेरि नाप्‍दा तीस मिटर जति मात्र रहेछ। पानी थोरै भएकोले उनीहरूलाई कतै चट्टानमा जहाज ठोकिन्‍छ कि भन्‍ने डर लाग्‍यो। त्‍यसकारण उनीहरूले पछाडिका चार वटा लङ्गर खसालेर जहाजलाई अडाए अनि कहिले उज्‍यालो होला भनेर त्‍यहीँ नै पर्खिरहे। यसरी पर्खिरहँदा जहाज चलाउनेहरूले अगाडिको लङ्गर झार्ने निहुँ गरेर सानो नाउलाई जहाजबाट खसाले र भाग्‍न खोजे। तर पावलले कप्‍तान र सिपाहीहरूलाई भने, “यी जहाज चलाउनेहरू भागे भने हामी कोही पनि बाँच्‍नेछैनौं।” यो कुरा सुनेर सिपाहीहरूले जहाजमा बाँधेका सानो नाउलाई डोरी काटेर बगाइदिए। मिरमिरे उज्‍यालो हुन लागेपछि पावलले मानिसहरूलाई ‘केही खाना खानु नै पर्छ’ भन्‍ने सल्‍लाह दिँदै भने, “तपाईंहरू चिन्‍ताले गर्दा खाँदै नखाई बस्‍नुभएको चौध दिन भइसकेछ। अब तपाईंहरूलाई मेरो बिन्‍ती छ, केही न केही खानुहोस् किनभने बाँच्‍नका लागि त खानैपर्छ। नडराउनुहोस्, परमेश्‍वरले भन्‍नुभएजस्‍तै कसैलाई पनि केही हुनेछैन।” यति भनेर उनले रोटी लिए अनि सबैका सामने परमेश्‍वरलाई धन्‍यवाद चढाएर खान थाले। त्‍यसपछि अरूले पनि साहस पाएर खाए। त्‍यस जहाजमा हामी जम्‍मा दुई सय छयहत्तर जना मानिस थियौं। सबैले अघाउञ्‍जेल खाइसकेपछि जहाजलाई हलुका पार्न तिनीहरूले भएका जति सबै गहुँ पनि फ्‍याँकिदिए। उज्‍यालो भएपछि समुद्रको कुनै किनारा देखियो, तर जहाज चलाउनेहरूले त्‍यस ठाउँलाई चिन्‍न सकेनन्। किनारामा सम्‍म ठाउँ देखेर तिनीहरूले जहाजलाई त्‍यतै लैजाने विचार गरे। तिनीहरूले लङ्गरहरूमा बाँधेका डोरीहरू काटेर लङ्गरहरू समुद्रमै छोडिदिए र जहाज खियाउने बहना बाँधिराखेका डोरीहरू पनि फुकालिदिए अनि अघिल्‍तिरको पाललाई माथि उठाइदिए र हावाले जहाजलाई लैजाँदा किनारातिर खियाउँदै लगे। तर जहाज बालुवाको रासमा हानिंदैगयो र अगाडिको भाग जमिनमा भासियो अनि पछाडिको भाग पानीको छालको जोड्ले गर्दा फुट्‍न थाल्‍यो। त्‍यतिखेर कैदीहरू पौडेर भाग्‍लान् भन्‍ठानेर सिपाहीहरूले तिनीहरूलाई मार्ने विचार गरे। तर कप्‍तानले पावललाई बचाउन चाहन्‍थे। त्‍यसो हुँदा उनले कसैलाई पनि मार्न दिएनन्। उनले नै ‘पौडन सक्‍ने जति पहिले नै पौडेर जानू र अरूले चाहिँ जहाजका फल्‍याकहरू वा टुटेफुटेका टुक्राहरू समातेर पारि तर्नू’ भन्‍ने आज्ञा दिए। यसरी हामी सबै सुरक्षितसँग किनारामा पुग्‍यौं।

प्रेरित 27 पढ्नुहोस्