YouVersion लोगो
खोज आइकन

दानिएल 10

10
टाइग्रिस नदी छेउमा दानिएलको दर्शन
1फारस देशका राजा कोरेसले राज्‍य गरेको तेस्रो वर्षमा दानिएलकहाँ (जसलाई बेलतसजर पनि भन्‍थे) एउटा सन्‍देश आयो। त्‍यो दर्शनको सन्‍देश साँचो थियो र ठूलो युद्धको बारेमा थियो। त्‍यस सन्‍देशको अर्थ उनले दर्शनमा पाए।
2त्‍यस बेला म दानिएलले तीन हप्‍तासम्‍म शोक गरिरहेको थिएँ। 3मैले तीन हप्‍ता नबितेसम्‍म कुनै स्‍वादिष्‍ट भोजन खाइनँ, मासु खाइनँ, दाखमद्य पिइनँ, केश कोरिनँ।
4त्‍यस वर्षको पहिलो महिनाको चौबीसौँ दिनमा म ठूलो टाइग्रिस नदीको किनारमा खडा थिएँ। 5#प्रकाश 1:13-15; 2:18; 19:12मैले मास्‍तिर हेरें र एक जना मिहिन सुती लुगा लाएका र कमरमा निखुर सुनको पेटी बाँधेका मानिसलाई देखें। 6उनको शरीर मणिझैँ चम्‍कन्‍थ्‍यो, अनुहार बिजुली चम्‍केझैँ उज्‍यालो थियो र आँखा राँकोझैँ बल्‍दथे। उनका हात-पाउ टल्‍काइएका काँसाझैँ टल्‍कन्‍थे र सोरचाहिँ एउटा ठूलो भीडको आवाजझैँ सुनिन्‍थ्‍यो।
7त्‍यो दर्शन देख्‍ने म एक जना मात्र थिएँ। मसित भएका मानिसहरूले केही देखेनन् तर तिनीहरू डराए र भागेर लुके। 8यो उदेकको दर्शन हेर्न म मात्र त्‍यहाँ एक्‍लै छोडिएँ। डरले ममा केही बल रहेन र मेरो अनुहार बदलियो। मलाई कसैले चिन्‍न सक्‍ने भएन। 9उनको सोर सुनेर म बेहोश भई जमिनमा घोप्‍टो परेर लडें। 10तब एउटा हातले मलाई समातेर मेरा हात र घुँडामा मलाई उभ्‍यायो। म अझै कामिरहेको थिएँ।
11स्‍वर्गदूतले मलाई भने, “ए दानिएल, परमेश्‍वरले तिमीलाई प्रेम गर्नुहुन्‍छ। सिधा भई उभ र मैले के भन्‍न लागेको छु, होशियारसित सुन। म तिमीकहाँ पठाइएको छु।” उनले त्‍यसो भनेपछि म काम्‍दै उभिएँ।
12त्‍यसपछि उनले भने, “दानिएल, नडराऊ। तिमीले बुझ्‍ने शक्ति पाउन आफैंलाई नम्र तुल्‍याएको पहिलो दिनदेखि नै परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ। म तिम्रो प्रार्थनाको उत्तर दिन आएको छु। 13#प्रकाश 12:7फारस देशको शासकले एक्‍काईस दिनसम्‍म मेरो विरोध गर्‍यो। त्‍यसपछि एउटा मुख्‍य स्‍वर्गदूत मिखाएलले मलाई सहायता गर्न आए किनभने म फारस देशमा एक्‍लै छोडिएको थिएँ। 14अनि भविष्‍यमा तिम्रा जातिका मानिसहरूलाई के हुनेछ सो तिमीलाई बुझाउन म आएको छु। यो ती आउँदा दिनहरूको बारेमा दिइएको दर्शन हो।”
15उनले त्‍यसो भनेपछि मैले अवाक् भएर जमिनमा हेरिरहें। 16तब ती मानिसजस्‍ता देखिने स्‍वर्गदूतले हात उचालेर मेरा ओठ छोए। मैले उनलाई भनें, “हजुर, यस दर्शनले मलाई यति कमजोर बनाएको छ कि मेरो कम्‍पन रोक्‍नै सक्तिनँ। 17आफ्‍नो मालिकको अघि उभिएको कमाराझैँ मेरो हालत छ, म कसरी तपाईंसित बोल्‍न सक्‍छु र? ममा बल वा सास छँदैछैन।”
18फेरि एकपल्‍ट तिनले मलाई समाते र म केही बलियो भएँ। 19उनले भने, “परमेश्‍वरले तिमीलाई प्रेम गर्नुहुन्‍छ। तिमी नडराऊ, तिमीलाई शान्‍ति होस्, बलियो र साहसी होऊ।”
उनले त्‍यसो भनेपछि म अझै बलियो भएँ। मैले भनें, “हजुर, भन्‍नुहोस्। तपाईंले मलाई बल दिनुभएको छ।”
20-21उनले भने, “म किन तिमीकहाँ आएँ, के तिमी जान्‍दछौ? सत्‍य वचनको पुस्‍तकमा के लेखिएको छ, सो बताउन म तिमीकहाँ आएको छु। अब फर्केर गई मैले फारसको त्‍यस शासकसित लडाइँ गर्नुपरेको छ। त्‍यसपछि ग्रीसको शासक आउनेछ। मलाई सहायता गर्ने स्‍वर्गदूत मिखाएलबाहेक अरू कोही छैनन्।

अहिले सेलेक्ट गरिएको:

दानिएल 10: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्