YouVersion लोगो
खोज आइकन

दानिएल 2

2
नबूकदनेसरको सपना
1नबूकदनेसर राजा भएको दोस्रो वर्षमा उनले एउटा सपना देखे। सपना देखेपछि उनलाई यस्‍तो छटपटी भयो कि उनी फेरि सुत्‍नै सकेनन्। 2यसकारण उनले आफ्‍नो राज्‍यका ज्‍योतिषी, जादूगर, मन्‍त्र-तन्‍त्र गर्नेहरू र टुना-मुना जान्‍नेहरूलाई बोलाए र सपनाको अर्थ खोल्‍ने आज्ञा दिए। तिनीहरू आए र राजाका सामुन्‍ने खडा भए। 3राजाले तिनीहरूलाई भने, “मैले देखेको एउटा सपनाबारे मलाई चिन्‍ता लागेको छ। म त्‍यसको अर्थ जान्‍न चाहन्‍छु।”
4तिनीहरूले अरामी भाषामा राजालाई भने, “महाराज दीर्घायु होऊन्! हामीलाई सपना बताउनुहोस् र हामी हजुरलाई त्‍यसको अर्थ खोलिदिनेछौं।”
5राजाले तिनीहरूलाई भने, “मैले पक्‍का निर्णय गरिसकेको छु कि तिमीहरूले नै मलाई सपना र त्‍यसको अर्थ दुवै बताउनुपर्नेछ। तिमीहरूले बताउन सकेनौ भने म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूका घरबारहरू भत्‍काएर रास लाउनेछु। 6तर तिमीहरूले मलाई सपना र त्‍यसको अर्थ दुवै बताउन सक्‍यौ भनेचाहिँ म तिमीहरूलाई इनाम दिनेछु र सम्‍मानित तुल्‍याउनेछु। तिमीहरूले अब मलाई बताओ कि सपना के थियो र त्‍यसको अर्थ के हो।”
7तिनीहरूले फेरि राजालाई जवाफ दिए, “महाराजाले सपनाचाहिँ हामीलाई बताइदिनुभए अर्थ हामी बताउनेथियौं।”
8-9तब राजाले जवाफ दिए, “मैले सोचेकै जस्‍तै हुँदै छ, तिमीहरूले कुरा टारेर समय लिने चेष्‍टा गर्दै छौ किनभने सपनाको अर्थ बताएनौ भने मैले तिमीहरू सबैलाई एकै प्रकारको दण्‍ड दिने निश्‍चय गरेको छु भनी तिमीहरूले देखिसकेका छौ। तिमीहरूले आपसमा मलाई झूटो भनिरहने मतो गरेका छौ किनभने त्‍यसो गर्नाले समयमा कुरा फेरिनेछ भन्‍ने आशा गरेका छौ। सपना के थियो, मलाई बताओ। तब म जान्‍नेछु कि तिमीहरूले त्‍यसको अर्थ पनि मलाई बताउन सक्‍नेछौ।”
10ती सल्‍लाहकारहरूले जवाफ दिए, “महाराजाले जे जान्‍न चाहनुहुन्‍छ, त्‍यो बताउने यस धर्तीमा कुनै मानिस छैन। कुनै महान्‌भन्दा महान् र सर्वशक्तिमान् राजाले पनि आफ्‍ना ज्‍योतिषीहरू, जादूगरहरू र टुना-मुना जान्‍नेहरूबाट यस्‍तो कुरो कहिल्‍यै मागेका थिएनन्। 11हजुरले जे चाहनुहुन्‍छ, त्‍यो यति गाह्रो कुरो छ कि देवताहरूबाहेक अरू कसैले त्‍यो बताउन सक्‍दैनन् र ती देवताहरू मानिसहरूका बीचमा बास गर्दैनन्।”
12त्‍यो कुरा सुनी राजालाई साह्रै रिस उठ्यो र उनले बेबिलोनका सबै राजकीय सल्‍लाहकारहरूलाई मार्ने आज्ञा दिए। 13त्‍यहीअनुसार हुकुम निक्‍ल्‍यो र दानिएल र उनका साथीहरूलाई पनि मार्नको लागि तिनीहरूलाई खोज्‍न मानिसहरू पठाइए।
परमेश्‍वरले दानिएललाई सपनाको अर्थ बताउनुहुन्‍छ
14राजाका अङ्ग-रक्षकका हाकिम अर्योकलाई प्राण-दण्‍ड दिने हुकुम दिएको थियो। दानिएल अर्योककहाँ गए र बडो होशियार भई बुद्धिमानीपूर्वक उनीसँग कुरा गरे। 15उनले अर्योकलाई किन राजाले त्‍यस्‍तो कडा आज्ञा गर्नुभएको हो भनी सोधे। अर्योकले दानिएललाई भएका सबै घटनाहरू बताइदिए।
16तब दानिएल तुरुन्‍तै राजाको सामुन्‍ने गए र उनका सपनाको अर्थ बताइदिनलाई केही समय पाउन बिन्‍ती गरे। 17त्‍यसपछि दानिएल घर गए र सबै घटनाबारे आफ्‍ना मित्रहरू हनन्‍याह, मीशाएल र अजर्याहलाई सुनाए। 18बेबिलोनका अरू सल्‍लाहकारका साथ हामीहरू मर्नुनपरोस् भनी स्‍वर्गका परमेश्‍वरलाई दया गरी त्‍यो सपनाको रहस्‍य हामीहरूलाई खोलिदिऊन् भनेर प्रार्थना गरौं भनी उनले साथीहरूलाई भने। 19त्‍यही रात दर्शनमा दानिएललाई त्‍यो रहस्‍य प्रकट भयो र उनले स्‍वर्गका परमेश्‍वरलाई यसरी प्रशंसा गरे:
20“परमेश्‍वर बुद्धिमान् र पराक्रमी हुनुहुन्‍छ!
सदासर्वदा नै उहाँको जयजयकार गर!
21उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्‍छ;
उहाँले नै राजाहरू राख्‍नु र हटाउनुहुन्‍छ;
उहाँले नै ज्ञानीलाई ज्ञान
र बुझ्‍नलाई समझ दिनुहुन्‍छ।
22उहाँले गहिरा-गहिरा कुरा र रहस्‍यका कुराहरू प्रकट गर्नुहुन्‍छ;
उहाँले नै अन्‍धकारमा के कुरा लुकेको छ भनी जान्‍नुहुन्‍छ
र उहाँ आफैं नै ज्‍योतिले पूर्ण हुनुहुन्‍छ।
23हे मेरा पिता-पुर्खाहरूका परमेश्‍वर,
म तपाईंलाई प्रशंसा गर्छु,
म तपाईंलाई आदर दिन्‍छु,
तपाईंले नै मलाई बल र बुद्धि दिनुभएको छ।
तपाईंले मलाई प्रार्थनाको उत्तर दिनुभएको छ
र तपाईंले राजाहरूलाई भन्‍नुपर्ने कुरा हामीलाई प्रकट गर्नुभएको छ।”
दानिएलले सपनाको अर्थ खोल्‍छन्
24तब दानिएल अर्योककहाँ गए, उनलाई राजाका सल्‍लाहकारहरूलाई मार्ने आज्ञा राजाले दिएका थिए। दानिएलले तिनलाई भने, “तिनीहरूलाई नमार्नुहोस्। मलाई राजाकहाँ लैजानुहोस् र म उनको सपनाको अर्थ बताइदिनेछु।”
25अर्योकले तुरुन्‍तै दानिएललाई राजा नबूकदनेसरका अघि हाजिर गरे र भने, “महाराज मैले एक जना यहूदी कैदीलाई भेटेको छु, जसले हजुरको सपनाको अर्थ हजुरलाई बताउन सक्‍छ।”
26राजाले दानिएललाई (जसको नाम बेलतसजर पनि थियो) भने, “मैले के सपना देखें र त्‍यसको अर्थ के हो? तिमीले मलाई बताउन सक्‍छौ त?”
27दानिएलले उत्तर दिए, “महाराज, यहाँ कुनै सल्‍लाहकार वा मन्‍त्र-तन्‍त्र गर्ने वा जादूगर वा ज्‍योतिषी छैन, जसले हजुरलाई त्‍यो बताउन सक्‍छ। 28तर स्‍वर्गमा एक परमेश्‍वर हुनुहुन्‍छ, जसले रहस्‍यका अर्थहरू खोलिदिनुहुन्‍छ। उहाँले नै भविष्‍यमा के हुनेछ, त्‍यो महाराजालाई बताइदिनुभएको हो। अब म हजुरलाई त्‍यो सपना अथवा हजुरले सुतेका बेलामा देख्‍नुभएको दर्शन के थियो, सो बताउनेछु।
29“हजुर सुत्‍नुभएको बेला भविष्‍यको बारेमा हजुरले सपना देख्‍नुभयो र रहस्‍य खोलिदिनुहुने परमेश्‍वरले पछि के हुने हो, सो हजुरलाई देखाइदिनुभएको हो। 30यो रहस्‍य अब मलाई स्‍पष्‍ट भएको छ। म अरूभन्दा बढ्ता बुद्धिमान् भएकोले होइन; तर महाराजाले आफ्‍नो सपनाको अर्थ जान्‍नुहोस् र आफ्‍ना मनका सोच-विचार बुझ्‍नुहोस् भनी यो रहस्‍य मलाई खोलिदिनुभएको छ।
31“महाराज, दर्शनमा हजुरले आफ्‍नो अघि एउटा चहकिलो र चम्किलो, हेर्दा डरलाग्‍दो विशाल मूर्ति देख्‍नुभयो। 32त्‍यसको शिर निखुर सुनको, छाती र पाखुराहरू चाँदीका, कम्‍मर र फिला काँसाका, 33गोडा फलामका र खुट्टा केही फलाम र केही माटो मिसिएर बनेका थिए। 34हजुरले हेरिरहनुहुँदा पहराबाट एउटा ठूलो ढुङ्गा मानिसले नछोई आफैं फुटेर आयो र मूर्तिको फलाम र माटोले बनेका खुट्टामा लाग्‍यो र त्‍यसले ती चकनाचुर पारिदियो। 35तुरुन्‍तै फलाम, माटो, काँसा, चाँदी र सुन जम्‍मै चकनाचुर भए र ती ग्रीष्‍मकालमा खलामा उडेको भुसझैँ धुलैधुलो भए। ती धूला बतासले उडाएर लग्यो र त्यसका नाम-निशानै रहेन। तर त्‍यो मूर्तिलाई लागेको ढुङ्गाचाहिँ बढ्दै गएर एउटा पहाड बनियो र त्‍यसले सारा पृथ्‍वी ढाक्‍यो।
36“सपना यही हो। अब महाराजलाई म त्‍यसको अर्थ बताउनेछु। 37महाराज! हजुर सबैभन्दा महान् राजा हुनुहुन्‍छ। स्‍वर्गका परमेश्‍वरले हजुरलाई राजाहरूमाथिका महाराजा बनाउनुभएर शक्ति, सामर्थ्‍य र मान दिनुभएको छ। 38उहाँले हजुरलाई मानिसले बास गरेको यो सारा पृथ्‍वी र यहाँ भएका सारा पशु-पक्षीहरूका शासक बनाउनुभएको छ। त्‍यो निखुर सुनको शिर हजुर नै हुनुहुन्‍छ। 39हजुरपछि अर्को एउटा साम्राज्‍य हुनेछ तर त्‍यो हजुर जति महान् हुनेछैन र त्‍यसपछि अर्को तेस्रो काँसाको साम्राज्‍य हुनेछ, जसले सारा पृथ्‍वीमाथि शासन गर्नेछ। 40त्‍यसपछि एउटा चौथो राज्‍य फलामजस्‍तै बलियो हुनेछ र त्‍यसले सबै कुरा तोडेर चुर-चुर पारिदिनेछ। जसरी फलामले सबै थोक चुर-चुर पार्दछ त्‍यसरी नै त्‍यसले अघिका सबै साम्राज्‍यहरूलाई चुर पारी छरपष्‍ट पार्नेछ। 41हजुरले खुट्टा र त्‍यसका औँलाहरू केही फलाम र केही माटा मिलेर बनेका पनि देख्‍नुभयो। त्‍यसको अर्थ यो हो कि त्‍यो एउटा टुक्रा-टुक्रा भएको साम्राज्‍य हुनेछ। त्‍यसमा केही मात्रामा फलामको बल रहनेछ किनभने दर्शनमा फलाम माटोसित मिसिएको थियो। 42केही फलाम र केही माटोले बनेका खुट्टाका औँलाको अर्थ यो हो कि साम्राज्‍यको केही भाग बलिया र अरू भाग दुर्बल हुनेछन्। 43हजुरले फलाम माटोसित मिसिएको पनि देख्‍नुभयो। त्‍यसको अर्थ हो, त्‍यस साम्राज्‍यका शासकहरूले जाति-जातिका मानिसहरूलाई एक बनाउन आपसमा बिहेबारी गरिदिनेछन्। तर तिनीहरू एक हुन सक्‍दैनन्, जसरी फलाम माटोसित मिल्‍न सक्‍दैन। 44ती शासकहरूका समयमा स्‍वर्गका परमेश्‍वरले एउटा कहिल्‍यै अन्‍त्‍य नहुने राज्‍य स्‍थापित गर्नुहुनेछ। त्‍यो राज्‍य कहिल्‍यै अरू जातिको हातमा जानेछैन; तर अरू राज्‍यहरूलाई पो त्‍यसले पूरा नष्‍ट गर्नेछ र त्‍यो राज्‍य आफैंचाहिँ सदाकाल रहिरहनेछ। 45हजुरले देख्‍नुभयो कि कसरी पहराबाट एउटा ढुङ्गा मानिसले नछोई फुटेर आई त्‍यसले फलाम, काँसा, माटो, चाँदी र सुनले बनेका मूर्तिलाई तोडेको थियो। सर्वमान्‍य परमेश्‍वरले भविष्‍यमा के हुनेछ, त्‍यो हजुरलाई देखाउँदै हुनुहुन्‍छ। हजुरले जस्‍तो सपना देख्‍नुभयो मैले त्‍यस्‍तै वर्णन गरिदिएँ र त्‍यसको सही अर्थ खोलिदिएँ।”
राजाले दानिएललाई इनाम दिन्‍छन्
46तब नबूकदनेसर राजाले भूइँसम्‍मै झुकेर दानिएललाई प्रणाम गरे र तिनको निम्‍ति बलि र भेटी चढाउने आज्ञा दिए। 47राजाले भने, “तिम्रा परमेश्‍वर सबै ईश्‍वरहरूभन्दा महान्, राजाहरूका पनि मालिक र रहस्‍य खोलिदिनुहुने परमेश्‍वर हुनुहुँदोरहेछ। म यो कुरो जान्‍दछु किनभने तिमीले यस रहस्‍यको अर्थ बताउन सक्‍यौ।” 48त्‍यसपछि तिनले दानिएललाई एउटा उच्‍च दर्जा दिए, धेरै बहुमूल्‍य उपहारहरू दिए, बेबिलोन प्रदेशका शासक नियुक्त गरे र राजाका सबै सल्‍लाहकारहरूका प्रधान बनाए। 49दानिएलले बिन्‍ती चढाएपछि राजाले शद्रक, मेशक र अबेद्‌नगोलाई बेबिलोन प्रदेशको शासनभार सुम्‍पे, तर दानिएलचाहिँ राजदरबारमा नै रहन लागे।

अहिले सेलेक्ट गरिएको:

दानिएल 2: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्