YouVersion लोगो
खोज आइकन

दानिएल 8

8
दानिएलले देखेका साँढ-भेडा र बोकाको दर्शन
1बेलसजर राजा भएको तेस्रो वर्षमा मैले अर्को एउटा दर्शन देखें। 2दर्शनमा मैले आफैंलाई अचानक एलाम प्रान्‍तको शूशन सहरमा पाएँ। शूशन सहरलाई चारैपट्टि पर्खालले घेरेको थियो। म ऊलै नदीको छेउमा उभिरहेको थिएँ। 3त्‍यहाँ नदीको तीरमा दुई लामा-लामा सिङ भएको एउटा साँढ-भेडा उभिरहेको देखें। त्‍यसको एउटा सिङ अर्कोभन्दा लामो र नयाँ थियो। 4त्‍यस भेडाले पश्‍चिम, उत्तर र दक्षिण गर्दै सिङले हानेको हेरिबसें। कुनै जन्‍तुले त्‍यसलाई रोक्‍न सक्‍दैनथ्‍यो न त त्‍यसको शक्तिबाट बाँच्‍न नै सक्‍थ्‍यो। त्‍यसले जे चाह्यो, त्‍यही गर्थ्‍यो र त्‍यो अझ हठी हुँदैगयो।
5त्‍यसको अर्थ के होला भनी मैले जब अचम्‍म मानिरहेको थिएँ, तब पश्‍चिम दिशाबाट एउटा बोको हानिएर आयो। त्‍यो बोको यति वेगले आयो कि त्‍यसको खुट्टाले भूइँ छोएको थिएन। त्‍यसका आँखाका बीचमा एउटा विशेष सिङ थियो। 6त्‍यो बोको नदीछेउ उभिरहेको साँढभेडातिर दगुरेर आयो र पूरा वेगले त्‍योमाथि हमला गर्‍यो। 7त्‍यसले साँढ-भेडामाथि हमला गरेको मैले हेरिरहे। त्‍यो रिसले यति साह्रो चुर भएको थियो कि त्‍यसले भेडालाई जोडसित हानेर त्‍यसका दुवै सिङ भाँचिदियो। अब साँढ-भेडाको त्‍योसित सामना गर्ने शक्ति थिएन। त्‍यो जमिनमा पछारियो र बोकोले त्‍यसलाई कुल्‍चीमिल्‍ची पार्‍यो। साँढभेडालाई बचाउन सक्‍ने त्‍यहाँ कोही थिएन।
8त्‍यो बोको झन् अहङ्कारी भयो र त्‍यो खुबै शक्तिशाली भएको बेला त्‍यसको सिङ भाँचियो। त्‍यसका सट्टामा चारै दिशापट्टि अलग-अलग फर्केका चार वटा विशेष सिङहरू उम्रे। 9ती चार वटा सिङमध्‍ये एउटाबाट सानो सिङ उम्र्यो र त्‍यसको शक्ति दक्षिण र पूर्वदिशातिर अनि प्रतिज्ञाको देशतिर फैलेर गयो। 10#प्रकाश 12:4त्‍यो यति शक्तिशाली भयो कि त्‍यसले स्‍वर्गका सेना र ताराहरूलाई हमला गर्‍यो र कति वटा तारालाई जमिनमा खसाली खुट्टाले कुल्‍च्‍यो। 11त्‍यसले स्‍वर्गका सेनाका सेनापतिसमान हुने घमण्‍ड गर्‍यो, उहाँलाई दिन-दिनै चढाइने बलिहरू बन्‍द गरिदियो र उहाँको मन्‍दिर अपवित्र तुल्‍यायो। 12दिनहुँ बलि चढाउनको सट्टामा मानिसहरूले त्‍यहाँ पाप गर्न थाले र साँचो धर्मलाई भूइँमा लत्त्याए। त्‍यसले गरेको सबै काममा त्‍यो सिङ सफल भयो।
13तब मैले एउटा स्‍वर्गदूतले अर्को स्‍वर्गदूतलाई यसरी प्रश्‍न गरेको सुनें, “यी दर्शनमा देखिएका कुराहरू कहिलेसम्‍म भइरहलान्? दिन-दिनका बलिका सट्टामा कहिलेसम्‍म डरलाग्‍दो पाप भइरहला? कहिलेसम्‍म स्‍वर्गका सेना र मन्‍दिर कुल्‍चीमिल्‍ची परिइरहलान्?”
14दोस्रो स्‍वर्गदूतले यस्‍तो जवाफ दिएको सुनें, “एक हजार एक सय पचास दिनसम्‍म यी कुराहरू भइरहनेछन्, ती दिनमा बेलुका र बिहानका बलिहरू चढाइनेछैन। त्‍यसपछि मन्‍दिर पहिले जस्‍तो थियो, त्‍यस्‍तै नै हुनेछ।”
गब्रिएल स्‍वर्गदूतले दर्शनको अर्थ खोल्‍छन्
15मैले त्‍यस दर्शनको अर्थ बुझ्‍ने कोसिस गरिरहेको थिएँ, अचानक त्‍यस बेला एउटा मानिसको स्‍वरूप मेरो सामुन्‍ने खडा भयो। 16#लूका 1:19,26अनि ऊलै नदीबाट यस्‍तो सोर आएको मैले सुनें, “ए गब्रिएल, यस मानिसलाई त्‍यसले देखेको दर्शनको अर्थ बताइदेऊ।” 17गब्रिएल आएर मेरो छेउमा उभिँदा म साह्रै डराएँ र भूइँमा लडें।
उनले मलाई भने, “ए मरणशील मानिस, त्‍यसको अर्थ बुझ। त्‍यस दर्शनले संसारको अन्‍त्‍यको समयबारे बताउँछ।” 18उनी बोल्‍दैगर्दा म अचेत भएर भूइँमा लडें र उनले मलाई समातेर उभ्‍याए। 19उनले भने, “परमेश्‍वरको क्रोधको नतिजा के हुनेछ, त्‍यो म तिमीलाई देखाउँदै छु। यस दर्शनको सम्‍बन्‍ध अन्‍त्‍यको समयसित छ।
20“तिमीले देखेको दुई-सिङ्गे साँढ-भेडाले मादी र फारसी राज्‍यहरू बुझाउँछ। 21बोकोले ग्रीस राज्‍य बुझाउँछ र त्‍यसका आँखाबीचको ठूलो सिङले त्‍यस राज्‍यको पहिलो राजा बुझाउँछ। 22पहिलेका सिङ भाँचिएर पछि उम्रेका चार वटा सिङहरूले चार वटा राज्‍यहरू बुझाउँदछन्, जुन चार वटा राज्‍यमा यो साम्राज्‍य बाँडिनेछ। ती राज्‍यहरू पहिलेको राज्‍यजस्‍तो प्रतापी हुनेछैनन्।
23“ती राज्‍यहरूको अन्‍त्‍य नजिक आइपुग्‍दा तिनीहरू यति दुष्‍ट भएका हुनेछन् कि तिनीहरूले दण्‍ड पाउनैपर्नेछ। तब एउटा अहङ्कारी, निर्दयी र छली राजा त्‍यहाँ हुनेछ। 24त्‍यो शक्तिशाली बन्‍नेछ तर आफ्‍नै पौरखले चाहिँ होइन। त्‍यसले डरलाग्‍दो विध्‍वंस मच्‍चाउनेछ र जुन काममा त्‍यसले हात हाल्‍छ त्‍यसमा सफल हुनेछ। त्‍यसले बलिया-बलिया मानिसहरू र परमेश्‍वरका प्रजामाथि विनाश ल्‍याउनेछ। 25त्‍यो चतुर हुनाले आफ्‍ना छली चालहरूमा सफल हुनेछ। त्‍यो घमण्‍डले फुलिनेछ र कुनै चेतावनी नदिई त्‍यसले धेरै मानिसहरूलाई नाश पार्नेछ। त्‍यसले सबैभन्दा महान् राजालाई समेत टेर्नेछैन; तर कुनै मानिसको शक्तिबिना नै त्‍यो नाश हुनेछ। 26तिमीलाई बताएका यी बिहान र बेलुकाका बलिसम्‍बन्‍धी दर्शन साँचो हुनेछ। तर अहिले यसलाई गुप्‍तमै राख किनभने धेरै दिनपछि मात्र यो पूरा हुनेछ।”
27केही दिनसम्‍म म उदास र बिसन्‍चो भएँ। त्‍यसपछि म उठें र राजाले खटाएको काममा फर्कें। तर त्‍यो दर्शनले गर्दा म अन्‍योलमा परें र त्‍यसको अर्थ मैले बुझ्‍न सकिनँ।

अहिले सेलेक्ट गरिएको:

दानिएल 8: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्