YouVersion लोगो
खोज आइकन

इजकिएल 29

29
मिश्रदेशबारे अगमवाणी
1 # यशैया 19:1-25; यर्मिया 46:2-26 हामी कैदी भई देशबाट निकालाबास भएको दशौँ वर्षको दशौँ महिनाको बाह्रौं दिनमा परमप्रभु मसित बोल्‍नुभयो। 2उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, मिश्रदेशका राजाको विरुद्धमा बोल्। त्‍यसले र मिश्रदेशले कस्‍तो दण्‍ड पाउनेछन्, त्‍यो त्‍यसलाई भन्। 3मिश्रदेशका राजालाई सार्वभौम परमप्रभुले यसो भन्‍दै हुनुहुन्‍छ भनी त्‍यसलाई सुना। म तेरो विरुद्धमा छु, ए नदीमा सुतिरहने राक्षस र अजिङ्गर, तँ भन्‍छस्, नील नदी मेरै हो, मैले त्‍यसलाई बनाएँ। 4म तेरो मुखमा बल्‍छी लाउनेछु र तेरा नदीका माछाहरू तेरै जिउमा टाँसिन लाउनेछु र ती टाँसिएका माछाहरूसँगै तँलाई नील नदीबाट तानी निकाल्‍नेछु। 5ती माछाहरूसमेत म तँलाई मरुभूमिमा फ्‍याँकिदिनेछु। तेरो शरीर जमिनमा लोट्‍नेछ र कसैले उठाई गाडिदिनेछैन। म तँलाई चरा-चुरुङ्गी र पशुहरूको आहारा हुन दिनेछु। 6#यशैया 36:6तब मिश्रका सबै बासिन्‍दाहरूले परमप्रभु म नै हुँ भनी जान्‍नेछन्।”
परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएलीहरूले सहाराको निम्‍ति तँ मिश्रदेशमाथि भर परे तर तँ भने एउटा कमजोर लहुरोसमान भइस्। 7तिनीहरू तँमा अडेस लाग्‍दा तँ भाँचिइस् र तिनीहरूका कोखामा भासिइस् र तिनीहरूका ढाड बटारिए। 8अब म सार्वभौम परमप्रभु तँलाई भन्‍दछु कि म तँमाथि तरवारले हमला गर्ने मानिसहरू ल्‍याउनेछु र तिनीहरूले तेरा मानिस र पशुहरू नाश गर्नेछन्। 9मिश्र एउटा रित्तो ध्‍वस्‍त भएको देश हुनेछ। तब तैँले जान्‍नेछस् कि परमप्रभु म नै हुँ।
“नील नदी मेरै हो, मैले त्‍यसलाई बनाएँ भनी तँ भन्‍दछस्। 10त्‍यसकारण म तेरो र नील नदीको विरुद्धमा छु। सारा मिश्रदेशलाई म रित्तो र ध्‍वस्‍त पार्नेछु। उत्तरमा मिग्‍दोलबाट लिएर दक्षिणमा आश्‍वानसम्‍म र कूश देशको सिमानासम्‍म त्‍यसलाई म उजाड पारिदिनेछु। 11त्‍यताबाट भएर कोही मानिस वा पशु हिंड्‍नेछैन। चालीस वर्षसम्‍म त्‍यहाँ कसैले बास गर्नेछैन। 12मिश्रदेशलाई म संसारमा सबैभन्दा उराठलाग्‍दो देश बनाउनेछु। चालीस वर्षसम्‍म मिश्रका सहरहरू ध्‍वस्‍त भइरहनेछन्। ध्‍वस्‍त भएका अरू सहरहरूको भन्दा त्‍यसको दशा ज्‍यादै खराब हुनेछ। मिश्रीहरलाई म देश-निकालाबास भई विदेशमा आश्रय खोज्‍नेहरू बनाउनेछु। तिनीहरूलाई देश-देशमा छरपष्‍ट बनाउनेछु।”
13सार्वभौम परमप्रभु भन्‍नुहुन्‍छ, “चालीस वर्ष बितेपछि मैले जाति-जातिहरूका बीचमा तितर-बितर पारेका मिश्रीहरूलाई म फर्काई ल्‍याउनेछु।
14र तिनीहरूका पुर्ख्‍यौली-थलो दक्षिण मिश्रमा बास गर्न दिनेछु। त्‍यहाँ तिनीहरू एउटा दुर्बल जाति भइरहनेछन्। 15सबैभन्दा तुच्‍छ जाति तिनीहरू नै हुनेछन् र तिनीहरूले कहिल्‍यै अरू जातिहरूमाथि शासन गर्न सक्‍नेछैनन्। म तिनीहरूलाई यति दुर्बल बनाउनेछु कि तिनीहरूले कुनै जातिलाई आफ्‍नो वशमा पार्न सक्‍नेछैन।
16फेरि इस्राएलले कहिल्‍यै तिनीहरूमाथि निर्भर गर्नेछैन। इस्राएललाई हामीले मिश्रमाथि भरोसा राखेकोमा कस्‍तो गलत काम गरेछौं भन्‍ने थाहा मिश्रको दुर्दशाले गराउनेछ। तब म नै सार्वभौम परमप्रभु हुँ भनी इस्राएलले जान्‍नेछ।”
मिश्रदेशमाथि नबूकदनेसर राजाको विजय
17हामी कैदी भई विदेशिएको सत्ताईसौँ वर्षको पहिलो महिनाको पहिलो दिन परमप्रभु मसित बोल्‍नुभयो। उहाँले भन्‍नुभयो, 18“ए मरणशील मानिस, बेबिलोनको राजा नबूकदनेसरले टुरोसमाथि हमला गर्‍यो। त्‍यसले आफ्‍ना सिपाहीहरूलाई यस्‍ता गह्रौं बोझ बोक्‍न लायो कि प्रत्‍येकको तालु खुइलियो र काँध पिल्‍सियो। तर त्‍यति कष्‍ट गरेर पनि न त राजाले न सेनाले केही पाउन सक्‍यो। 19अब म सार्वभौम परमप्रभु यसो भन्‍दछु, मिश्रदेश म नबूकदनेसर राजालाई दिंदै छु। त्‍यो देशलाई त्‍यसले लुटपिट गर्नेछ र मिश्रको सबै धन-सम्‍पत्ति आफ्‍नो सेनाको ज्‍याला तिर्न लैजानेछ। 20त्‍यसको सेवाको ज्‍यालामा म त्‍यसलाई मिश्रदेश दिंदै छु किनभने त्‍यसका सेनाले मेरो काम गरिरहेको थियो। म सार्वभौम परमप्रभु बोलेको छु।
21“यी कुरा भइसकेपछि म इस्राएलीहरूलाई शक्तिशाली बनाउनेछु र तँ इजकिएललाई तिनीहरूको माझमा सबैले सुन्‍नेगरी बोल्‍न दिनेछु र ती सुन्‍नेहरूले परमप्रभु म नै हुँ भनी जान्‍नेछन्।”

अहिले सेलेक्ट गरिएको:

इजकिएल 29: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्