होशे 11
11
विद्रोही प्रजालाई परमेश्वरको प्रेम
1 #
प्रस्थान 4:22; मत्ती 2:15 परमप्रभु भन्नुहुन्छ,
“इस्राएल एउटा बालक छँदा मैले
त्यसलाई प्रेम गरें
र त्यसलाई मेरो छोरोको रूपमा मिश्रबाट बोलाएँ।
2तर जति-जति मैले त्यसलाई बेलाएँ,
त्यति-त्यति नै त्यो मदेखि तर्क्यो। मेरा मानिसहरूले बाललाई बलि चढाए,
तिनीहरूले मूर्तिहरूलाई धूप बाले।
3तैपनि इस्राएललाई हिँड्न सिकाउने म नै थिएँ।
मैले आफ्ना मानिसहरूलाई मेरो हातले समातें;
तर मैले तिनीहरूलाई हेरचाह गरेको कुरा तिनीहरूले मानिलिएनन्।
4मैले तिनीहरूलाई आफूकहाँ माया र प्रेमले खिचेर ल्याएँ।
मैले तिनीहरूलाई उठाएँ र मेरो गालामा टसाएँ र तिनीहरूतिर निहुरेर मैले तिनीहरूलाई खुवाएँ।
5“तिनीहरू मकहाँ फर्कन मान्दैनन् यसैले तिनीहरू मिश्रदेशमा फर्की जानुपर्नेछ र अश्शूरले तिनीहरूमाथि राज्य गर्नेछ। 6तिनीहरूका सहरहरूको विरुद्धमा लडाइँ हुनेछन् र सहरका मूल-ढोकाहरू भत्काइनेछन्। तिनीहरूको विचारमा आफूलाई जे असल लाग्यो, त्यही गर्ने हुँदा मेरा प्रजा नाश हुनेछन्। 7तिनीहरू मबाट तर्किजाने जिद्दी गर्छन्। जुवामुनि परेर तिनीहरू चिच्याउनेछन् तर कसैले त्यो जुवा हटाइदिनेछैन।
8 #
व्यवस्था 29:23
“ए इस्राएल, तँलाई म कसरी छोड्न सक्छु र? कसरी म तँलाई त्याग्न सक्छु र? के म तँलाई अदमालाई झैँ नाश पार्न सक्छु र? कसरी म तँसित सबोयीमसँग झैँ व्यवहार गर्न सक्छु? त्यसो गर्न मेरो मन मान्दैमान्दैन। तँप्रति मेरो प्रेम साह्रै गहिरो छ।
9मेरो रिसमा मैले तिमीहरूलाई दण्ड दिनेछैनँ;
म इस्राएललाई फेरि सर्वनाश गर्नेछैनँ।
किनकि म परमेश्वर हुँ, मानिस होइनँ।
म परमपवित्र तिमीहरूको साथमा छु।
मेरो क्रोधमा म तिमीहरूकहाँ आउनेछैनँ।
10“मेरा प्रजाका शत्रुहरूमाथि म सिंहझैँ गर्जंदा, मेरा प्रजाले मलाई पछ्याउनेछन्। पश्चिमबाट तिनीहरू हतारसाथ मकहाँ आउनेछन्। 11मिश्रबाट चराहरूझैँ र अश्शूरबाट ढुकुरहरूझैँ तिनीहरू वेगले आउनेछन्। म तिनीहरूलाई फेरि तिनीहरूकै घरमा ल्याउनेछु। म परमप्रभुले बोलेको छु।”
इस्राएल र यहूदामाथि दण्डाज्ञा
12परमप्रभु भन्नुहुन्छ, “इस्राएलका मानिसहरूले मलाई झूट र छलले घेरेका छन् अनि यहूदाका मानिसहरूले म पवित्र र विश्वासयोग्य परमेश्वरसित अझै विद्रोह गरिरहेका छन्।
अहिले सेलेक्ट गरिएको:
होशे 11: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.