YouVersion लोगो
खोज आइकन

होशे 12

12
1“इस्राएलका मानिसहरूले बिहानदेखि रातीसम्‍म गरेको हरेक काम व्‍यर्थको र विनाशकारी छ। तिनीहरूका बीचमा छल, कपट र हिँसाका कामहरू बढिरहेछन्। तिनीहरूले अश्‍शूरसित सन्‍धि गर्छन् र मिश्रदेशमा जैतुनको तेल पठाउँछन्।”
2परमप्रभुले यहूदाका बासिन्‍दाहरूका विरुद्ध दोष लगाउनुहुन्‍छ। इस्राएललाई पनि त्‍यसका बासिन्‍दाहरूका कामको निम्‍ति उहाँले दण्‍ड दिनुहुनेछ। तिनीहरूका कामअनुसार उहाँले तिनीहरूलाई दण्‍ड दिनुहुनेछ। 3#उत्‍पत्ति 25:26#उत्‍पत्ति 32:24-26तिनीहरूका पुर्खा याकूबले आफ्‍ना जुम्‍ल्‍याहा दाइ एसावसित आमाको गर्भमा छँदाखेरि नै जुद्धै आए। ठूलो भएपछि पनि याकूबले परमेश्‍वरसित सङ्‍घर्ष गरे, 4#उत्‍पत्ति 28:10-22तिनले स्‍वर्गदूतसित लडाइँ गरेर जिते। तिनले रोएर आशिष् मागे। बेथेलमा परमेश्‍वर हाम्रा पुर्खा याकूबकहाँ आउनुभयो र उनीसित बोल्‍नुभयो। 5उहाँ नै परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्‍थ्‍यो। परमप्रभु नै त्‍यो नाउँ हो, जुन नाउँमा उहाँलाई पुजिन्‍छ। 6अब हे याकूबका सन्‍तान, आफ्‍ना परमेश्‍वरमा भरोसा राख र उहाँकहाँ फर्की आओ। प्रेम र न्‍याय कायम राख र धैर्यसाथ परमेश्‍वरको कामको बाटो हेर।
अरू दण्‍डका आज्ञा
7परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएली व्‍यापारीहरू झूटा छन् र आफ्‍ना ग्राहकलाई छली तराजुले ठग्‍न रुचाउँछन्। 8‘हामी धनी छौं, हामीले धन कमाएका छौं र कसैले हामीलाई बेइमानी गरेर धन कमाएको भन्‍न सक्‍दैन’ भनी तिनीहरू भन्‍छन्। 9#लेवी 23:42,43तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याउने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ। जसरी म उजाड-स्‍थानमा तिमीहरूलाई भेट्‍न आउँदा तिमीहरू बास गरिरहेका थियौ, त्‍यसरी नै तिमीहरूलाई फेरि पालमा बास गर्न लाउनेछु।
10“मैले अगमवक्ताहरूसित कुरा गरें र तिनीहरूलाई धेरै दर्शनहरू पनि दिएँ। अनि तिनीहरूद्वारा मैले मेरा प्रजालाई चेतावनी पनि दिएँ। 11तरै पनि गिलादमा अझै मूर्तिपूजा हुँदै छ र ती मूर्तिपूजा गर्नेहरू मर्नेछन्। गिलगालमा साँढेहरू बलि चढाइन्‍छन् र त्‍यहाँका वेदीहरू खुला मैदानका ढुङ्गाको थुप्रो बनिनेछन्।”
12 # उत्‍पत्ति 29:1-20 हाम्रा पुर्खा याकूब भागेर मेसोपोटामियाको अराममा गएका थिए। त्‍यहाँ बिहे गर्न उनले अर्को मानिसको चाकरी गर्नुपर्‍यो र उनका भेडाहरूको गोठालो भए। 13#प्रस्‍थान 12:50,51मिश्रको दासत्‍वबाट इस्राएलका मानिसहरूलाई छुटकारा दिन र उनीहरूको हेरचाह गर्न परमप्रभुले एउटा अगमवक्ता पठाउनुभयो। 14इस्राएलका मानिसहरूले परमप्रभुलाई साह्रै रिस उठाएका छन्। आफ्‍ना पापको निम्‍ति तिनीहरू मृत्‍यु-दण्‍ड पाउन लायक छन्। तिनीहरूले परमप्रभुमाथि ल्‍याएका अपमानको निम्‍ति उहाँले तिनीहरूलाई दण्‍ड दिनुहुनेछ।

अहिले सेलेक्ट गरिएको:

होशे 12: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्