YouVersion लोगो
खोज आइकन

होशे 2

2
1तिमीहरू आफ्‍ना इस्राएली दाजु-भाइहरूलाई ‘अम्‍मी’ (मेरा प्रजा) र दिदी-बहिनीहरूलाई ‘रूहामा’ (मेरा प्रिय) भन।
गोमेर र इस्राएलको विश्‍वासघात
2ए मेरा छोरा-छोरीहरू हो, आफ्‍नी आमासित बहस गर, हुन त ऊ अब मेरी स्‍वास्‍नी होइन, न त म उसको लोग्‍ने हुँ। उसित बहस गरेर भन कि उसले आफ्‍नो व्‍यभिचार र वेश्‍यावृत्ति छोडोस्। 3होइन भने उसको जन्‍म-दिनमा झैँ म उसलाई नाङ्गो पार्नेछु। म उसलाई मरुभूमिजस्‍तै उजाड र सुखा पार्नेछु र ऊ तिर्खाले मर्नेछ। 4-5उसका छोरा-छोरीहरूमाथि म दया देखाउनेछैनँ। तिनीहरू लाज पचेकी एक वेश्‍याका सन्‍तान हुन्। ऊ आफैंले यसो भनी, “म मेरा प्रेमीहरूकहाँ जानेछु, जसले मलाई खानपान, ऊनी र नरम सुती कपडा, जैतुनको तेल र दाखमद्य दिनेछन्।”
6यसकारण काँडाको बार लाएर म त्‍यसलाई थुन्‍नेछु र एउटा पर्खाल खडा गरेर त्‍यसको बाटो छेक्‍नेछु। 7त्‍यसले आफ्‍ना प्रेमीहरूलाई खेदी हिँड्छे तर भेट्दिन। त्‍यसले तिनीहरूलाई खोज्‍छे तर पाउँदिन। तब त्‍यसले यसो भन्‍छे, “म आफ्‍नो पहिलेकै लोग्‍नेकहाँ फर्केर जानेछु किनकि मेरो पहिलेको अवस्‍था अहिलेको भन्दा असल थियो।”
8अन्‍न, दाखमद्य, जैतुनको तेल, सुन र चाँदी दिने म नै हुँ भनी त्‍यसले कहिल्‍यै मानेकी छैन जुन कुराहरू त्‍यसले बाल-देवताको पूजामा चढाएकी थिई। 9यसकारण मैले त्‍यसलाई दिएका अन्‍न र दाखमद्य अनि पहिरन दिएका ऊन र मिहिन सुतीका वस्‍त्रहरू कटनीको समयमा खोस्‍नेछु। 10त्‍यसका प्रेमीहरूका अघि म त्‍यसको लुगा फुकालेर नाङ्गो पार्नेछु र कसैले त्‍यसलाई मेरो हातबाट बचाउन सक्‍नेछैन। 11त्‍यसका सबै उत्‍सवहरू-औंसीको वार्षिक चाड-पर्व र विश्राम-दिनका खुसीयाली र धार्मिक सभाहरू म बन्‍द गरिदिनेछु। 12त्‍यसका दाखबारी र नेभाराघारीहरू, जुन आफ्‍ना प्रेमीहरूको सेवा गरेर मैले पाएको हुँ भनी त्‍यसले भन्‍छे, म नाश पारिदिनेछु। म त्‍यसका दाखबारीहरू र फलका बगैँचाहरू उजाड पारिदिनेछु, जङ्गली जनावरहरूले ती नाश पार्नेछन्। 13जुन समयमा त्‍यसले बाल-देवतालाई धूप चढाएकी थिई र गरगहनाले सजिएर आफ्‍नो प्रेमीहरूका पछि लागी र मलाई बिर्सी, त्‍यसको निम्‍ति म त्‍यसलाई दण्‍ड दिनेछु। परमप्रभु बोल्‍नुभएको छ।
आफ्‍ना प्रजाप्रति परमप्रभुको प्रेम
14यसकारण म त्‍यसलाई फेरि उजाड-स्‍थानमा पुर्‍याउनेछु र त्‍यहाँ प्रेमको कुरा गरेर म फेरि त्‍यसको मन जित्‍नेछु। 15#यहोशू 7:24-26त्‍यसका दाखबारीहरू म त्‍यसैलाई फर्काइदिनेछु र दु:ख-कष्‍टको बेसीलाई आशाको ढोका तुल्‍याईदिनेछु। त्‍यहाँ त्‍यसले आफ्‍नो जवानीको दिनमा झैँ र मिश्रदेशबाट आएको दिनमा जस्‍तै मप्रति आफ्‍नो मन फर्काउनेछ। 16तब फेरि त्‍यसले मलाई आफ्‍नो लोग्‍ने भन्‍नेछ तर तपाईं ‘मेरो बाल’ भनी कहिल्‍यै भन्‍नेछैन। 17म त्‍यसलाई फेरि कहिल्‍यै बालको नाम लिन दिनेछैन।
18त्‍यस बेला म सबै जङ्गली जनावरहरू र चरा-चुरुङ्गीहरूसित मेरा प्रजालाई तिनीहरूले कुनै हानि नगरून् भनी एउटा करार बाँध्‍नेछु। देशबाट सबै लडाइँका हात-हतियारहरू, तरवारहरू र धनुहरू म हटाउनेछु र मेरा प्रजालाई शान्‍ति र सुरक्षाका साथ बास गर्न दिनेछु।
19ए इस्राएल, म तँलाई मेरी स्‍वास्‍नी बनाउनेछु।
म तेरो साँचो र विश्‍वासयोग्‍य लोग्‍ने हुनेछु।
म तँलाई निरन्‍तर प्रेम र दया देखाउनेछु।
सधैँको लागि तँ मेरो हुनेछस्।
20मेरो प्रतिज्ञा पूरा गरी तँलाई आफ्‍नै बनाउनेछु
र तैँले मलाई परमप्रभु भनी स्‍वीकार्नेछस्।
21-22त्‍यस बेला मेरा प्रजा इस्राएलका प्रार्थनाको उत्तर दिनेछु।
म जमिनमा धेरै वर्षा पठाउनेछु
र जमिनले अन्‍न, दाख र जैतुन उब्‍जाउनेछ।
23 # रोमी 9:25; १ पत्रुस 2:10 यही देशमा म मेरो प्रजालाई बसाल्‍नेछु
र त्‍यहाँ तिनीहरूको फलिफाप हुनेछ।
‘माया नगरिएकी’ लाई म मेरो माया देखाउनेछु,
‘मेरो प्रजा होइन’ लाई “तिमीहरू मेरा प्रजा हौ,” भन्‍नेछु।
र तिनीहरूले “तपाईं हाम्रा परमेश्‍वर” भन्‍नेछन्।

अहिले सेलेक्ट गरिएको:

होशे 2: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्