यशैया 40
40
सान्त्वनाको वचन
1तिमीहरूका परमेश्वर भन्नुहुन्छ,
“मेरा प्रजालाई सान्त्वना देऊ!
तिनीहरूलाई सान्त्वना देऊ!
2यरूशलेमका मानिसहरूलाई साहस देओ,
तिनीहरूलाई भन कि तिनीहरूले लामो समयदेखि कष्ट भोगेका छन्
र अहिले तिनीहरूका पाप क्षमा भएको छ।
तिनीहरूका पापको लागि मैले
तिनीहरूलाई पूरा दण्ड दिएको छु।”
3 #
मत्ती 3:3; मर्कूस 1:3; यूहन्ना 1:23 #
लूका 3:4-6
एउटा आवाज सुनिन्छ,
“उजाड-स्थानमा परमप्रभुको निम्ति एउटा बाटो तयार पार!
मरुभूमिमा हाम्रा परमेश्वरको निम्ति एउटा बाटो सीधा पार!
4हरेक बेसीमा माटो भर,
हरेक पर्वत होच्याओ?
डाँडाहरू मैदान बनिनेछन्
र खाल्टा-खुल्टी जमिन समतल पारिनेछ।
5तब परमप्रभुको महिमा प्रकट हुनेछ,
सबै मानिसहरूले एकसाथ देख्नेछन्
किनभने परमप्रभु आफैंले यस्तो प्रतिज्ञा गर्नुभएको छ।”
6 #
याकूब 1:10,11; १ पत्रुस 1:24,25 एउटा सोर सुनिन्छ, “एउटा खबर जोडले सुनाऊ!”
“कस्तो खबर सुनाऊँ?” म सोध्दछु।
“सबै मानिसहरू घाँसजस्ता छन्,
तिनीहरूको आयु जङ्गलको फूलजस्तै छ भनी सुनाऊ।
7घाँस सुकिजान्छ, फूल झरिहाल्छ
किनकि परमप्रभुले तीमाथि बतास बहाउनुहुन्छ,
साँच्चै मानिसहरू घाँसजस्ता छन्।
8हो, घाँस सुकिजान्छ र फूल झरिहाल्छ,
तर हाम्रा परमेश्वरको वचन सधैँभरि रहन्छ।”
9हे यरूशलेम, अग्लो पर्वतमाथि जा र यो शुभ समाचार सुना!
हे सियोन, ठूलो सोर उचाल् र यो शुभ समाचार भन्!
नडराई बोल्।
यहूदा सहरलाई भन् कि तिनीहरूका परमेश्वर आउँदै हुनुहुन्छ!
10 #
यशैया 62:11; प्रकाश 22:12 हेर, शक्तिसाथ राज्य गर्न सार्वभौम परमप्रभु आउँदै हुनुहुन्छ,
उहाँको इनाम र प्रतिफल उहाँसँगै छ,
11 #
इजकिएल 34:15; यूहन्ना 10:11 उहाँले आफ्नो बगाललाई गोठालाले झैँ समाल्नुहुनेछ,
थुमाहरूलाई एकसाथ भेला गरी अँगालोमा लिनुहुनेछ,
तिनका माऊहरूलाई बिस्तारै डोर्याउनुहुनेछ।
इस्राएलका अद्वितीय परमेश्वर
12के कसैले समुद्रलाई आफ्नो
हत्केलाले वा आकाशलाई आफ्नो हातले नाप्न सक्छ?
के कसैले पृथ्वीको माटो डालोमा राख्न वा डाँडा र पर्वत तराजुले जोख्न सक्छ?
13 #
रोमी 11:34; १ कोरिन्थी 2:16 के कसैले परमप्रभुलाई के काम गर्नुपर्छ सिकाउन सक्छ?
कसले उहाँलाई शिक्षा वा अर्ती दिन सक्छ?
14कुन काम कसरी गर्नुपर्ने हो,
त्यो जान्न, बुझ्न वा सिक्नलाई
परमेश्वरले कसको सल्लाह लिनुहुन्छ?
15परमेश्वरको निम्ति जाति-जातिहरू केही होइनन्,
ती एक थोपो पानीभन्दा बढी होइनन्।
उहाँको निम्ति टाढाका टापुहरू धुलोझैँ हलुङ्गा छन्।
16हाम्रा परमेश्वरलाई बलि चढाउन
लेबनानका जङ्गलका सबै पशुहरू थोरै हुन्छ
र त्यहाँका रूखहरू आगो सल्काउन पुग्दैन।
17जातिहरू उहाँको निम्ति केही पनि होइनन्।
18 #
प्रेरित 17:29
परमेश्वरलाई कोसित तुलना गर्न सकिन्छ?
के उहाँलाई कसैको रूपसँग दाँज्न सक्छौ?
19कारिगरले बनाएको वा सुनारले सुनले
मोहोरेर दायाँ-बायाँका सिक्रीले सजाएको मूर्तिजस्तो त उहाँ हुनुहुन्न।
20सुन र चाँदीले मूर्ति बनाउन नसक्ने मानिसले नसड्ने काठ रोज्दछ,
नढल्ने मूर्ति बनाउन उसले एउटा सिपालु कारिगर खोज्दछ।
21के तिमी जान्दैनौ?
के तिमीलाई उहिले नै भनिएन?
पृथ्वी सुरु कसरी भयो,
के तिमीले सुनेका छैनौ?
22पृथ्वीमाथि आकाशभन्दा उच्चमा आफ्नो सिंहासनमा विराजमान हुनुहुनेले त्यो बनाउनुभएको हो,
तलका मानिसहरू फटेङ्ग्राजस्ता छन्।
बास बस्नलाई पाल टाँगेजस्तो वा पर्दा टाँगेजस्तो
उहाँले आकाशलाई टाँग्नुभयो।
23उहाँले शक्तिशाली राजाहरूलाई होच्याउनुहुन्छ
र तिनीहरूलाई बेकम्मा बनाउनुहुन्छ।
24तिनीहरू भर्खरै पलाएका र जमिनमा जरा हाल्न लागेका टुसाजस्ता हुन्छन्,
परमप्रभुले बतास पठाउनुहुँदा ती सुकिजान्छन्
र भुसझैँ उडिजान्छन्।
25पवित्र परमेश्वरको तुलना कोसित गर्न सकिन्छ?
उहाँजस्तो अरू कोही छ?
26आकाशतिर हेर! तिमीले देखेका ताराहरू कसले बनाए?
उहाँले ती असङ्ख्य ताराहरूलाई पनि
गन्ती गरी नाउँ काढेर बोलाउनुहुन्छ!
उहाँको महान् शक्तिले गर्दा
तीमध्ये एउटा पनि छोडिनेछैन!
27हे इस्राएल, परमप्रभुले मेरो दु:ख बुझ्नुहुन्न,
मैले अन्याय भोगेको वास्ता गर्नुहुन्न भनी तँ किन दु:ख पोखाउँछस्?
28के तँ जान्दैनस्? के सुनेको छैनस्?
परमप्रभु अनन्तको परमेश्वर हुनुहुन्छ,
उहाँले सारा संसार बनाउनुभयो।
उहाँ कहिल्यै थाक्नुहुन्न, कहिल्यै गल्नुहुन्न,
उहाँका विचार कसैले बुझ्दैनन्।
29उहाँले थाकेका र दुर्बल भएकाहरूलाई बल दिनुहुन्छ।
30जवानहरू पनि दुर्बल हुन्छन्,
जवानहरू थाकेर लड्छन्,
31तर ज-जसले परमप्रभुमाथि मद्दतको लागि भरोसा राख्दछन्,
तिनीहरूले फेरि नयाँ बल पाउँदछन्।
तिनीहरू चिलझैँ मास्तिर उड्नेछन्। दगुरेर पनि थाक्नेछैनन्।
तिनीहरू हिँड्नेछन् तर गल्नेछैनन्।
अहिले सेलेक्ट गरिएको:
यशैया 40: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.