YouVersion लोगो
खोज आइकन

यशैया 7

7
आहाज राजालाई सन्‍देश
1 # २ राजा 16:5; २ इतिहास 28:5,6 योतामका छोरा उज्‍जियाहको नाति आहाज यहूदाका राजा छँदा एउटा लडाइँ भयो। अरामका राजा रसीन र इस्राएलका राजा रमल्‍याहका छोरा पेकहले मिलेर यरूशलेममाथि आक्रमण गरे तर तिनीहरूको जित भएन।
2अरामका सेना इस्राएल देशमा पसिसके भन्‍ने खबर पाएर यहूदाका राजा र सारा प्रजा यति साह्रो डराए कि तिनीहरू बतासले रूखहरू हल्‍लिएझैँ थरथरी भए।
3परमप्रभुले यशैयालाई भन्‍नुभयो, “तेरो छोरो शार्यासूबलाई लिएर आहाज राजालाई भेट्‍न जा। तैँले बाटोमा धोबीको खेतमा जहाँनिर माथिल्‍लो पोखरीबाट पानी ल्‍याउने कुलो टुङ्गिएको छ, त्‍यहाँ उसलाई भेट्टाउनेछस्। 4उसलाई होशियार र शान्‍त भई बस्‍नू अनि नडराउनू र विचलित नहुनू भन्। राजा रसीन र त्‍यसका अरामवासीहरूका र राजा पेकहको क्रोध दुई वटा जल्‍न लागेका दाउराबाट उठेका धुवाँ जति पनि खतरनाक छैन। 5अरामले इस्राएल र त्‍यसका राजासित मिलेर एउटा जाल रचेको छ। 6तिनीहरू यहूदामाथि आक्रमण गरी त्‍यहाँका मानिसहरूलाई तर्साई आफूसित मिलाएर ताबेलका छोराहरूलाई राजगद्दीमा बसाल्‍न चाहन्‍छन्।
7“तर म परमप्रभु भन्‍दछु कि त्‍यसो कहिल्‍यै हुनेछैन? 8किन हुनेछैन? किनभने अराम त्‍यसको राजधानी दमस्‍कसभन्दा बलियो छैन र दमस्‍कसचाहिँ राजा रसीनभन्दा बलियो छैन। इस्राएलचाहिँ पैंसट्ठी वर्षभित्र यस्‍तो किसिमले धुलोपीठो हुनेछ कि त्‍यो एउटा राष्‍ट्रको रूपमा बाँच्‍न सक्‍नेछैन। 9इस्राएल त्‍यसको राजधानी सामरियाभन्दा बलियो छैन र सामरिया राजा पेकहभन्दा बलियो छैन।
“तिमीहरूको विश्‍वास टिक्‍न सकेन भने तिमीहरू पनि टिक्‍न सक्‍नेछैनौ।”
इम्‍मानुएलको चिनो
10परमप्रभुले आहाजलाई अर्को एउटा सन्‍देश पठाउनुभयो, 11“तेरा परमेश्‍वर परमप्रभुबाट एउटा चिनो माग्। त्‍यो चिनो पातालको गहिराइबाट होस् वा स्‍वर्गको उचाइबाट होस्।”
12आहाजले उत्तर दिए, “म चिनो माग्‍नेछैनँ। म परमप्रभुको जाँच गर्नेछैनँ।”
13यशैयाले उत्तर दिए, “हे दाऊदका सन्‍तान अब सुन, तिमीहरूले मानिसहरूको धैर्यलाई जाँचेर पुगेन, के अब परमेश्‍वरको धैर्यलाई पनि जाँच्‍ने? 14#मत्ती 1:23यसकारण परमप्रभु आफैंले तिमीलाई एउटा चिनो दिनुहुनेछ; एउटी कन्‍या गर्भवती हुनेछ र एउटा छोरो जन्‍माउनेछ र उसको नाम ‘इम्‍मानुएल’ राखिनेछ। 15आफ्‍ना कुराको निर्णय आफैंले गर्न सक्‍ने उमेर भएपछि उसले दूध र मह खानेछ। 16त्‍यसको अघि नै तिमीलाई तर्साउने दुई राजाहरूका देश उजाड हुनेछन्।
17“परमप्रभुले तिमी, तिम्रा प्रजा र सारा राज-परिवारमाथि सङ्कष्‍टका दिन ल्‍याउनुहुनेछ। त्‍यस्‍ता दिन यहूदाबाट इस्राएलको राज्‍य छुट्टिएको दिनदेखि आजसम्‍म आएको छैन। उहाँले अश्‍शूरका राजालाई देशमाथि आक्रमण गर्न ल्‍याउनुहुनेछ।
18“त्‍यो दिन आउँदा परमप्रभुले सुसेली मारेर मिश्रीहरूलाई नील नदीका टाढा-टाढाका भङ्‌गालाहरूबाट झिँगा झैँ र अश्‍शूरहरूलाई तिनीहरूका देशबाट मौरीहरू झैँ आउने सङ्केत दिनुहुनेछ। 19तिनीहरू आएर रूखा बेसीहरू र चट्टानका ध्‍वान्‍द्राहरूमा बस्‍नेछन् र तिनीहरूले सबैका घारी र नहरहरू भरिनेछन्।
20“त्‍यो समय आउँदा परमप्रभुले यूफ्रेटिस नदीका पारिपट्टिबाट एउटा छुरा अर्थात् अश्‍शूरका राजालाई ल्‍याउनुहुनेछ र तिनले तिम्रा दाह्री, टाउकोको केश र शरीरका रौं खौरिदिनेछन्।
21“त्‍यो समय आउँदा कुनै एउटा किसानले खालि एउटा गाई र एक जोर बाख्रा बचाएर राख्‍नेछ भने 22तिनीहरूले यति धेरै दूध दिनेछन् कि उसलाई दूधको कमी हुनेछैन। देशमा बाँचेका थोरै मानिसहरूले दूध र मह खानेछन्।
23“त्‍यो समय आएपछि एक हजार चाँदीका टुक्राको दाम पर्ने एक हजार दाखका बोट भएका असल दाखबारीहरूमा काँडे-झ्‍याङ र काँडे-फूलहरू उम्रेर भरिनेछन्। 24मानिसहरूले धनुकाँड लिएर त्‍यहाँ शिकार खेल्‍न जानेछन् अनि सारा देश काँडे-घारी र काँडे-फूलले भरिनेछन्। 25अन्‍न बालीले भरिने डाँडा-काँडा यति धेरै काँडाले ढाकिनेछन् कि त्‍यहाँ कोही जान सक्‍नेछैन। ती गाई-वस्‍तुहरू र भेडाहरूका चरन बनिनेछन्।”

अहिले सेलेक्ट गरिएको:

यशैया 7: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्