YouVersion लोगो
खोज आइकन

न्यायकर्ता 14

14
शिमशोन र तिम्‍नाकी केटी
1एक दिन शिमशोन तिम्‍नामा गए। त्‍यहाँ उनले एउटी पलिश्‍ती केटी देखे। 2उनी घर फर्केर आए र आफ्‍ना आमा-बुबालाई भने, “तिम्‍नामा मैले एउटी पलिश्‍ती केटी देखें। म त्‍योसँग विवाह गर्न चाहन्‍छु। तिनलाई मेरो निम्‍ति ल्‍याइदिनुहोस्।”
3तर उनका आमा-बुबाले सोधे, “खतना नगर्ने पलिश्‍तीहरूका बीचदेखि तैँले स्‍वास्‍नी ल्‍याउनुपर्छ? हाम्रै कुलमा, हाम्रै जातिमा एउटी केटी पाउन सकिनस्?” तर शिमशोनले बुबालाई भने, “मलाई त्‍यही केटी मन पर्‍यो। मलाई त्‍यही केटी ल्‍याइदिनुहोस्।”
4परमप्रभुले शिमशोनलाई त्‍यसो गर्न लाउँदै हुनुहुन्‍छ भनी उसका आमा-बुबाले चाल पाएनन्। पलिश्‍तीहरूसँग लडाइँ गर्नलाई उहाँले एउटा उपाय निकाल्‍दै हुनुहुन्‍थ्‍यो। तिनताका पलिश्‍तीहरूले इस्राएलमाथि राज गर्दथे।
5तब आफ्‍ना आमा-बुबासँग शिमशोन तिम्‍नामा गए। दाखबारीबाट भएर जाँदैगर्दा उनले एउटा जवान सिंह गर्जेको सुने। 6परमप्रभुको शक्ति त्‍यति बेला झट्टै शिमशोनमा उत्रियो र खालि हातले त्‍यस सिंहलाई पक्रेर एउटा पाठोलाई जस्‍तै उनले च्‍यातचुत्त पारिदिए। आफूले गरेको यो काम उनले आमा-बुबालाई सुनाएनन्।
7तब गएर उनले त्‍यो केटीसँग कुरा गरे। उनले त्‍यसलाई मन पराए। 8केही दिनपछि त्‍यो केटीसँग विवाह गर्न शिमशोन त्‍यहाँ गए। त्‍यसरी जाँदा उनी बाटो छोडेर अघि आफूले मारेको सिंहलाई हेर्न गए। सिंहको शरीरमा मह, एक हुल मौरी र चाका देखेर उनी छक्‍कै परे। 9उनले हातले केही मह काढेर लिए र हात चाट्दै बाटो लागे। आफ्‍ना आमा-बुबालाई भेटेर उनले तिनीहरूलाई पनि मह दिए र तिनीहरूले पनि मह खाए। तर मरेको सिंहको शरीरबाट त्‍यो मह काढी निकालेको कुरा शिमशोनले आफ्‍ना आमा-बुबालाई बताएनन्।
10उसका बुबा त्‍यस केटीको घर गए। शिमशोनले त्‍यहाँ एउटा भोज लगाए। त्‍यहाँका युवाहरूको बीचमा त्‍यस्‍तै चलन थियो। 11जब पलिश्‍तीहरूले शिमशोनलाई देखे, तिनीहरूले तीस जना युवाहरूलाई उनको साथ दिनलाई पठाए। 12-13शिमशोनले तिनीहरूलाई भने, “तिमीहरू एउटा अड्को सुन, म भन्‍छु। यस अड्कोको अर्थ फुकाउन सक्‍यौ भने म एक-एक सरो मिहिन सुतीका कपडा र एक-एक सरो लाउने वस्‍त्र तिमीहरूलाई दिनेछु, नत्र तिमीहरूले मलाई दिनुपर्नेछ। तर यसको अर्थ विवाहको भोज चल्‍ने सात दिनभित्रमा तिमीहरूले खोल्‍नुपर्नेछ।” तिनीहरूले भने, “तिमीले आफ्‍नो अड्को भन, हामी सुन्‍नेछौं।”
14उनले भने,
“खानेको जिउबाट खानेकुरा निस्‍क्‍यो;
बलियोको जिउबाट मीठो कुरा निस्‍क्‍यो।”
तीन दिनको अन्‍तमा पनि तिनीहरूले त्‍यसको अर्थ लगाउन सकेनन्।
15चौथो दिनमा तिनीहरूले शिमशोनकी स्‍वास्‍नीलाई भने, “चलाकी गरेर तिम्रो लोग्‍नेदेखि अड्कोको अर्थ थाहा लगाऊ, नत्र हामी तिम्रो बुबाका घरमा आगो लगाइदिनेछौं र त्‍योसँग तिमीलाई पनि भस्‍म पार्नेछौं। तिमी दुईले हामीलाई यहाँ ठग्‍नलाई निम्‍त्‍याएका होइनौ र?”
16शिमशोनकी स्‍वास्‍नी रुँदै उसकहाँ गई र भनी, “तपाईंले मलाई माया गर्नुहुन्‍न। तपाईंले मलाई घृणा मात्र गर्नुहुन्‍छ। तपाईंले मेरा साथीहरूलाई एउटा अड्को थाप्‍नुभएको छ। तर त्‍यसको अर्थ मलाई बताउनुभएको छैन।”
उनले भने, “हेर, मैले मेरा आमा-बुबालाई पनि भनेको छैनँ। तिमीलाई किन भन्‍थें?” 17भोजको सात दिनसम्‍म त्‍यसको लागि उनकी स्‍वास्‍नी रोइरही। तर सातौँ दिनमा शिमशोनले अड्कोको अर्थ स्‍वास्‍नीलाई बताइदिए, कारण यसबारे त्‍यसले साह्रै जिद्दी गरेकी थिई। त्‍यसले त्‍यो अर्थ पलिश्‍तीहरूलाई बताइदिई। 18सातौँ दिनमा शिमशोन सुत्‍ने कोठामा जान लाग्‍दा सहरबासीहरूले उनलाई भने,
“महभन्दा के मीठो?
सिंहभन्दा को बलियो?”
शिमशोनले उत्तर दिए,
“मेरी कोरलीलाई नजोतेको भए, तिमीहरूले अर्थ जान्‍ने थिएनौ।”
19अचानक परमप्रभुको शक्तिले शिमशोन बलवान् भए र उनी अश्‍कलोनमा गए। त्‍यहाँ उनले तीस जना मानिसहरू मारे र तिनीहरूका वस्‍त्र काढी ती अड्को फुकाउने मानिसहरूलाई दिए। त्‍यसपछि रिसले चुर भएर उनी घर फर्के। 20उनको विवाहमा लोकन्‍ते हुने मानिससँग उसकी स्‍वास्‍नीको विवाह भयो।

अहिले सेलेक्ट गरिएको:

न्यायकर्ता 14: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्