न्यायकर्ता 9
9
अबीमेलेक
1गिदोनका छोरा अबीमेलेक आफ्ना मावलीको सहर शकेममा गए। 2त्यहाँ आफ्ना मामाहरूलाई शकेमका मानिसहरूसँग उनले यो सोध्न लगाए, “तिमीहरू के माग्दछौ? गिदोनका सत्तरी जना छोराहरूले तिमीहरूमाथि राज गरून् कि एकै जनाले मात्र गरोस्? अबीमेलेक त हाम्रै हाड र मासु हो।” 3शकेमबासीहरूसँग यसबारे उसका मामाहरूले कुराकानी गरे। तिनीहरूले अबीमेलेकलाई पछ्याउने पक्का गरे, कारण उनी आफन्त थिए। 4बाल-बरीतको मन्दिरबाट सत्तरी वटा चाँदीका सिक्का तिनीहरूले उनलाई दिए। तीबाट अबीमेलेकले एक दल बेकम्मा साहसी मानिसहरूलाई भाडामा लिए। 5उनी ओप्रामा आफ्ना पिताको घर गए र त्यहाँ उनले एउटै ढुङ्गामाथि आफ्ना सत्तरी जना दाजुभाइहरू अर्थात् गिदोनका छोराहरूलाई मारे। तर एक भाइ गिदोनको कान्छो छोरो योतामचाहिँ लुकेर बस्यो र मारिएन। 6शकेम र बेथ-मिल्लोका सबै मानिसहरू भेला भएर शकेममा पवित्र फलाँटको रूखको एक छेउ गए। तिनीहरूले त्यहाँ अबीमेलेकलाई आफ्ना राजा बनाए। 7जब यो कुरो योतामले सुन्यो, ऊ गीरीज्जीम पहाडको टुप्पामा उभियो र उच्च सोरले भन्यो, “हे शकेमबासीहरू हो! मेरो कुरा सुन र परमेश्वरले तिमीहरूका कुरा सुनून्। 8एकपल्ट रूखहरू आफ्ना लागि एउटा राजा चुन्नलाई निस्के। तिनीहरूले जैतुनको रूखलाई भने ‘तिमी हाम्रा राजा होऊ।’ 9जैतुनको रूखले उत्तर दियो, ‘तिम्रा राजा बन्न मैले आफ्नो तेल निकाल्न बन्द गर्नुपर्छ। मेरो तेल राजा र देवताहरूलाई आदर दिनलाई चलाइन्छ।’ 10तब तिनीहरूले नेभाराको रूखलाई भने ‘तिमी आऊ र हाम्रा राजा होऊ।’ 11तर नेभाराको रूखले उत्तर दियो, ‘तिम्रा राजा बन्नलाई मैले आफ्ना स्वादिला फल फलाउन बन्द गर्नुपर्छ।’ 12तब रूखहरूले दाखका बोटलाई भने, ‘तिमी आएर हाम्रा राजा बन।’ 13तर दाखका बोटले उत्तर दियो, ‘तिमीहरूमाथि राज गर्दा मैले आफ्नो दाख फलाउने काम बन्द गर्नुपर्छ। दाखमद्यले मानिस र देवताहरू प्रसन्न हुन्छन्।’ 14यसकारण सबै रूखहरूले काँढाका बोटलाई भने, ‘तिमी आएर हाम्रा राजा भइदेऊ।’ 15काँढाका पोथ्राले जवाफ दियो, ‘तिमीहरू साँच्चै मलाई राजा बनाउन चाहन्छौ भने मेरा छायामुनि बस, नत्र मेरा हाँगाहरूबाट आगो निस्केर लेबनानका देवदारुहरू स्वाहा हुनेछन्।”
16तब योतामले भन्यो, “जब तिमीहरूले अबीमेलेकलाई राजा बनायौ, के तिमीहरूले साँचो र इमानदार काम गर्यौ? के गिदोनका सम्झना र परिवारलाई जसरी इज्जत गर्न उचित थियो, त्यसै गर्यौ? 17याद राख, मेरा बुबाले तिमीहरूका निम्ति लडाइँ गरेका थिए। उनले तिमीहरूलाई मिद्यानीहरूदेखि बचाउनलाई आफ्ना प्राण खतरामा हालेका थिए। 18तर आज तिमीहरू मेरा बुबाका परिवारको विरुद्ध खडा भएका छौ। तिमीहरूले उनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि मार्यौ, कारण उनका दासीपट्टिको छोरो अबीमेलेक तिमीहरूको आफन्त पर्थ्यो र जसलाई तिमीहरूले शकेममा राजा बनाएका छौ। 19अब तिमीहरूले गिदोन र उनका परिवारसँग गरेको व्यवहार साँचो र इमानदारीपूर्ण छ भने तिमीहरू अबीमेलेकसँग खुसीसाथ बस र ऊ तिमीहरूसँग खुसीसाथ बसोस्। 20होइन भने अबीमेलेक भागी निस्कोस् र शकेम र बेथ-मिल्लोका मानिसहरूलाई भस्म पारोस्। अनि शकेम र बेथ-मिल्लोका बासिन्दाहरूबाट आगो निस्कोस् र अबीमेलेकलाई भस्म पारोस्।” 21तब योताम भाग्यो, कारण ऊ आफ्ना दाजु अबीमेलेकसँग डराउँथ्यो र ऊ बेअर भन्ने ठाउँमा गई बसोबास गर्न लाग्यो।
22अबीमेलेकले इस्राएलमाथि तीन वर्षसम्म राज्य गरे। 23तब परमेश्वरले अबीमेलेक र शकेमबासीहरूका बीच आपसमा दुश्मनी गराउनुभयो र तिनीहरू अबीमेलेकका विरुद्धमा खडा भए। 24त्यसो भएर अबीमेलेक र शकेमबासी, जसले उनलाई गिदोनका सत्तरी जना छोराहरूलाई मार्नलाई सुर्याएका थिए, तिनीहरूले आफ्ना अपराधका फल पाए। 25शकेमबासीहरूले अबीमेलेकका विरुद्धमा डाँडा-काँडामा मानिसहरूलाई ढुक्न लाएका थिए। त्यसबाट हिँड्नेहरू सबैलाई ती मानिसहरूले लुट्थे। यो खबर अबीमेलेकले पाए।
26तब एबेदको छोरो गाल आफ्ना भाइ-बन्धुहरूसँग शकेममा आयो। शकेमबासीहरूले गाललाई विश्वास गरे र उसमाथि भर परे। 27तिनीहरू सबै जना दाखबारीमा गए, दाख बटुले र दाखमद्य बनाए र उत्सव मनाउन लागे। तिनीहरू आफ्ना देवताको मन्दिरमा गए, त्यहाँ खाए, पिए अनि अबीमेलेकको हाँसो उडाउन लागे। 28गालले भन्यो, “हामी शकेमका बासिन्दाहरू कस्ता मानिसहरू हौं? हामी किन अबीमेलेकको चाकरी गर्दछौं? ऊ को हो र? गिदोनको छोरा हो? सहरका शासक जबूलले उसको आज्ञापालन गर्छ। तर हामीले चाहिँ किन उसको सेवा गर्नुपर्छ? हाम्रो वंश खडा गर्ने हाम्रो पुर्खा हमोरलाई तिमीहरू आफ्ना राजभक्ति देओ। 29यदि म यस देशको अगुवा हुँदो हुँ त कस्तो हुन्थ्यो! म अबीमेलेकलाई धपाउने थिएँ। म उसलाई भन्नेथिएँ, ‘आफ्ना सेना जम्मा गरेर आइज र लडाइँ गर्।”
30यस्तो कुरा सुनेर सहरका शासक जबूल औधी रिसायो। 31उसले मानिसहरू पठाएर अरूमाहको अबीमेलेकलाई खबर दियो, “एबेदका छोरा गाल र उसका भाइ-बन्धुहरू शकेममा आएर बसेका छन् अनि अब तिमीहरूलाई सहर पस्न दिनेछैनन्। 32तिमी आफ्ना मानिसहरूसँग राती निस्केर आई खेतबारीहरूमा लुकी बस। 33भोलि बिहान घाम झुल्कँदा अचानक सहरमाथि आक्रमण गर र गाल आफ्ना मानिसहरूसँग तिम्रा विरुद्ध लड्न निस्किआउँदा आफ्नो पूरा शक्तिले तिनीहरूमाथि तिमीले आक्रमण गरिहाल!”
34अबीमेलेक र उसका मानिसहरू राती आएर शकेमको बाहिर चार दल भएर लुकेर बसे। 35जब अबीमेलेक र उनका मानिसहरूले गाललाई आएर सहरको मूल-ढोकामा उभेको देखे, तिनीहरू आफू लुकेका ठाउँदेखि निस्के। 36गालले तिनीहरूलाई देख्यो र जबूललाई भन्यो, “हेर, मानिसहरू पहाडदेखि झरेर आउँदै छन्!” जबूलले उत्तर दियो, “तिनीहरू मानिसहरू होइनन्, खालि पहाडका छाया हुन्।” 37गालले फेरि भन्यो, “हेर, पहाडका चेपदेखि मानिसहरू आउँदै छन् अनि एक दल जोखना हेर्नेको रूखदेखि आउने बाटोमा आउँदैछन्!”
38तब जबूलले उसलाई भन्यो, “तिम्रा ठूला-ठूला कुरा खोई? तिमीले सोध्दै थियौ, किन हामीले यी अबीमेलेकको चाकरी गर्नु? तिमी यी मानिसहरूको हाँसो उडाउँदै थियौ। अब गएर तिनीहरूसँग लडाइँ गर।” 39गालले शकेमका मानिसहरू लिएर गयो र अबीमेलेकसँग लड्न लाग्यो। 40गाल भाग्यो र अबीमेलेकले त्यसलाई परास्त गरे। सहरको मूल-ढोकानिर पनि धेरै जना घाइते भए।
41अबीमेलेक अरूमाहमा बसिरहे। जबूलले गाल र त्यसका भाइ-बन्धुहरूलाई शकेमदेखि धपायो। तिनीहरू त्यहाँ बस्न सकेनन्। 42भोलिपल्ट शकेमबासीहरू सहरदेखि निस्केर खेतबारीतिर जान तयार भएका अबीमेलेकले देखे। 43उनले आफ्ना मानिसहरूलाई तीन दलमा बाँडे र खेतबारीमा गई लुकेर तिनीहरूलाई पर्खिरहे। मानिसहरू सहरबाट निस्केर आएको देखेर उनी आफू लुकेको ठाउँबाट निस्केर तिनीहरूलाई मार्न अघि बढे। 44अबीमेलेक र उनको दल सहरको मूल-ढोकातिर बढे र त्यहाँ पहरा दिन लागे। अरू दुई दलले ती मानिसहरूमाथि आक्रमण गरे र तिनीहरूलाई संहार गरे। 45लडाइँ दिनभरि चलिरह्यो। अबीमेलेकले सहर कब्जा गरे, सहरका मानिसहरूलाई मारेर त्यसको नाश गरे र त्यहाँका जमिनमा नुन छरेर भरिदिए।
46जब शकेम सहरका किल्लामा भएका ठूला-ठालुहरूले यो कुरा सुने, तिनीहरूले करारको बाल-बरीतको मन्दिरमा भित्री किल्लामा आश्रय लिए। 47यो कुराको खबर अबीमेलेकलाई भयो। 48यसकारण आफ्ना मानिसहरूसँग उनी सल्मोन डाँडामा गए। त्यहाँ उनले बन्चरोले एउटा रूखको हाँगो काटे र हाँगो काँधमा बोके। आफ्ना मानिसहरूलाई पनि चाँडो-चाँडो त्यसै गर्न लाए। 49प्रत्येकले एकएक वटा हाँगो काटे र बोकेर अबीमेलेकको पछि लागे। तिनीहरूले मन्दिरको भित्री किल्लामा हाँगा थाक पारेर थुपारे र त्यसमा आगो लगाइदिए। किल्लाभित्र भएका सबै त्यहीँ डढी मरे। यसरी प्राय: एक हजार नर-नारी त्यहाँ स्वाहा भए।
50त्यसपछि अबीमेलेक तेबेस सहरमा गए र त्यसलाई घेरा हालेर आफ्नो कब्जामा लिए। 51त्यहाँ एउटा बलियो किल्ला थियो र सबै नर-नारी र अगुवाहरू त्यहाँ आश्रय लिन गए। किल्ला भित्रबाट बन्द गरेर तिनीहरू छतमा गई बसे। 52किल्ला आक्रमण गर्न आइपुग्दा अबीमेलेकले त्यसको दैलोमा गई किल्लामा आगो लगाउने तरखर गर्न लागे। 53#2 शमूएल 11:21तर एउटी स्त्रीले एउटा जाँतो उनको टाउकोमा फ्याँकेर खप्पर फुटाइदिई। 54तब अबीमेलेकले आफ्नो हातहतियार बोक्ने केटोलाई हतार-हतार बोलाएर भने, “तेरो तरवार थुतेर मलाई मार्। एउटी स्त्रीले मलाई मारी भन्ने कुरा फैलेको म चाहँदिनँ।” त्यस युवकले आफ्नो तरवार उनको शरीरमा रोपिदियो र उनी त्यहीँ मरे। 55अबीमेलेक यसरी मरेको देखी इस्राएलीहरू आफ्ना घर फर्के।
56आफ्ना सत्तरी जना दाजु-भाइहरूलाई मारी बुबासँग गरेको अन्यायको बदलामा परमेश्वरले अबीमेलेकलाई यस प्रकारले फल दिनुभयो। 57गिदोनका छोरा योतामले सराप दिँदाखेरि भनेअनुसार शकेमबासीहरूलाई पनि तिनीहरूका कुकर्मका लागि परमेश्वरले यसरी कष्ट दिनुभयो।
अहिले सेलेक्ट गरिएको:
न्यायकर्ता 9: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.