यर्मिया 43
43
यर्मिया मिश्रमा लगिन्छन्
1परमप्रभु तिनीहरूका परमेश्वरले जति कुरा भन्न मलाई पठाउनुभएको थियो, ती मैले मानिसहरूलाई भनिसकें। 2तब होशयाहका छोरा अजर्याह र कारेहका छोरा योहानान र अरू सबै अहङ्कारी मानिसहरूले मलाई यसो भने, “तपाईंले झूटो कुरा भन्दै हुनुहुन्छ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई मिश्रमा बसोबास गर्न नजान भन्न तपाईंलाई पठाउनुभएको होइन। 3तर बेबिलोनीहरूले हामीलाई मारून् वा बेबिलोनमा कैद गरी लैजाऊन् भनी नेरियाहको छोरो बारूकले तपाईंलाई हाम्रो विरुद्धमा उठाएको हो।” 4यसरी यहूदी देशमा बास गर्नू भन्ने परमप्रभुको आज्ञा मान्न योहानान, फौजका अधिकृतहरू तथा अरू कुनै मानिसहरू पनि तयार भएनन्। 5#२ राजा 25:26तब योहानान र फौजका अधिकृतहरू सबैले मिलेर यहूदामा रहेका बाँकी मानिसहरू सबैलाई मिश्रमा लगे। तितरबितर भई जाति-जातिबाट फर्किआएका सबै 6पुरुषहरू, स्त्रीहरू, केटाकेटीहरू र राजाका छोरीहरूलाई पनि तिनीहरूका साथमा लगे। सेनापति नबूजरदानले गदल्याहका जिम्मामा छोडिएको हरेकलाई म र बारूकसमेत तिनीहरूले लगे। 7तिनीहरूले परमप्रभुको आज्ञापालन गरेनन् र मिश्रको तहपनेस सहरसम्म पुगे।
8त्यहाँ परमप्रभुले मलाई भन्नुभयो, 9“केही ठूल्ठूला ढुङ्गाहरू ले र सहरमा सरकारी भवनका ढोका अघिको बाटोमा छापेका इँटामुनिको माटोमा केही इस्राएलीहरूले हेरेको बेलामा गाडिराख्। 10त्यसपछि तिनीहरूलाई भन् कि म सर्वशक्तिमान् परमप्रभु इस्राएलीका परमेश्वर मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरलाई यस ठाउँमा ल्याउनेछु र उसले यी तैँले गाडेका ढुङ्गाहरूमाथि आफ्नो सिंहासन बसाल्नेछ र राजपत्र फैलाउनेछु। 11नबूकदनेसर आएर मिश्रलाई जित्नेछ। जसले रुढीबाट मर्नुछ, ती रुढीले मर्नेछन्, जो कैदमा लगिनुछ, ती कैदमा जानेछन् र जसले लडाइँमा मारिनुछ, ती लडाइँमा मर्नेछन्। 12मिश्रका देवी-देवताका मन्दिरहरूमा उसले आगो लगाइदिनेछ र ती देवताका मूर्तिहरू हात पारी कति जलाउनेछ र कति आफूसित लैजानेछ। गोठालोले आफ्नो वस्त्र उठाएर पहिरिएझैँ बेबिलोनका राजाले मिश्रदेश पहिरेर एउटै चोट नपाई फर्कनेछ। 13उसले मिश्रमा भएका हेलिओपोलिसका पत्थरका स्मारक स्तम्भहरू नाश गर्नेछ र मिश्री देवी-देवताका मन्दिरहरू आगोले भस्म पार्नेछ।”
अहिले सेलेक्ट गरिएको:
यर्मिया 43: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.