YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 3:1-21

यूहन्‍ना 3:1-21 सरल नेपाली

निकोदेमस नाउँ भएका एक जना मानिस यहूदी महासभाका सदस्‍य थिए। उनीचाहिँ फरिसी थिए। एक रात उनले येशूकहाँ आएर भने, “गुरुज्‍यू, तपाईं परमेश्‍वरबाटै हामीलाई सिकाउन आउनुभएको हो। यो कुरा हामीलाई थाहा भयो। यदि परमेश्‍वरले साथ दिनुभएन भने कसैले पनि तपाईंले गर्नुभएको जस्‍तो शक्तिशाली कामहरू गर्न सक्‍दैन।” येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, नयाँ गरी नजन्‍मिएसम्‍म कसैले पनि परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।” निकोदेमसले भने, “बुढो भइसकेको मानिस फेरि कसरी जन्‍मिन सक्‍छ? ऊ फेरि आमाबाट जन्‍मिन सक्‍छ र?” येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, पानी र आत्‍माबाट नजन्‍मिएसम्‍म कोही पनि परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन। शरीरबाट जन्‍मिएको शरीर हो र आत्‍माबाट जन्‍मिएको आत्‍मा हो। तिमीहरू नयाँ गरी जन्‍मिनुपर्छ भन्‍ने कुरा सुनेर छक्‍क नपर। हावा जता मन लाग्‍यो, त्‍यतै बहन्‍छ। हावाको आवाज त तिमीहरू सुन्‍छौ, तर त्‍यो कहाँबाट आउँछ अनि कहाँ जान्‍छ, तिमीहरूलाई पत्तो हुँदैन। आत्‍माबाट जन्‍मिएको मानिस पनि त्‍यस्‍तै हुन्‍छ।” निकोदेमसले भने, “यस्‍तो कसरी हुन सक्‍छ र?” येशूले भन्‍नुभयो, “तिमी त इस्राएलीहरूका ठूला गुरु हौ र पनि यी कुरा बुझ्‍दैनौ? साँच्‍चै म तिमीलाई भन्‍छु, हामीले जानेका कुराको बारेमा बोल्‍छौं र आफूले देखेका कुरा नै सुनाउँछौं। तर तिमीहरूले चाहिँ हामीले भनेका कुराहरू पत्‍याउँदैनौ। मैले यही संसारमा भएको कुराको बारेमा बोल्‍दा त तिमीहरूले पत्‍याउँदैनौ भने झन् स्‍वर्गको बारेमा बोलें भने त कसरी पत्‍याउन सक्‍छौ र? स्‍वर्गबाट आउने मानव पुत्रबाहेक अरू कोही पनि स्‍वर्गमा गएको छैन। इस्राएलीहरू उजाड-स्थानमा हुँदा मोशाले पितलको सर्प बनाएर काठमा उचालेर राखेजस्‍तै मानव पुत्र पनि उचालिनुपर्छ। यसरी उहाँमाथि विश्‍वास गर्ने सबैले अनन्तजीवन पाउनेछन्।” किनभने परमेश्‍वरले संसारलाई यति धैरै प्रेम गर्नुभयो, उहाँले आफ्‍नो एक मात्र पुत्र पनि दिनुभयो। परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्ने कोही पनि नाश हुनेछैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्। परमेश्‍वरले त आफ्‍नो एक मात्र पुत्रलाई संसारका मानिसहरूलाई दोषी ठहराउन होइन, तर तिनीहरूलाई बचाउन पठाउनुभएको हो। अब परमेश्‍वरको एक मात्र पुत्रमाथि विश्‍वास गर्ने कोही पनि दोषी ठहरिनेछैन, तर उहाँमाथि विश्‍वास नगर्ने जतिचाहिँ दोषी ठहरिसकेका छन् किनभने तिनीहरूले परमेश्‍वरको एक मात्र पुत्रलाई विश्‍वास गरेका छैनन्। दोष यसरी लाग्‍छ, उज्‍यालोचाहिँ संसारमा आएको छ अनि मानिसहरूका काम दुष्‍ट भएको हुनाले तिनीहरूले उज्‍यालोलाई भन्दा अँध्‍यारोलाई मन पराउँछन् किनभने दुष्‍ट काम गर्ने सबैले उज्‍यालोलाई घृणा गर्छन्। उज्‍यालोमा तिनीहरूले गरेका कामहरू देखिन्‍छन् भन्‍ने डरले तिनीहरू उज्‍यालोमा आउँदैनन्। तर सत्‍य कुरा मान्‍ने मानिसचाहिँ उज्‍यालोमा आउँछ र यसरी उसको काम परमेश्‍वरमा गरिएको हो भन्‍ने कुरा छर्लङ्ग देखिन्‍छ।

यूहन्‍ना 3 पढ्नुहोस्