यूहन्ना 8
8
व्यभिचारी स्त्री र येशू
1येशू जैतुन डाँडामा जानुभयो।
2भोलिपल्ट बिहानै येशू मन्दिरमा फर्कनुभयो। सबै मानिसहरू उहाँको वरिपरि भेला भए। येशू बस्नुभयो र मानिसहरूलाई शिक्षा दिन लाग्नुभयो।
3धर्म-गुरु र फरिसीहरूले व्यभिचार गर्दा फेला परेकी स्त्रीलाई ल्याएर सबैको अगाडि उभ्याए। तिनीहरूले येशूलाई भने, 4“गुरु, यो स्त्री त व्यभिचार गर्दागर्दै पक्राउमा परी। 5#लेवी 20:10; व्यवस्था 22:22-24हाम्रो व्यवस्थामा मोशाले यस्ती स्त्रीलाई ढुङ्गाले हानेर मार्नुपर्छ भन्ने आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्नुहुन्छ त?” 6तिनीहरूले उहाँलाई दोष लगाउने मौका पाउँछौं कि भनेर यो प्रश्न गरेका थिए। तर येशूले निहुरेर भूइँमा औँलाले लेख्नुभयो। 7तिनीहरूले उहाँलाई घरीघरी सोधिरहे। त्यसैले येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “जसले कहिल्यै पाप गरेको छैन, त्यसले नै सबैभन्दा पहिले यो स्त्रीलाई ढुङ्गाले हानोस्।” 8त्यसपछि येशूले फेरि घोप्टिएर भूइँमा लेख्नुभयो। 9यो कुरा सुनेर तिनीहरू एक-एक गर्दै त्यहाँबाट हिँडे। पहिले बुढापाकाहरू गए। आखिरमा येशू मात्र छोडिनुभयो अनि त्यो स्त्री येशूको सामुन्ने उभिइरहेकी थिई। 10येशूले त्यसलाई हेरेर भन्नुभयो, “खोइ त, तिमीलाई दोष लाउनेहरू? कसैले पनि तिमीलाई दण्ड दिएनन्?” 11त्यस स्त्रीले भनी, “दिएनन् हजुर।” येशूले भन्नुभयो, “तब म पनि तिमीलाई दण्ड दिन्नँ। अब तिमी जाऊ, तर फेरि पाप नगर!”]
संसारको ज्योति येशू
12 #
मत्ती 5:14; यूहन्ना 9:5 फेरि येशूले मानिसहरूलाई सिकाउँदै भन्नुभयो, “संसारको ज्योति मै हुँ। मेरो पछि लाग्नेले कहिल्यै पनि अँध्यारोमा हिँड्नुपर्नेछैन कारण उसले जीवन दिने उज्यालो पाउनेछ।”
13 #
यूहन्ना 5:31
यो सुनेर फरिसीहरूले उहाँलाई भने, “तपाईं त आफ्नै बारेमा गवाही दिनुहुन्छ अनि तपाईंको साक्षी साँचो छैन।”
14येशूले भन्नुभयो, “मैले मेरो बारेमा साक्षी दिए पनि मैले भनेको कुरा साँचो छ किनभने म कहाँबाट आएको हुँ अनि कहाँ जाँदै छु, त्यो मलाई थाहा छ। तर तिमीहरूलाई चाहिँ यो कुरा थाहा छैन। 15तिमीहरूले त मानिसको सोचाइअनुसार मलाई दोष लगाउँछौ। तर म त कसैलाई दोष लगाउँदिनँ। 16यदि कतै लगाउनुपर्यो भने पनि मैले लगाएको दोषचाहिँ सत्य ठहरिन्छ किनभने म एक्लै छैनँ तर मलाई पठाउनुहुने पिता मसँग हुनुहुन्छ। 17#व्यवस्था 19:15तिमीहरूका व्यवस्थाअनुसार, ‘दुई जना साक्षीको कुरा मिल्यो भने त्यो कुरा साँचो ठहर्छ।’ 18अब मेरो बारेमा साक्षी दिने एक जनाचाहिँ म नै हुँ र अर्कोचाहिँ मलाई पठाउनुहुने पिता हुनुहुन्छ।”
19त्यतिखेर तिनीहरूले सोधे, “तपाईंका पिता कहाँ हुनुहुन्छ त?”
येशूले भन्नुभयो, “तिमीहरू न मलाई नता मेरो पितालाई नै चिन्दछौ। यदि तिमीहरूले मलाई चिनेको भए मेरो पितालाई पनि चिन्नेथियौ।”
20यी सबै कुरा येशूले मन्दिरको भेटी उठाउने बाकसहरू भएको ठाउँमा सिकाउनुहुँदा भन्नुभयो। तर कसैले पनि उहाँलाई पक्रेन किनभने उहाँको बेला आएको थिएन।
म जो हुँ, त्यही नै हुँ
21फेरि पनि येशूले तिनीहरूलाई भन्नुभयो, “म यहाँबाट गइहाल्नेछु। तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरू आफ्नै पापमा मर्नेछौ किनभने म जाने ठाउँमा तिमीहरू आउन सक्दैनौ।”
22यो सुनेर यहूदी अगुवाहरूले आपसमा भने, “यो के भनेको हो? ऊ जहाँ जान्छ, त्यहाँ हामी पुग्न सक्दैनौं भन्छ! यसले आत्महत्या गर्न आँटेको हो कि क्या हो?”
23येशूले भन्नुभयो, “तिमीहरू त यहाँ तलका हौ, मचाहिँ माथिबाट आएको हुँ। तिमीहरू यसै संसारका हौ, तर म यस संसारको होइनँ। 24त्यसैले मैले ‘तिमीहरू आफ्नै पापमा मर्नेछौ’ भनेको हुँ। यदि तिमीहरूले ‘म जो हुँ त्यही हुँ’ भनी मलाई विश्वास गरेनौ भने तिमीहरू आफ्नै पापमा नाश हुनेछौ।”
25तिनीहरूले येशूलाई सोधे, “तपाईं को हुनुहुन्छ त?”
येशूले जवाफ दिनुभयो, “त्यो त मैले तिमीहरूलाई सुरुदेखि नै भनिरहेको छु। 26तिमीहरूको बारेमा मैले भन्नुपर्ने र न्याय गर्नुपर्ने कुरा त धेरै छन् तर मलाई पठाउनुहुने सत्य हुनुहुन्छ। उहाँबाट सुनेको कुरा मात्रै म संसारलाई सुनाउन चाहन्छु।”
27येशूले स्वर्गमा बस्नुहुने पिताको बारेमा भन्दै हुनुहुन्छ भनेर तिनीहरूले बुझेनन्। 28त्यति बेला येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले म मानव पुत्रलाई काठमा टाँगेर उचालेपछि ‘म जो हुँ त्यही नै हुँ’ भन्ने तिमीहरूले थाहा पाउनेछौ। म आफ्नै खुसीले केही पनि गर्दिनँ, तर पिताले मलाई सिकाउनुभएका कुराहरू मात्र गर्छु भन्ने कुरा पनि तिमीहरूले जान्नेछौ। 29मलाई पठाउनुहुने मसँगै हुनुहुन्छ, उहाँले मलाई एक्लै छोड्नुभएको छैन किनभने म जहिले पनि उहाँलाई खुसी तुल्याउने काम मात्रै गर्छु।” 30येशूले भन्नुभएका यी कुराहरू सुनेर धेरैले उहाँमाथि विश्वास गरे।
स्वतन्त्र मान्छे र कमारो
31येशूले उहाँमाथि विश्वास गर्ने यहूदी अगुवाहरूलाई भन्नुभयो, “मेरो शिक्षालाई मानिरह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ 32अनि तिमीहरूले सत्य चिन्नेछौ सत्यले तिमीहरूलाई छुट्कारा दिनेछ।”
33 #
मत्ती 3:9; लूका 3:8 उनीहरूले भने, “हामी अब्राहामका सन्तान हौं, हामी त कहिल्यै पनि कसैको कमारा भएका छैनौं। तब हामीलाई छुट्कारा दिनेछ भनेको अर्थचाहिँ के हो?”
34येशूले भन्नुभयो “साँच्चै, म तिमीहरूलाई भन्छु, पाप गर्नेचाहिँ पापको कमारा हो। 35अब कमारा त सधैँभरि घर-जहानको हुँदैन, तर घरको छोराचाहिँ सधैँभरि घर-जहानको हुन्छ। 36त्यसै गरी परमेश्वरको पुत्रले तिमीहरूलाई छुट्कारा दियौ भने तिमीहरूले साँच्चै छुट्कारा पाउनेछौ। 37तिमीहरू अब्राहामका सन्तान हौ भन्ने मलाई थाहा छ। तैपनि तिमीहरूले मैले भनेका कुराहरू सहन नसकेर मलाई मार्न खोज्छौ। 38मचाहिँ मेरो पितासँग रहँदा देखेका कुराहरूको बारेमा बोल्दछु अनि तिमीहरूचाहिँ तिमीहरूकै पिताबाट सुनेका कुराहरू गर्दछौ।”
39तिनीहरूले भने, “हाम्रा पिता त अब्राहाम नै हुन्!”
येशूले भन्नुभयो, “साँच्चै अब्राहामका सन्तान हुँदा हौ त तिमीहरूले अब्राहामले गरेजस्तै काम गर्ने थियौ। 40तर मैले तिमीहरूलाई परमेश्वरबाटै सुनेका सत्य कुराहरू सुनाउँदा त तिमीहरू मलाई मार्न खोज्छौ। यस्तो काम त अब्राहामले गरेनन्! 41तिमीहरू जसका छोराहरू हौ, त्यस्तै काम गर्दै छौ।”
तिनीहरूले भने, “हामीचाहिँ व्यभिचारबाट जन्मेका होइनौं। परमेश्वर नै हाम्रा एक मात्र पिता हुनुहुन्छ।”
42येशूले भन्नुभयो, “साँच्चै तिमीहरूका पिता परमेश्वर हुनुभएको भए तिमीहरूले मलाई प्रेम गर्नेथियौ किनभने म परमेश्वरको तर्फबाट आएको हुँ। म आफ्नै तर्फबाट आएको होइनँ, परमेश्वरले नै मलाई पठाउनुभएको हो। 43मैले भनेका कुराहरू तिमीहरू किन बुझ्दैनौ? किनभने तिमीहरूले मैले भनेको वचन सुन्न सक्दैनौ। 44तिमीहरू आफ्नै बुबा शैतानका सन्तान हौ र तिमीहरू आफ्ना पिताले भनेअनुसार गर्न तयार छौ। त्यो त सुरुदेखि नै ज्यानमारा हो, त्यो त सत्यमा कहिल्यै पनि टिक्न सक्दैन किनभने त्यसमा सत्य नै छैन। आफ्नो स्वभावअनुसार त्यसले त सधैँ झूट बोल्छ। त्यसैले त्यो त झूट बोल्नेहरूकै पिता हो। 45तर मैले सत्य कुरा बोल्छु। त्यसैले तिमीहरू मलाई विश्वास गर्दैनौ। 46तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउन सक्छौ? यदि मैले सत्य बोल्दा किन मलाई विश्वास गर्दैनौ त? 47परमेश्वरका सन्तानले त परमेश्वरकै कुरा सुन्छन्, तर तिमीहरूचाहिँ परमेश्वरका सन्तान नभएको हुनाले उहाँको कुरा सुन्दैसुन्दैनौ।”
अब्राहामभन्दा येशू महान्
48यहूदी अगुवाहरूले येशूलाई भने, “हामीले भनेको ठीकै हो! तँ सामरी होस् र तँलाई भूत चढेको छ।”
49येशूले भन्नुभयो, “मलाई भूत चढेको छैन। म मेरा पिताको आदर गर्छु, तर तिमीहरू भने मलाई अनादर गर्छौ। 50म आफैं मेरो आदर खोज्दिनँ, तर मेरो आदर गर्न खोज्ने र मलाई न्याय गर्ने अर्कै हुनुहुन्छ। 51साँच्चै म तिमीहरूलाई भन्छु, मैले भनेको मान्नेले चाहिँ मर्नुपर्नेछैन।”
52यहूदी अगुवाहरूले भने, “पक्का तँलाई त भूत नै चढेको रहेछ। अब्राहाम मरे, अगमवक्ताहरू पनि मरे, तँचाहिँ ‘मैले भनेको मान्नेले कहिल्यै पनि मर्नुपर्दैन’ भन्छस्! 53के तँ मरेर गएका हाम्रा पुर्खा अब्राहाम र अगमवक्ताहरूभन्दा पनि ठूलो होस्? तँ आफैंलाई के सम्झन्छस् हँ?”
54येशूले भन्नुभयो, “मैले आफ्नै आदर खोजेको भए त्यो खोक्रो आदर हुनेथियो। तर मेरो आदर गर्नुहुनेचाहिँ मेरा पिता हुनुहुन्छ, उही पिता, जसलाई तिमीहरूले आफ्ना परमेश्वर भनेर भन्छौ। 55तर तिमीहरूले उहाँलाई चिनेका छैनौ। मचाहिँ उहाँलाई राम्ररी चिन्छु। यदि मैले उहाँलाई चिन्दिनँ भनेको भए म पनि तिमीहरूजस्तै झूटो ठहरिने थिएँ। तर म उहाँलाई चिन्छु र उहाँले भन्नुभएको कुरालाई मान्छु। 56तिमीहरूका पुर्खा अब्राहामले म आउने दिन देख्न साह्रै इच्छा गरेका थिए। उनले देखेर ज्यादै रमाए।”
57यहूदी अगुवाहरूले उहाँलाई भने, “तँ पचास वर्ष पनि पुगेको छैनस्, तब कसरी तैँले हाम्रा पुर्खा अब्राहामलाई देखिस्?”
58तब येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, अब्राहाम जन्मिनुभन्दा अघि नै म छु।”
59त्यत्तिकैमा तिनीहरूले येशूलाई हान्न ढुङ्गा टिपे। तर उहाँ सुटुक्क मन्दिरबाट निस्कनुभयो।
अहिले सेलेक्ट गरिएको:
यूहन्ना 8: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.