हितोपदेश 1
1
उखानहरूको महत्त्व
1 #
१ राजा 4:32
दाऊदका छोरा इस्राएलका राजा सोलोमनका उखानहरू:
2बुद्धि र शिक्षाका कुरा चिन्न र गहिरो अर्थ भएका उक्तिहरू बुझ्न सिकाउने उखानहरू यहाँ छन्। 3उखानहरूले जीवनमा कसरी बुद्धिमानीसित चल्ने र इमानदार, न्यायी र सोझो हुने भनी सिकाउँछन्। 4अनजान मानिसलाई चतुर र जवान व्यक्तिलाई समझदार बनाउँछन्। 5यी उखानहरूले ज्ञानी मानिसहरूको ज्ञान भण्डार बढाउँछन् र पढे-लेखेकाहरूलाई बाटो देखाउँछन्। 6त्यसरी तिनीहरूले उखानभित्रका गहिरो अर्थ र बुद्धिमान् मानिसहरूका अड्को बुझ्न सक्नेछन्।
युवाहरूलाई अर्ती
7 #
अय्यूब 28:28; भजनसंग्रह 111:10; हितोपदेश 9:10 ज्ञान प्राप्त गर्न पहिले परमप्रभुको भय राख्नुपर्छ। मूर्खहरूले बुद्धिको कदर गर्दैनन् र शिक्षा लिने मन गर्दैनन्।
8ए मेरो छोरो, तेरा आमा-बुबाले भनेका कुरा ध्यान दिएर सुन् 9किनभने ती कुराले तेरा चालचलन त्यसरी नै असल बनाउनेछ, जसरी सुन्दर फेटा वा गलाको हारले तँ सुहाउँदो देखिन्छस्।
10ए मेरो छोरो, पापीहरूले तँलाई फकाई-फुस्लाई गर्दा तँ तिनीहरूसित नलाग्। 11तिनीहरूले यसो भन्लान्, “जाऔं, गएर कसैको हत्या गरौं! कोही निर्दोष मानिसहरूमाथि आक्रमण गरौं! 12हामीले तिनीहरूलाई जिउँदा र असल-कुशल भेट्टाउँला तर हाम्रो काम सिद्धिंदा तिनीहरू मरिसकेका हुनेछन्! 13हरेक किसिमका धन-सम्पत्ति हामीले फेला पार्नेछौं र लुटेका मालले हाम्रा घरहरू भरिनेछन्! 14आओ, हाम्रो साथ देओ र लुटेका माल हामी आपसमा बाँडौंला।”
15ए मेरो छोरो, त्यस्ता मानिसहरूसित नलाग्। तिनीहरूदेखि टाढै बस्। 16दुष्कर्म गर्न तिनीहरू ढीलो हुँदैनन्, हत्या गर्न तिनीहरू सधैँ तयार रहँदछन्। 17आफूले पक्रन दाउ गरेको चराले देख्दा-देख्दै जाल बिछ्याउनु व्यर्थ छ, 18तर त्यस्ता मानिसहरूले आफ्नै निम्ति जाल बिछ्याउँदछन्, जालमा परेर तिनीहरू आफैं मर्छन्। 19चोरीले सधैँ चोर्नेको ज्यान लिंन्छ। हिँसा गरेर कमाइ गर्ने मानिसको अन्त पनि त्यस्तै हुनेछ।
बुद्धिको पुकार
20 #
हितोपदेश 8:1-3
सुन्! बाटो-बाटो र बजारका चोकहरूमा बुद्धिले बोलाइरहेको छ, 21सहरका ढोकाहरू र मानिसहरू भेला हुने ठाउँहरूमा त्यसले सोर उचालेर यसो भन्दछ–
22“हे मूर्खहरू हो! कहिलेसम्म तिमीहरू मूर्ख भइरहन चाहन्छौ? कहिलेसम्म बुद्धिलाई तुच्छ ठानी सन्तोष मान्ने? के ज्ञानका कुरा कहिल्यै नसिक्ने? 23तिमीहरूले मेरो हप्कीको कुरा सुन। म तिमीहरूलाई असल अर्ती दिनेछु र मेरो ज्ञान तिमीहरूसँग बाँड्नेछु। 24मैले तिमीहरूलाई बोलाइरहेको छु, आओ भनी निम्तो दिइरहेको छु तर तिमीहरूले मेरो कुरा सुन्दैनौ। तिमीहरूले मतिर ध्यानै दिएनौ। 25तिमीहरूले मेरो सल्लाह सुनेनौ र तिमीहरूलाई सुधार्ने मौका मलाई दिएनौ। 26जब तिमीहरू कष्टमा पर्नेछौ, म तिमीहरूमाथि हाँस्नेछु, डरलाग्दा विपत्तिहरू आइलाग्दा म तिमीहरूलाई खिसी गर्नेछु– 27विपत्ति तिमीहरूमाथि आँधीझैँ आउनेछ, दु:खको डरलाग्दो हुरी चल्नेछ र तिमीहरू कष्ट र पीडामापर्नेछौ। त्यस बेला म तिमीहरूलाई खिसी गर्नेछु। 28त्यस बेला तिमीहरूले बुद्धिलाई पुकार्नेछौ तर म जवाफ दिनेछैनँ। सबै ठाउँहरूमा तिमीहरूले मलाई खोज्नेछौ तर मलाई भेट्टाउनेछैनौ। 29तिमीहरूले सधैँ बुद्धिको तिरस्कार गरेका छौ र परमप्रभुको आज्ञा मान्न इन्कार गरेका छौ। 30तिमीहरूले कहिल्यै मेरो सल्लाह लिएनौ अथवा मैले चेतावनी दिँदा ध्यान दिएनौ। 31यसकारण तिमीहरूले खोजेका भेट्टाउनेछौ र आफ्नै कर्मले दु:खी हुनेछौ। 32तर अन्जान व्यक्तिहरू बुद्धिको तिरस्कार गरेका हुनाले मरेर जानेछन्, मूर्ख व्यक्तिहरू आफ्नै बेवास्ताले गर्दा नाश हुनेछन्। 33तर जसले मेरो कुरा सुन्छ, त्यसले सुरक्षा पाउनेछ। त्यो कुशलसाथ रहनेछ र त्यसलाई डरको कुनै कारण हुनेछैन।”
अहिले सेलेक्ट गरिएको:
हितोपदेश 1: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.