भजनसंग्रह 38
38
दु:ख भोगिरहेको मानिसको प्रार्थना
1हे परमप्रभु, आफ्नो क्रोधमा मलाई दण्ड नदिनुहोस्!
2तपाईंले आफ्ना काँडले मलाई घाइते बनाउनुभएको छ,
तपाईंले मलाई चोट पार्नुभएको छ।
3तपाईंको रिसले म ठूलो पीडामा छु,
मेरा पापले गर्दा मेरो शरीर बिरामी भएको छ।
4म आफ्ना पापका बाढीमा डुब्दै छु,
ती बोक्न नसकिने बोझ बनेका छन्।
5म मूर्ख भएकोले
मेरो घाउ कुहेको छ र गनाउँछ।
6म निहुरेको छु, चुर भएको छु,
दिनभरि म विलाप गर्दछु।
7मेरो ज्वरो आगोजस्तो बल्दो छ
र म मर्न आँटेको छु।
8म गलिसकेको छु र चकनाचुर भएको छु,
मेरो हृदयमा कष्ट छ र म पीडाले कराउँछु।
9हे प्रभु! म के चाहन्छु, सो तपाईंले जान्नुहुन्छ,
मेरा सबै बिलौना तपाईंले सुन्नुहुन्छ।
10मेरो मुटु जोडले ढुकढुक गरिरहेको छ,
मेरो बल हराइसक्यो र मेरा आँखाले तिनका ज्योति हराइसके।
11मेरा घाउका कारणले मेरो साथी र छिमेकीहरू मेरो नजिक आउँदैनन्
र मेरा परिवार पनि मदेखि टाढा हुन्छन्।
12मलाई मार्न खोज्नेहरूले मलाई पासो थाप्छन्,
मेरो हानि गर्न खोज्नेहरूले मलाई नष्ट गर्ने धम्की दिन्छन्।
तिनीहरूले मेरो विरुद्धमा जाल रच्नदेखि कहिल्यै रोक्दैनन्।
13म बहिरोजस्तो भएको छु, केही सुन्न सक्दिनँ,
म लाटोजस्तो भएको छु, केही बोल्न सक्दिनँ।
14कान सुन्नै नसकेर कुराको जवाफ नदिने
मानिसजस्तो म बनेको छु।
15तर हे परमप्रभु! म तपाईंमा भरोसा राख्दछु।
अनि प्रभु! मेरो परमेश्वर! तपाईंले मलाई उत्तर दिनुहोस्।
16मेरा शत्रुहरूलाई मेरा सङ्कष्टमा रमाउन नदिनुहोस्!
म लडेको छु भनी तिनीहरू घमण्डले फुलिन नपाऊन्!
17मलाई एकोहोरो पीडा भइरहेको छ,
म ढल्न आँटेको छु।
18म मेरा पापहरू मानिलिंदछु,
तिनले गर्दा म चिन्ताले भरिएको छु।
19मेरा शत्रुहरू हट्टा-कट्टा र बलिया छन्,
बिनाकारण मलाई घृणा गर्नेहरू धेरै छन्।
20जसले भलाइका सट्टामा खराबी गर्छन्,
तिनीहरू मेरो विरुद्धमा छन् किनभने जे उचित छ, त्यो म गर्ने चेष्टा गर्छु।
21हे परमप्रभु, मलाई नछोड्नुहोस्!
हे मेरा परमेश्वर, मदेखि टाढा नहुनुहोस्!
22प्रभु, मेरा उद्धारक! अहिले मलाई सहायता गर्नुहोस्!
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 38: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.