भजनसंग्रह 59

59
सुरक्षाको लागि प्रार्थना
1हे मेरो परमेश्‍वर! शत्रुहरूबाट मलाई बचाउनुहोस्,
ममाथि हमला गर्नेहरूबाट मेरो रक्षा गर्नुहोस्!
2ती दुष्‍ट मानिसहरूबाट मलाई बचाउनुहोस्
र ती हत्‍याराहरूदेखि मेरो रक्षा गर्नुहोस्।
3-4हेर्नुहोस्! तिनीहरू मलाई मार्नलाई पर्खिरहेका छन्,
निष्‍ठुर मानिसहरू मेरो विरुद्धमा भेला भइरहेका छन्।
परमप्रभु! तिनीहरू आ-आफ्‍ना ठाउँमा हतारिएर गएका छन्,
तर मैले गरेका कुनै अपराध वा पाप वा ममा भएको कुनै दोषको कारणले होइन।
5हे परमप्रभु, सर्वशक्तिमान्‌ परमेश्‍वर!
उठ्‍नुहोस् र मेरो सहायता गर्न आउनुहोस्।
हे इस्राएलका परमेश्‍वर! आफैं हेर्नुहोस्, उठ्‍नुहोस् र अविश्‍वासीहरूलाई दण्‍ड दिनुहोस्,
दुष्‍ट देशद्रोहीहरूलाई दयामाया नदेखाउनुहोस्।
6तिनीहरू बेलुका फर्केर आउँछन्
र कुकुरजस्‍तै ङार्र-ङार्रङुर्र गर्दै सहरमा चारैपट्टि घुम्‍छन्।
7तिनीहरूले दिएका धम्‍की र अपमान सुन्‍नुहोस्,
तिनीहरूका जिब्रा तरवारजस्‍ता छन्,
तापनि तिनीहरू सोच्‍छन् कि कसैले हामीलाई सुन्‍दैन।
8परमप्रभु! तपाईं तिनीहरूमाथि हाँस्‍नुहुन्‍छ,
तपाईंले सबै अविश्‍वासीहरूको हाँसो उडाउनुहुन्‍छ।
9म तपाईंको सामर्थ्‍यमा भरोसा गर्दछु,
तपाईं मेरो शरणस्‍थान हुनुहुन्‍छ, हे परमेश्‍वर!
10मेरा परमेश्‍वरले मलाई प्रेम गर्नुहुन्‍छ र मकहाँ आउनुहुनेछ,
उहाँले मलाई आफ्‍ना शत्रुहरू हारेका देख्‍न दिनुहुनेछ।
11हे परमेश्‍वर! तिनीहरूलाई नमार्नुहोस्, नत्रता मेरा प्रजाले तिनीहरूलाई भुल्‍लान्,
आफ्‍नो शक्तिले तिनीहरूलाई जितेर छरपष्‍ट पार्नुहोस्,
हे प्रभु! हाम्रा रक्षक!
12तिनीहरूका ओठमा पाप छन्,
तिनीहरूको बोली पापले भरिएको छ,
आफ्‍नो घमण्‍डको पासोमा तिनीहरू परून्!
किनभने तिनीहरूले सराप्‍दछन् र ढाँट्दछन्।
13आफ्‍नो क्रोधमा तिनीहरूलाई नाश गर्नुहोस्,
तिनीहरूलाई पूरा नाश गर्नुहोस्,
तब सबैले जान्‍नेछन् कि परमेश्‍वरले इस्राएलमाथि राज्‍य गर्नुहुन्‍छ
र उहाँको राज्‍य सारा संसारमा फैलन्‍छ।
14मेरा शत्रुहरू साँझमा फर्केर आउँछन्
तिनीहरू कुकुरजस्‍ता ङार्र-ङार्रङुर्र गर्दै सहरमा चारैतिर घुम्‍छन्।
15तिनीहरू खानेकुरा खोजी हिँड्‍ने
र पूरा खाना नपाउँदा ङार्र-ङार्रङुर्र गर्ने कुकुरहरूजस्‍ता छन्।
16तर म तपाईंको शक्तिबारे गाउनेछु,
तपाईंको अटुट प्रेमबारे म प्रत्‍येक बिहान जोडसँग गाउनेछु,
तपाईं मेरा शरणस्‍थान
र सङ्कष्‍टको समयमा आश्रय हुनुभएको छ।
17मेरा रक्षक, म तपाईंको प्रशंसा गर्नेछु,
परमेश्‍वर मेरा शरणस्‍थान हुनुहुन्‍छ,
मलाई प्रेम गर्नुहुने परमेश्‍वर हुनुहुन्‍छ।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 59: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्