YouVersion लोगो
खोज आइकन

रोमी 7

7
विवाहको उदाहरण
1दाजुभाइहरू हो, म यो कुरा व्यवस्था जान्‍नेहरूलाई भन्‍दै छु। बाचुञ्‍जेल मात्र मानिसमा नियम लागु हुन्‍छ। यो कुरो तिमीहरूलाई थाहा छैन र? 2कुनै पनि विवाह गरेकी स्‍वास्‍नी मान्‍छे आफ्‍नो लोग्‍ने बाचुञ्‍जेल यहूदी नियमअनुसार उसैकी हुन्‍छे। तर लोग्‍ने मर्‍यो भने उसलाई त्‍यो नियमले बाँध्‍दैन। 3तर यदि आफ्‍नो लोग्‍ने हुँदाहुँदै अर्कोसँग गई भने उसले व्‍यभिचारको पाप गर्नेछ। तर लोग्‍ने मरेपछि भने ऊ त्‍यस व्यवस्थादेखि फुक्‍का हुन्‍छे र अर्कासँग विवाह गर्दा पनि उसलाई पापको दोष लाग्‍दैन। 4तिमीहरू ख्रीष्‍टको शरीरसँगै व्यवस्थाको निम्‍ति मर। त्‍यसै गरी मेरा दाजुभाइहरू, तिमीहरू पनि उहाँसँगै जिएकोले नयाँ जीवनमा हुन्‍छौ। अब तिमीहरू पनि अर्का मानिससँग विवाह गरेझैँ मरेकोबाट बिउँतनुभएको ख्रीष्‍टसँगै मिल्‍न सक्‍छौ। यसैकारण हामी परमेश्‍वरको लागि फल फलाउन सक्‍छौं। 5हामी एक समय हाम्रो शारीरिक स्‍वभावको अधीनमा थियौं। त्‍यस बेला व्यवस्थाले हाम्रा इच्‍छालाई उकुसमुकुस पारेर पाप बढाउँदथ्‍यो अनि हामीमा मृत्‍यु ल्‍याउने फल फलाउँथ्‍यो। 6अब हामी व्यवस्थाले भनेझैँ पुरानो तरिकाले होइन तर ख्रीष्‍टको आत्‍माको नयाँ तरिकाअनुसार सेवा गर्छौं किनभने अहिले हामी ख्रीष्‍टसँग मरेकाले यस व्यवस्थाको कैदबाट फुक्‍का भएका छौं।
व्यवस्था र पाप
7 # प्रस्‍थान 20:17; व्यवस्था 5:21 त्‍यसो भए हामीले के भन्‍ने? के व्यवस्थाले नै पाप ल्‍याएको हो त? कहाँ हुन्‍थ्‍यो, होइन। व्यवस्था नभएको भए त मैले पापै चिन्‍नेथिइनँ किनभने मलाई व्यवस्थाले लोभ नगर्नू भनेर नबताएको भए मैले लोभ गर्नुहुँदैन भनेर थाहै पाउनेथिइनँ। 8यस नियमले नगर्नू भनेको कुरा गर्दा कसो होला भनी पापले मौका छोपेर मभित्र लोभ उत्‍पन्‍न गरायो किनभने व्यवस्था नहुँदा पाप मुर्दाजस्‍तै हुन्‍छ। 9कुनै समय मसँग व्यवस्था थिएन, व्यवस्था पाउनासाथ मैले पाप चिनें। 10यसैले गर्दा मैले मर्नुपर्छ भनेर थाहा पाएँ। जीवन ल्‍याउनुपर्ने व्यवस्थाले त मेरो लागि मृत्‍यु पो ल्‍यायो 11#उत्‍पत्ति 3:13किनभने पापले धार्मिक आज्ञाको मौका छोपेर मलाई छक्यायो। यसरी पापले धार्मिक आज्ञालाई हतियार बनाएर मलाई मार्‍यो। 12व्यवस्था आफैं नै पवित्र छ अनि धार्मिक आज्ञा पनि पवित्र, न्‍यायी र असल छ। 13त्‍यसो हुँदा के यस्‍तो असल व्यवस्थाले मलाई नै मार्‍यो त? यसले होइन तर पापले पो मलाई मारेको हो। असल हतियार चलाएर पापले आफ्‍नो साँचो रूप देखाउन मलाई मार्‍यो। यसैकारण व्यवस्थाको हतियार चलाएर पाप अझ डरलाग्‍दो दुष्‍ट भयो।
मानिसका दुई स्‍वभाव
14व्यवस्था परमेश्‍वरको आत्‍माले दिनुभएको असल कुरो हो, यो हामीलाई थाहा छ। तर म शारीरिक स्‍वभावअनुसार चल्‍ने र कमारोझैँ पापमा बेचिएको मानिस हुँ। 15#गलाती 5:17मैले गरेको कुरो किन म गर्दै छु, म आफैं बुझ्‍दिनँ। मैले नचाहेको र घृणा गरेको काम मबाट हुन्‍छ तर मैले चाहेको काम मबाट हुँदैन। 16यसरी मैले गर्न नचाहेको काम गरें भने म व्यवस्थालाई ठीक छ भनी मान्‍छु। 17यसकारण अहिले मैले गरेको पाप मैले गरेको होइनँ, यो त मभित्र हुने पापले गरेको हो। 18कुनै असल कुराले मभित्र बास गर्दैन। मैले भनेको यो मेरो शारीरिक स्‍वभाव हो किनभने असल काम गर्ने इच्‍छा मभित्र हुँदाहुँदै पनि म यो गर्न सक्‍तिनँ। 19मैले इच्‍छा गरेको असल काम म गर्दिनँ; तर उल्‍टो मैले गर्न नचाहेको खराब कामचाहिँ म गरिरहन्‍छु। 20मैले इच्‍छा नगर्दा-नगर्दै पनि म त्‍यो काम गर्छु भने त्‍यो काम गर्ने त म होइनँ तर मभित्र बास गर्ने पाप हो।
21यसकारण असल काम गर्न खोज्‍दाखोज्‍दै पनि खराब काम मेरो साथ हुन्‍छ। यही नियमले मेरो जीवनमा काम गरेको अनुभव म गर्छु। 22मेरो आत्‍माचाहिँ परमेश्‍वरको नियमले खुसी हुन्‍छ। 23तर ममा भने म अर्कै शक्तिले काम गरेको देख्‍छु। यो शक्तिचाहिँ मेरो आफ्‍नै मनले मान्‍न खोजेको नियमको विरोधमा लड्छ। यसैले मलाई पापको कैदी बनाउँछ र पापले ममाथि राज गर्छ। 24-25मेरो हालत यस्‍तै छ, म आफैं त मन र आत्‍माले परमेश्‍वरको सेवा गर्छु तर ममा रहेको शारीरिक स्‍वभावले कमारोजस्‍तै पापकै सेवा गर्दछ, अहो म कस्‍तो अभागी मानिस, पाप र मृत्‍युको कैदबाट कसले मलाई छुटकारा देला? तर परमेश्‍वरलाई धन्‍यवाद होस्। हाम्रा ख्रीष्‍ट येशूले नै यसबाट हामीलाई छुटकारा दिनुभएको छ।

अहिले सेलेक्ट गरिएको:

रोमी 7: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्