1 थेसलोनिकी 2
2
थेसलोनिकीमा पावलको सेवा
1दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूसँगको हाम्रो भेटघाट भएको व्यर्थ भएन भनी तिमीहरू आफै जान्दछौ। 2तिमीहरूलाई थाहै छ, कि हामीले फिलिप्पीमा कष्ट भोगेर नराम्रोसँग अपमानित हुनुपरेको थियो, तर परमेश्वरको सहायताले घोर विरोध हुँदाहुदै पनि हामीले तिमीहरूलाई सुसमाचार साहससाथ प्रचार गर्यौं। 3किनकि हाम्रो अर्तीउपदेश छल वा अशुद्ध विचारबाट उब्जिएका होइनन्, न त हामीले तिमीहरूलाई धोका दिने कोसिस नै गरिरहेका छौं। 4तर परमेश्वरले सुसमाचार सुम्पिन योग्य ठहराउनुभएका मानिसहरूझैं हामी बोल्दछौं। हामी मानिसहरूलाई प्रसन्न पार्न होइन, तर हाम्रा हृदय जाँच गर्नुहुने परमेश्वरलाई प्रसन्न पार्न कोसिस गर्दछौं। 5तिमीहरूलाई थाहै छ, कि हामीले कहिल्यै चापलूसी गरेनौं। परमेश्वर हाम्रो साक्षी हुनुहुन्छ—हामीले तिमीहरूका रकम पाउनका लागि तिमीहरूसँग मित्रताको छल गरेका होइनौं। 6हामीले न त मानिसहरूबाट, न त तिमीहरू अथवा अरू कसैबाट प्रशंसा पाउने आशा गर्यौं। त्यसो त हामी ख्रीष्टका प्रेरितहरू भएको कारणले आफ्ना अधिकार प्रयोग गर्न सक्थ्यौं। 7तर आफ्ना साना बालबालिकाहरूको हेरचाह गर्ने आमाझैं,
तिमीहरूका बीचमा हामी कोमल भयौं। 8यसरी हामी तिमीहरूलाई वास्ता गर्छौं; किनकि हामीले तिमीहरूलाई धेरै प्रेम गर्यौं; यसैले तिमीहरूसँग परमेश्वरको सुसमाचार मात्र होइन, तर आफ्नै जीवन समेत बाँड्न खुशी भएका थियौं। 9किनकि दाजुभाइ-दिदीबहिनीहरूहो, परमेश्वरको सुसमाचार तिमीहरूलाई प्रचार गरिँदा कसैलाई पनि भार नहोस् भनेर हामीले दिनरात कडा परिश्रम गर्यौं भन्ने कुरा निश्चय नै तिमीहरूलाई थाहा छ। 10तिमीहरू र परमेश्वर स्वयम् साक्षी हुनुहुन्छ, कि तिमी विश्वासीहरूका बीचमा हाम्रो व्यवहार पवित्र, धार्मिक र निर्दोष थियो। 11किनकि तिमीहरूलाई थाहा छ, तिमीहरू हरेकसँग बुबाले आफ्ना छोराछोरीहरूलाई गरेझैं हामीले तिमीहरूसँग व्यवहार गर्यौं; 12ताकि उत्साह, सान्त्वना र आग्रहसित तिमीहरूले परमेश्वरको योग्य चाल चलेको होस्; जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ।
13अनि यस कुराको निम्ति पनि हामी परमेश्वरलाई निरन्तर धन्यवाद चढाउँछौं कि, तिमीहरूले हामीबाट सुनेका परमेश्वरको वचनलाई मानिसको वचनजस्तो होइन, तर परमेश्वरकै वचनको रूपमा स्वीकार गर्यौ; जुनचाहिँ वास्तवमा नै परमेश्वरको वचन हो, अनि जुन वचनले तिमी विश्वास गर्नेहरूमा काम पनि गरिरहेको छ। 14किनकि दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरू ख्रीष्ट येशूमा यहूदियामा भएका परमेश्वरका मण्डलीहरूका अनुकरण गर्नेहरू भयौ; तिमीहरूले आफ्नै मानिसहरूबाट जे कष्ट भोग्यौ, त्यही ती मण्डलीहरूले यहूदीहरूबाट कष्ट भोगे। 15ती यहूदीहरूले नै प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे, अनि हामीलाई पनि लखेटे। तिनीहरूले परमेश्वरलाई अप्रसन्न तुल्याउँछन्, र सबै मानिसहरूका विरोधी हुन्। 16गैरयहूदीहरूको उद्धार नहोस् भनेर तिनीहरूले हामीलाई अरू जातिका मानिसहरूकहाँ मुक्तिको कुरा प्रचार गर्न दिएनन्। यसरी तिनीहरूले सधैं आफ्ना पापहरूको थुप्रो लगाउँछन्। यसको परिणाम स्वरूप परमेश्वरको क्रोध तिनीहरूमाथि आइपरेको छ।
थेसलोनिकीहरूलाई फेरि भेट्ने पावलको उत्कट इच्छा
17तर दाजुभाइ-दिदीबहिनीहरूहो, हामी छोटो समयको लागि तिमीहरूबाट छुट्टिएका थियौ (शरीरमा, सोचाइमा होइन)। हाम्रो उत्कट इच्छाको कारण तिमीहरूलाई भेट्ने कोसिस गर्यौं। 18हामी तिमीहरूकहाँ आउन खोजेका थियौं। म पावल, आफैले अनेक पटक प्रयास गरें, तर शैतानले हामीलाई बाधा गर्यो। 19किनकि हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन हुँदा उहाँको उपस्थितिमा हाम्रो आशा, हाम्रो आनन्द अथवा त्यो मुकुट जसमा हामी गौरव गर्नेछौं, के तिमीहरू नै होइनौ र? 20निश्चय तिमीहरू नै हाम्रा गौरव र आनन्द हौ।
अहिले सेलेक्ट गरिएको:
1 थेसलोनिकी 2: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.