18
कोरिन्थ सहरमा पावलको सेवकाइ
1यसपछि पावल एथेन्सलाई छोडेर कोरिन्थमा गए। 2त्यहाँ उनले पोन्टसका निवासी अक्विला नाम गरेका एक जना यहूदीलाई भेटे। तिनी आफ्नी पत्नी प्रिस्किलासँग इटालीयाबाट हालसालै त्यहाँ आएका थिए। किनकि क्लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्केर जानू भनी हुकुम गरेका थिए। पावल तिनलाई भेट्न गए। 3तिनको पेसा पनि पाल बनाउने भएकोले पावल पनि तिनीहरूसँगै बसे, र काम गर्न लागे। 4पावलले हरेक शब्बाथमा सभाघरहरूमा यहूदी र ग्रीकहरूसँग तर्कवितर्क गर्थे, र तिनीहरूलाई बुझाउने गर्थे।
5जब सिलास र तिमोथी म्यासिडोनियाबाट त्यहाँ आए, तब पावलले यहूदीहरूलाई येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने साक्षी दिँदै, उहाँको प्रचारमा आफूलाई पूर्ण समर्पित गराइरहे। 6तर जब यहूदीहरूले पावलको विरोध गर्दै तिनको अपमान गरे, तब त्यसको प्रतिवादमा तिनले आफ्नो लुगा टक्टक्याउँदै तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूमाथि नै परोस्! मचाहिँ यसमा निर्दोष छु। अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु।”
7त्यसपछि पावल सभाघर छोडेर नजिकैको तीतस युस्तसको घरमा गए, जो परमेश्वरको भक्ति गर्ने मानिस थिए। 8सभाघरका शासक क्रिस्पस र उनका सम्पूर्ण परिवारले प्रभुमा विश्वास गरे; त्यसै गरी पावललाई सुन्नेहरूमध्ये धेरैजसो कोरिन्थीहरूले पनि विश्वास गरे र तिनीहरूले बप्तिस्मा लिए।
9एक रात पावलसँग प्रभुले दर्शनमा यसो भन्नुभयो: “तिमी नडराऊ; वचनको प्रचार गरिराख, चुप नलाग; 10किनकि म तिम्रो साथमा छु, र कसैले तिमीमाथि आक्रमण गर्नेछैन र तिमीलाई चोट पुर्याउनेछैन। किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्।” 11यसरी पावलले तिनीहरूलाई परमेश्वरको वचनको शिक्षा दिँदै कोरिन्थ सहरमा डेढ वर्षसम्म बसे।
12गलियोन अखैयाका शासक भएको समयमा कोरिन्थका यहूदीहरूले संयुक्त रूपमा पावलमाथि आक्रमण गरे, र उनलाई अदालतसमक्ष ल्याए। 13उनलाई तिनीहरूले यस्तो आरोप लगाए, “यो मानिसले हाम्रो व्यवस्थाका विरुद्ध परमेश्वरको आराधना गर्न यहाँका मानिसहरूलाई उक्साइरहेको छ।”
14जब पावल बोल्नै लागेका थिए, गलियोनले तिनीहरूलाई भने, “यदि तिमी यहूदीहरू कुनै किसिमको गम्भीर अपराध वा दुर्व्यवहारका बारेमा असन्तोष प्रकट गर्दैछौ भने तिमीहरूका कुरा सुन्न मलाई न्यायोचित हुनेछ। 15तर यो त वचनहरू, नामहरू र तिमीहरूका आफ्नै व्यवस्थाका बारेमा प्रश्नहरू भएकाले यो विवाद तिमीहरू आफैँले मिलाउनू; मचाहिँ यस्ता कुराहरूमा न्याय गर्दिनँ।” 16तसर्थ उनले तिनीहरूलाई अदालतबाट लखेटिदिए। 17अनि भीड सभाघरका शासक सोस्थेनेसमाथि जाईलागे र तिनलाई अदालतमै कुट्न थाले। तर गलियोनले कुनै चासो देखाएनन्।
प्रिस्किला, अक्विला र अपोल्लोस
18पावल धेरै दिनसम्म कोरिन्थमै बसे। त्यसपछि तिनी विश्वासीहरूसँग बिदा भएर प्रिस्किला र अक्विलालाई आफ्नो साथ लिएर जहाजबाट सिरियातिर लागे। जहाजमा चढ्नुभन्दा अगि आफ्नो एउटा भाकलको कारण उनले किंक्रियामा कपाल खौरे। अनि 19तिनीहरू एफिसस आइपुगेपछि पावलले प्रिस्किला र अक्विलालाई त्यहीँ छोडे। उनीचाहिँ त्यहाँको एउटा सभाघरमा गए र यहूदीहरूसँग तर्क गर्न लागे। 20तिनीहरूले अझ केही समय बस्न उनलाई अनुरोध गरे, तर उनले सो मानेनन्। 21तर त्यहाँबाट बिदा लिने बेलामा पावलले यसरी प्रतिज्ञा गरे, “परमेश्वरको इच्छा भयो भने म फेरि आउनेछु।” त्यसपछि उनले एफिससबाट जहाजको यात्रा गरे। 22जब तिनी कैसरियामा उत्रिए, तब यरूशलेममा गए। अनि मण्डलीमा सबैलाई अभिवादन गरेर तल एन्टिओखियातिर गए।
23एन्टिओखियामा केही समय बसेर, पावल त्यहाँबाट पनि हिँडे; अनि गलातिया र फ्रिगियाका सम्पूर्ण क्षेत्रहरूका चेलाहरूलाई सामर्थी बनाउँदै एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दैगए।
24अलेक्जेन्ड्रियामा जन्मेका बासिन्दा अपोल्लोस नाम गरेका एक जना यहूदी मानिस एफिससमा आए। तिनी कुशल वक्ता र पवित्रशास्त्रको धेरै ज्ञान भएका मानिस थिए। 25तिनी प्रभुको मार्गमा शिक्षा पाएका थिए। तिनी आत्मामा बडो उत्साहकासाथ बोल्थे। अनि येशूका बारेमा सही शिक्षा दिन्थे; तर तिनलाई यूहन्नाको बप्तिस्माको बारेमा मात्रै थाहा थियो। 26तिनी बडो साहससाथ सभाघरहरूमा बोल्न थाले। जब प्रिस्किला र अक्विलाले तिनका कुरा सुने, तब तिनलाई उनीहरूले आफ्ना घरमा निमन्त्रणा गरे। अनि परमेश्वरको मार्गका बारेमा अझ प्रष्टसँग तिनलाई सम्झाइदिए।
27जब अपोल्लोसले अखैया जाने इच्छा गरे, तब दाजुभाइ-दिदीबहिनीहरूले तिनलाई उत्साह दिएर त्यहाँका चेलाहरूले तिनलाई स्वागत गरून् भनी पत्र लेखे। तिनी त्यहाँ पुगेर अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई धेरै सहायता गरे। 28किनकि तिनले यहूदीहरूलाई खण्डन गर्दै पवित्रशास्त्रको आधारमा येशू नै ख्रीष्ट हुनुहुन्छ भनी प्रमाण दिए।