1
1आमोसका वचनहरू, जो तकोका गोठालाहरूमध्येका एक जना थिए। जब उज्जियाह यहूदाका राजा थिए र यारोबामका छोरा योआशचाहिँ इस्राएलका राजा थिए, तब भुइँचालो जानुभन्दा दुई वर्षअगि आमोसले इस्राएलको बारेमा यस्तो दर्शन देखेका थिए।
2तिनले भने:
“याहवेह सियोन पर्वतदेखि सिंहझैँ गर्जनुहुन्छ,
र यरूशलेमबाट चर्को आवाजमा गर्जनुहुन्छ;
गोठालाका खर्कहरू सुकेर जान्छन्
र कर्मेलको टाकुरा ओइलाउँछ।”
इस्राएलका छिमेकीहरूमाथि न्याय
3याहवेह यसो भन्नुहुन्छ:
“दमस्कसका तीन वटा पापहरूका कारण,
अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।
किनकि त्यसले फलामका दाँतहरू भएका
डण्डाले गिलादलाई दाइँ गरेकी छे;
4म हजाएलको घरमा आगो पठाउनेछु,
जसले बेन-हददका किल्लाहरूलाई भस्म पार्नेछ।
5म दमस्कसका ढोकालाई फोरिदिनेछु;
म अवेनको बेँसीमा बस्ने राजालाई नाश गर्नेछु;
अनि बेथ-अदनमा राजदण्ड लिने राजालाई म नाश गर्नेछु।
अरामका मानिसहरू निर्वासित भएर कीर देशमा जानेछन्,”
याहवेहले भन्नुहुन्छ।
6याहवेह यसो भन्नुहुन्छ:
“गाजाका तीन वटा पापहरूका कारण,
अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।
किनकि गाजाले सारा समुदायलाई कैदमा लगेकी छे;
अनि एदोमको हातमा तिनीहरूलाई बेचेकी छे;
7म गाजाका पर्खालहरूमाथि आगो पठाउनेछु,
जसले त्यसका किल्लाहरू भस्म पार्नेछ।
8म अश्दोदको राजा
र अश्कलोनको राजदण्ड लिनेलाई नाश गर्नेछु।
सबै पलिश्तीहरू नमरेसम्म,
म मेरो हात एक्रोनको सहरको विरुद्धमा उठाउनेछु,”
प्रभु याहवेह भन्नुहुन्छ।
9याहवेह यसो भन्नुहुन्छ:
“टायरका तीन वटा पापहरूका कारण,
अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।
किनकि त्यसले मित्रताको सन्धिलाई अनादर गर्दै
एदोमलाई कैदीको सारा समुदाय बेचेकी छे;
10म टायरका पर्खालहरूमाथि आगो पठाउनेछु,
जसले त्यसका बलिया किल्लाहरूलाई भस्म पार्नेछ।”
11याहवेह यसो भन्नुहुन्छ:
“एदोमका तीन वटा पापहरूका कारण,
अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।
किनकि एदोमले आफ्नो भाइलाई तरवारले खेद्यो,
र देशका स्त्रीहरूलाई मार्यो;
किनभने त्यसको रिस निरन्तर उठिरह्यो,
र त्यसको रिसको ज्वाला दन्किरह्यो।
12म तेमानमाथि आगो पठाउनेछु;
त्यसले बोज्राका किल्लाहरूलाई भस्म पार्नेछ।”
13याहवेह यसो भन्नुहुन्छ:
“अम्मोनका तीन वटा पापहरूका कारण,
अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।
किनकि अम्मोनले आफ्ना सिमानाहरू बढाउनका निम्ति
गिलादका गर्भवती स्त्रीहरूका पेट तरवारले चिरिदियो।
14म रब्बाका पर्खालहरूमाथि आगो पठाउनेछु,
जसले त्यसको किल्लाहरू भस्म पार्नेछ;
लडाइँको दिनमा युद्ध ध्वनिहरूका बीचमा,
र आँधीबेहरीको दिनमा प्रचण्ड बतासको बीचमा भस्म पार्नेछ।
15रब्बाका राजाका#1:15 अथवा मोलेखका साथै तिनी र तिनका अधिकारीहरू
सबै एकसाथ निर्वासनमा लगिनेछन्,”
याहवेह भन्नुहुन्छ।