12
1यसकारण यतिका साक्षीका ठूला बादलले हामीलाई घेरिराखेका हुनाले, हामीलाई बाधा पुर्याउने टन्टाहरू, अनि सजिलैसित अलमल्याउने पापहरूजस्ता हरेक थोक त्यागेर, हाम्रो अघि राखिएको दौड धीरजसाथ दगुरौं। 2अनि हाम्रा विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हाम्रा आँखा केन्द्रित गरौं, जसले आफ्नो अघि राखिएको आनन्दको निम्ति लाजको उपेक्षा गर्दै क्रूसको कष्ट भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिने हाततिर विराजमान हुनुभयो। 3पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, यसरी तिमीहरू थाक्नेछैनौ र हरेस खानेछैनौ।
परमेश्वरको अनुशासन
4तिमीहरूको पापको संघर्षको विरुद्धमा तिमीहरूले रगत बग्ने गरी त्यसको विरोध गरेका छैनौ। 5अनि पिताले आफ्नो पुत्रलाई भनेझैं तिमीहरूलाई भनिएका परमेश्वरको ढाडसका वचन तिमीहरूले पूरै भुलिसक्यौ?
“हे मेरा पुत्र, परमेश्वरको अनुशासनलाई हल्का नठान,
अनि उहाँले तिमीलाई हप्काउँदा हताश नहोऊ;
6किनकि परमेश्वरले आफूले प्रेम गरेकाहरूलाई अनुशासन गर्नुहुन्छ,
अनि आफूले पुत्र भनी ग्रहण गरेकाहरूलाई उहाँले दण्ड दिनुहुन्छ।”#12:6 हितो 3:11, 12
7कठिनाइलाई अनुशासन ठानी भोग; किनकि परमेश्वरले तिमीहरूलाई सन्तानहरूझैं व्यवहार गर्दै हुनुहुन्छ। पिताले अनुशासन नगरेको कुनचाहिँ पुत्र होला र? 8अनि सबैजना अनुशासनको भागी भएर जान्छन्; यदि तिमीहरूलाई अनुशासन गरिएन भने ता, तिमीहरू वैधानिक होइनौ, साँचो छोराछोरीहरू होइनौ। 9यसबाहेक हामीलाई अनुशासन गर्ने हाम्रा सांसारिक पिताहरू थिए, र हामीले तिनीहरूलाई आदर गर्यौं भने, झन् कति बढी हाम्रा आत्माहरूका पिताको अधीनतामा रहनुपर्छ र जिउनुपर्छ! 10उहाँहरूलाई असल लागेअनुसार हामीलाई केही समयसम्म अनुशासन गर्नुभयो, तर हामी परमेश्वरको पवित्रतामा सहभागी होऔं भनेर परमेश्वरले हामीलाई हाम्रै भलाइको लागि अनुशासन गर्नुहुन्छ। 11कुनै पनि अनुशासन त्यस बेलाको लागि सुखद हुँदैन, तर कष्टदायक हुन्छ। त्यसो भए तापनि पछि गएर यसमा तालिम पाएकाहरूको लागि धार्मिकता र शान्तिको फल उत्पन्न हुन्छ।
12यसकारण तिमीहरूका कमजोर हातहरू अनि दुर्बल घुँडाहरू बलियो बनाओ। 13“तिमीहरूका खुट्टाका लागि बाटो समतल बनाओ”#12:13 हितो 4:26 ताकि अशक्त अङ्ग नखुस्कोस्, तर निको होस्।
प्रोत्साहन र चेतावनी
14हरेक मानिससित मिलापमा रहने, अनि पवित्रतामा हुने भरमग्दूर प्रयत्न गर; किनकि पवित्रताविना कसैले प्रभुलाई देख्नेछैन। 15ध्यान देओ कि, कुनै मानिस परमेश्वरको अनुग्रहबाट वञ्चित नहोस्, नत्र ता तीतोपनको जरा टुसाएर त्यसले फाटो ल्याउला, र धेरैजनालाई बिटुलो पार्ला। 16अनैतिक सम्बन्ध राख्ने कोही नहोस्, अथवा जेठो छोरो भएर पनि एक टुक्रा खानेकुराको लागि आफ्नो पैतृक अधिकार बेच्ने एसावजस्तै अधर्मी नहोस् भन्ने कुरामा ध्यान देओ। 17पछिबाट आफ्नो पैतृक अधिकार आशिष उपभोग गर्ने इच्छा गर्दा, तिनी तिरष्कृत भएका थिए भन्ने तिमीलाई थाहै छ। यद्यपि तिनले आँसुसहित त्यो आशिष प्राप्त गर्न खोजेका थिए; तर तिनले जे गरेका थिए, त्यसलाई सपार्ने मौका नै पाएनन्।
भय र आनन्दको पर्वत
18तिमीहरू छुन सकिने त्यस सियोन पर्वतमा आएका छैनौ, जहाँ आगोले जलिरहेको, अन्धकार, कालो बादल छाएको र आँधी चलिरहेको थियो। 19तुरहीको चर्को स्वर अनि शब्द निकालेर बोल्ने आवाजमा पनि आएका छैनौ, जसलाई सुनेपछि तिनीहरूले अब यस्तो शब्द सुन्न नपरोस् भनी विन्ती गरेका थिए, 20किनकि, “कुनै जनावरले समेत त्यस पर्वतलाई छोए भने त्यसलाई ढुङ्गाले हिर्काएर मार्नू”#12:20 प्रस 19:12, 13 भन्ने आदेश तिनीहरूले सहन सकेनन्। 21त्यो दृश्य यति डरलाग्दो थियो कि, मोशाले पनि भने, “म डरले कामिरहेको छु।”#12:21 व्यव 9:19
22तर तिमीहरू त सियोन पर्वतमा, जिउँदो परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आएका छौ। तिमीहरू असंख्य स्वर्गदूतहरू भएको आनन्दमय सभामा आएका छौ, 23अर्थात् पहिला जन्मेकाहरूको मण्डलीमा, जसका नाउँहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका न्यायकर्ता परमेश्वरकहाँ, अनि सिद्ध तुल्याइएका धार्मिक मानिसहरूका आत्मामा, 24नयाँ करारका मध्यस्थ येशूकहाँ, अनि हाबिलको रगतभन्दा अझ राम्रोसँग बोलिदिने रगतको छिट्काउमा आएका छौ।
25परमेश्वर, जो बोल्नुहुन्छ, उहाँलाई इन्कार गर्नुहुँदैन भन्ने कुरामा ध्यान देओ। संसारमा चेतावनी दिनेलाई इन्कार गर्दा तिनीहरू उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेलाई इन्कार गर्दा हामी कसरी उम्कन सक्छौं? 26त्यस बेला त उहाँको सोरले पृथ्वी हल्लाएको थियो, तर अब त उहाँले यसो भनी प्रतिज्ञा गर्नुभएको छ, “फेरि एकपल्ट म पृथ्वी मात्र होइन, तर स्वर्गलाई पनि हल्लाउनेछु।”#12:26 हाग्गै 2:6 27त्यो “फेरि एकपल्ट” भन्ने शब्दहरूले यो देखाउँछ कि, हल्लाउन सकिने कुराहरू, अर्थात् सृजिएका कुराहरू हटाइनेछन्; ताकि हल्लाउन नसकिने कुराहरूचाहिँ रहिरहून्।
28यसैकारण हामीले एउटा नहल्लिने राज्य पाउने हुनाले हामी धन्यवादी भई परमेश्वरलाई भक्ति र भयको साथ स्वीकार्य आराधना चढाऔं, 29किनकि हाम्रो “परमेश्वर भस्म गर्ने आगो हुनुहुन्छ।”#12:29 व्यव 4:24