YouVersion लोगो
खोज आइकन

हिब्रूहरू 9

9
सांसारिक वासस्थानमा आराधना
1अब परमेश्‍वरले इस्राएलीहरूसँग बाँध्नुभएको पहिलो करारमा आराधनाको नियम र आराधना गर्ने सांसारिक पवित्रस्थान पनि थियो। 2यसरी वासस्थान तयार भयो। वासस्थानको पहिलो भागमा (पहिलो पर्दाको पछाडि) सामदान थियो, र पवित्र रोटी राखिएको टेबुल थियो; जसलाई पवित्रस्थान भनिन्थ्यो। 3दोस्रो पर्दाको पछाडि अर्को भाग थियो; जसलाई महा पवित्रस्थान भनिन्थ्यो, 4जसमा सुनको धूपौरो र सुनले मोहोरिएको करारको सन्दुक थियो। यस सन्दुकमा मन्‍ना राखिएको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलापाटीहरू थिए। 5सन्दुकमाथि पाप क्षमाको ठाउँको ढकनीमा छाया पारिरहेका महिमाका करूबहरू#9:5 करूबहरूलाई सामान्यतया परमेश्‍वरका स्वर्गदूतहरू बराबर मानिन्थ्यो, तर हामी यकिनका साथ भन्‍न सक्दैनौं, कि कुन प्रकारको पखेटा भएको प्राणी हो। यसको शरीर जनावर अथवा मानिसको जस्तो हुन्थ्यो भनेर भनिन्छ। थिए, तर हामी यी कुराहरू अहिले विस्तारपूर्वक व्याख्या गर्न सक्दैनौं।
6यसरी यी सबै थोक मिलाइएपछि, पूजाहारीहरू आफ्ना सेवा गर्नलाई नियमित रूपले पवित्रस्थानको पहिलो भागमा प्रवेश गर्दथे। 7तर दोस्रो भागमा चाहिँ प्रधान पूजाहारी मात्र वर्षमा एकपल्ट पस्‍थे, रगतविना कहिल्यै पनि होइन, अनि तिनले त्यो रगत आफ्नै लागि र मानिसहरूले अज्ञानतामा गरेका पापहरूको निम्ति चढाउनलाई जान्थे। 8यसबाट पवित्र आत्माले यो देखाइरहनुभएको थियो कि, पहिलो वासस्थान अस्तित्वमा रहुन्जेल महा पवित्रस्थानमा जाने बाटो देखाइएको थिएन। 9अहिलेको समयको लागि यो एउटा दृष्‍टान्त हो, जसले यो सङ्केत गर्दछ, कि चढाइएका भेटी र बलिदानहरूले आराधना गर्नेको विवेकलाई शुद्ध गर्न सकेनन्। 10ती नयाँ सुधारको समय नआएसम्म खानेकुरा र पिउने कुरा मात्र र विभिन्‍न विधिका शुद्धीकरणका बाहिरी नियम मात्र हुन्।
ख्रीष्‍टको रगत
11यहाँ पहिलेदेखि नै स्थापना भएका#9:11 केही पा.लि.हरूले यी भविष्यमा स्थापना हुने कुरा हुन् भनी भनेका छन् असल व्यवस्थाहरूको प्रधान पूजाहारीको रूपमा जब ख्रीष्‍ट आउनुभयो, उहाँ अझ महान् र सिद्ध वासस्थानद्वारा जानुभयो, जुनचाहिँ मानिसले बनाएको होइन अर्थात् जुन यो सृष्‍टिको भाग होइन। 12उहाँ बोका र बाछाहरूको रगत लिएर प्रवेश गर्नुभएन, तर आफ्नै रगत लिएर सधैंको लागि एकैपल्ट महा पवित्रस्थानमा प्रवेश गर्नुभयो, र हाम्रो लागि अनन्त उद्धार प्राप्‍त गर्नुभयो। 13बोका, साँढेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमा छर्किंदा तिनीहरू बाहिरी रूपमा शुद्ध हुन्छन् भने 14झन् आफूलाई परमेश्‍वरमा अनन्त आत्माद्वारा निष्खोट अर्पण गर्नुहुने ख्रीष्‍टको रगतले मृत्युमा लैजाने पाप कर्महरूदेखि हाम्रा विवेकलाई कति बढी शुद्ध पार्ला! ताकि हामीले जीवित परमेश्‍वरको सेवा गर्न सकौं।
15यसकारण ख्रीष्‍ट नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ, ताकि बोलाइएकाहरूले अनन्तको उत्तराधिकार पाऊन् अर्थात् मानिसहरूले पहिलो करार अन्तर्गत गरेका पापहरूबाट छुटकारा पाऊन् भनेर उहाँ छुटकाराको मोल भई मर्नुभएको छ।
16इच्छापत्रको विषयमा चाहिँ, यसलाई बनाउनेको मृत्यु प्रमाणित भएको हुनुपर्छ; 17किनकि कोही मरेपछि मात्र इच्छापत्र प्रयोगमा आउँछ; यसलाई बनाउने जीवित रहुन्जेल त्यो कहिल्यै पनि प्रयोगमा आउँदैन। 18यसैकारण पहिलो करार पनि रगतविना कार्यान्वयन भएको थिएन। 19जब मोशाले सबै मानिसहरूलाई व्यवस्थाको हरेक आज्ञा घोषणा गरे, तब तिनले पानी, रातो ऊन र हिसपका हाँगाहरूसित बाछाहरूको रगत लिए, अनि चर्मपत्र र सबै मानिसहरूमाथि छर्किदिए। 20तिनले भने, “यो करारको रगत हो, जुनचाहिँ परमेश्‍वरले तिमीहरूलाई पालन गर्नू भनेर आज्ञा दिनुभयो।”#9:20 प्रस 24:8 21यस्तै प्रकारले तिनले वासस्थान र विधिहरूमा प्रयोग गरिने हरेक थोकमाथि रगत छर्के। 22वास्तवमा व्यवस्थाअनुसार प्रायः हरेक थोक नै रगतद्वारा शुद्ध गरिनुपर्छ; अनि रगत नबगाईकन पाप क्षमा नै हुँदैन।
23तब स्वर्गीय चीजहरूका नक्‍कलहरूलाई यी बलिदानहरूले शुद्ध हुनु खाँचो परेको थियो भने स्वर्गकै कुरालाई शुद्ध पार्न त अझ उत्तम बलिको आवश्यकता पर्‍यो। 24किनकि ख्रीष्‍ट मानिसद्वारा बनिएको वासस्थानमा प्रवेश गर्नुभएन, जुन साँचो पवित्रस्थानको नक्‍कल थियो, तर स्वर्गमा प्रवेश गर्नुभयो, त्यसैले अब हाम्रो लागि परमेश्‍वरको उपस्थितिमा#9:24 उपस्थितिमा जसको अर्थ मध्यस्थता गर्नु हुन्छ। देखा पर्नुहुन्छ। 25हरेक वर्ष प्रधान पूजाहारी अरूको रगत लिएर महा पवित्रस्थानभित्र प्रवेश गरेजस्तै, उहाँ आफूलाई बारम्बार अर्पण गर्न स्वर्गमा पस्‍नुभएन। 26त्यसो भएको भए त ख्रीष्‍टले संसारको सृष्‍टिदेखि नै धेरैपल्ट कष्‍ट भोग्नुपर्नेथियो; तर अब उहाँ आफ्नै बलिदानद्वारा पाप हरण गर्नलाई यस युगको अन्त्यमा एकैचोटि सदाको लागि देखा पर्नुभएको छ। 27जसरी मानिसले एकपल्ट मर्नु निश्‍चित छ, र त्यसपछि न्यायको सामना गर्नुपर्छ, 28त्यसरी नै ख्रीष्‍ट पनि धेरैको पाप उठाइलैजान एकैपल्ट बलिदान हुनुभयो; अनि दोस्रोपल्ट देखा पर्नुहुँदा पाप बोक्न होइन, तर उहाँको प्रतीक्षा गर्नेहरूलाई मुक्‍ति ल्याउन आउनुहुनेछ।

अहिले सेलेक्ट गरिएको:

हिब्रूहरू 9: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्