YouVersion लोगो
खोज आइकन

यशैया 3

3
यरूशलेम र यहूदामाथि न्याय
1अब हेर, प्रभु
सेनाहरूका याहवेहले
यरूशलेम र यहूदाबाट
सर-सामान र सहारा दुवै लैजान लाग्नुभएको छ:
सबै भोजनका सरसामानहरू र पानीका मुहानहरू,
2वीर र योद्धा,
न्यायकर्ता र अगमवक्ता,
जोखना हेर्ने र वृद्ध मानिसहरू,
3पचास माथिका सेनापति र उच्‍च पदाधिकारी,
सल्‍लाहकार, सिपालु कारिगर र चतुर जादुगर।
4“म ठिटाहरूलाई तिनीहरूका शासक बनाउनेछु;
बालबालिकाहरूले तिनीहरूमाथि शासन गर्नेछन्।”
5मानिसहरूले एक-अर्कालाई अत्याचार गर्नेछन्;
मानिसको विरुद्धमा मानिस, छिमेकीको विरुद्धमा छिमेकी उठ्नेछ।
वृद्धको विरुद्धमा जवान,
र सम्मानितको विरुद्धमा तुच्छ खडा हुनेछ।
6एउटा मानिसले आफ्ना दाजुभाइहरूमध्ये
एक जनालाई आफ्ना बुबाको घरमा समातेर भन्‍नेछ,
“तिमीसित राम्रो पहिरन छ, तिमी नै हाम्रो अगुवा बन,
र यस भग्नावशेषको जिम्मा लेऊ!”
7तर त्यस दिन त्यसले कराएर भन्‍नेछ,
“म उपचार गर्ने मानिस होइन।
मेरो घरमा भोजन र वस्त्र केही पनि छैन;
मलाई मनिसहरूका अगुवा नबनाओ।”
8यरूशलेम धरमरिँदैछ,
यहूदा लड्दैछ;
तिनीहरूका वचन र कामहरू याहवेहको विरुद्ध छन्;
तिनीहरू उहाँको महिमित उपस्थितिको बेवास्ता गर्छन्।
9तिनीहरूका अनुहारले तिनीहरूकै विरुद्धमा साक्षी दिन्छ;
तिनीहरूले सदोमले झैँ आफ्ना पापको प्रदर्शन गरेका छन्;
तिनीहरूले ती लुकाउँदैनन्।
तिनीहरूलाई धिक्‍कार!
तिनीहरू आफैँले आफूमाथि विपत्ति ल्याएका छन्।
10धर्मीहरूलाई भन, तिनीहरूलाई राम्रै हुनेछ;
किनकि तिनीहरूले आफ्ना कामहरूको फल उपभोग गर्नेछन्।
11दुष्‍टहरूलाई धिक्‍कार!
तिनीहरूमाथि विपत्ति आउनेछ।
तिनीहरूले आफ्ना हातहरूले
गरेअनुसार नै भोग्नेछन्।
12जवानहरूले मेरा मानिसहरूमाथि थिचोमिचो गरेका छन्;
स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्।
हे मेरा मानिसहरू, तिमीहरूका पथ-प्रदर्शकहरूले नै तिमीहरूलाई बरालिदिएका छन्;
तिनीहरूले तिमीहरूलाई बाटोबाट फर्काउँछन्।
13याहवेहले न्यायालयमा आफ्नो आसन ग्रहण गर्नुहुन्छ;
उहाँ मानिसहरूको न्याय गर्न खडा हुनुहुन्छ।
14याहवेहले आफ्ना मानिसहरूका
प्रधानहरू र अगुवाहरूको विरुद्ध न्याय गर्नुहुन्छ:
“मेरो दाखबारी नष्‍ट पार्ने तिमीहरू नै हौ;
गरिबहरूबाट लिइएका लुटको माल तिमीहरूका घरहरूमा छ।
15मेरा मानिसहरूलाई धुलोपिठो बनाएको
अनि गरिबहरूका अनुहारहरू पिँधेको तिमीहरूले के अर्थ लाउँछौ?”
प्रभु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
16याहवेह भन्‍नुहुन्छ,
“सियोनका स्त्रीहरू अभिमानी छन्,
तिनीहरू गर्दन ठड्याउँदै
र विलासी आँखाहरू तर्काउँदै,
नक्‍कल पार्दै कल्‍ली लगाएर
छमछम गर्दै हिँड्छन्।
17यसकारण प्रभु याहवेहले सियोनका स्त्रीहरूका शिरमा घाउहरू ल्याउनुहुनेछ,
र तिनीहरूका तालु केशविहीन बनाइदिनुहुनेछ।”
18त्यस दिन प्रभुले तिनीहरूका सिङ्गारका चीजहरू जस्तै: चुराहरू र शिरबन्दीहरू, चन्द्रहारहरू, 19झुम्काहरू र बालाहरू र घुम्टाहरू, 20शिरका सिङ्गारहरू, कल्‍ली, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू, 21छाप-औँठीहरू र नत्थहरू, 22मसिनो वस्त्रहरू, अलखा र ओढ्नेहरू, थैलीहरू, 23अनि ऐनाहरू, मलमलका वस्त्रहरू, मुकुटहरू र दोसल्‍लाहरू खोसेर लैजानुहुनेछ।
24सुगन्धको सट्टामा दुर्गन्ध हुनेछ;
पटुकाको साटो डोरी;
राम्ररी कोरिएको केशको साटो मुडुलो टाउको हुनेछ;
मसिनो वस्त्रको साटो भाङ्ग्रा;
सुन्दरताको साटो डामै-डाम हुनेछ।
25तेरा मानिसहरू तरवारद्वारा मारिनेछन्;
तेरा योद्धाहरू लडाइँमा मारिनेछन्।
26सियोनका मूलढोकाहरूले बिलौना र शोक गर्नेछन्;
आश्रयविहीन भई तिनी भुइँमा बस्‍नेछिन्।

अहिले सेलेक्ट गरिएको:

यशैया 3: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्