यशैया 48
48
हठी इस्राएल
1“हे याकोबको घराना, यो कुरा सुन,
तिमीहरू, जो इस्राएलको नामले बोलाइएका छौ,
र यहूदाको वंशबाट आएका छौ,
तिमीहरू, जसले याहवेहको नाममा शपथ खान्छौ
र इस्राएलका परमेश्वरलाई पुकार्छौ;
तर सत्यता र धार्मिकतामा होइन;
2तिमीहरू, जो आफूलाई पवित्र सहरका नागरिक भन्छौ;
अनि इस्राएलका परमेश्वरमा भरोसा राख्छौ;
उहाँको नाम सेनाहरूका याहवेह हो।
3मैले पहिलेका कुराहरू धेरै अगि नै भनिसकेको छु,
मेरो मुखबाट ती निस्के, र मैले ती भनिदिएँ;
तब झट्टै मैले काम गरेँ, र ती हुन आए।
4किनकि तँ कति हठी छस् भन्ने मलाई थाहा थियो;
तेरो गर्दन फलामको जस्तो,
र तेरो निधार काँसाको जस्तो थियो।
5यसकारण मैले यी कुराहरू तँलाई धेरै अगि नै भनिदिएँ;
ती हुनुभन्दा पहिले नै मैले तँलाई सूचित गरेँ,
ताकि तैँले ‘मेरा मूर्तिहरूले यी गरेका हुन्,
र मेरा काठका मूर्तिहरूले यी गरेका हुन्’
भनी भन्न नपाओस्।
6तैँले यी कुराहरू सुनेको छस्; ती सबैलाई हेर्।
के तँ ती कुराहरू स्वीकार गर्दैनस्?
“अब उसो म तँलाई नयाँ कुराहरूको विषयमा भन्नेछु,
तैँले नजानेका गुप्त कुराहरू भन्नेछु।
7ती धेरै अगि होइन, अहिले सृजिएका हुन्;
तैँले यी विषयमा आजभन्दा पहिले सुनेको छैनस्।
यसकारण तैँले,
‘हो, मैले तिनीहरूको विषयमा जानेको थिएँ’ भन्न सक्दैनस्।
8तैँले न त सुनेको छस्, न त बुझेको छस्;
प्राचीन समयदेखि नै तेरो कान खोलिएको छैन।
तँ कति विश्वासघाती छस् भनी म राम्ररी जान्दछु;
तँलाई त जन्मैदेखि विद्रोही भनिन्थ्यो।
9म आफ्नै नामको खातिर आफ्नो क्रोधलाई ढिलो गराउँछु;
मेरो प्रशंसाको निम्ति मेरो क्रोध तँबाट रोकी राखेको छु,
यसैले कि तँ पूर्ण रूपमा नाश हुन नपरोस्।
10हेर्, मैले तँलाई खारेको छु, तर चाँदीलाई जस्तै होइन;
मैले तँलाई कष्टको भट्टीमा जाँचेको छु।
11मेरो खातिर, मेरो आफ्नै खातिर म यसो गर्नेछु।
म कसरी आफ्नै बदनामी हुन दिन सक्छु?
म आफ्नो महिमा अरू कसैलाई दिनेछैनँ।
इस्राएलको छुटकारा
12“हे याकोब सुन्,
इस्राएल, जसलाई मैले बोलाएको छु:
म उही हुँ,
प्रथम र अन्तिम म नै हुँ।
13मेरो आफ्नै हातले पृथ्वीको जग बसालेको हो,
र मेरो दाहिने हातले आकाशहरू फैलाएको हो;
मैले तिनीहरूलाई बोलाउँदा
तिनीहरू सबै एकसाथ खडा हुन्छन्।
14“तिमीहरू सबै एकसाथ आएर सुन:
कुन मूर्तिले यी कुराहरू पहिलेबाटै भनिदिएको छ?
याहवेहको चुनिएको सहयोगीले
बेबिलोनको विरुद्ध उहाँको उद्देश्य पूरा गर्नेछ;
त्यसको बाहुली बेबिलोनीहरूको विरुद्ध हुनेछ।
15म आफैँले बोलेको छु;
हो, मैले त्यसलाई बोलाएको छु।
म त्यसलाई ल्याउनेछु,
र त्यो आफ्नो काममा सफल हुनेछ।
16“मेरो नजिक आएर यो सुन:
“मेरो पहिलो घोषणादेखि नै म गुप्तमा बोलेको छैनँ;
यो हुन आएको समयदेखि नै, म छँदैछु।”
अब प्रभु याहवेहले मलाई
उहाँको आत्मासित पठाउनुभएको छ।
17तिमीहरूका उद्धारक,
इस्राएलका पवित्र परमेश्वर याहवेह यसो भन्नुहुन्छ—
“म याहवेह नै तिमीहरूका परमेश्वर हुँ,
जसले तिमीहरूलाई सबैभन्दा असल के हुन्छ, सो सिकाउनुहुन्छ,
जसले तिमीहरूले हिँड्नुपर्ने बाटो बताउनुहुन्छ।
18यदि तिमीहरूले मेरा आज्ञाहरूमा ध्यान दिएका मात्र भए,
तिमीहरूका शान्ति नदीझैँ हुनेथियो;
तिमीहरूका धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो।
19तिमीहरूका सन्तान बालुवाझैँ हुनेथिए,
र तिमीहरूका बालबच्चाहरू त्यसका असंख्य कणहरूझैँ हुनेथिए;
तिनीहरूका नाम मेरो सामुबाट कहिल्यै हटाइनेथिएन,
न त नाश गरिनेथियो।”
20बेबिलोनलाई छोडिदेओ,
बेबिलोनीहरूबाट भाग!
यसलाई हर्षको चीत्कारले सूचित गर
र यसलाई घोषणा गर।
यसलाई पृथ्वीको छेउसम्म पठाओ;
“याहवेहले आफ्नो सेवक याकोबलाई मोल तिरेर छुटाउनुभएको छ” भनी भन।
21तिनीहरूलाई उहाँले उजाडस्थान भएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्;
तिनीहरूको निम्ति उहाँले चट्टानबाट पानी निकाल्नुभयो;
उहाँले चट्टानलाई फोर्नुभयो
र पानी जोडसित फुटेर निस्क्यो।
22याहवेह भन्नुहुन्छ, “दुष्टहरूका निम्ति शान्ति छैन।”
अहिले सेलेक्ट गरिएको:
यशैया 48: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.