55
तिर्खाएकाहरूलाई निमन्त्रणा
1“हे सबै तिर्खाएकाहरू हो,
पानीनिर आओ;
जससित धन छैन, तिमीहरू पनि आओ,
र किनेर खाओ!
आओ, विनाधन, विनामूल्य
दाखमद्य र दूध किन!
2जे कुरा रोटी होइन, त्यसका निम्ति तिमीहरू किन रकम खर्च गर्छौ;
अनि जुन कुराले सन्तुष्ट पार्दैन, त्यसको निम्ति किन परिश्रम गर्छौ?
सुन, मेरो कुरा सुन, र जे असल छ, त्यो खाओ,
ताकि तिमीहरूको प्राण उत्तम भोजनमा तृप्त हुन सकोस्।
3कान थाप र मकहाँ आओ;
मेरो कुरा सुन, ताकि तिमीहरू जीवित रहन सक।
म तिमीहरूसित अनन्तको करार बाँध्नेछु;
दावीदलाई प्रतिज्ञा गरेको मेरो विश्वासयोग्य प्रेम।
4हेर, मैले त्यसलाई जातिहरूका बीच साक्षी बनाएको छु;
मानिसहरूका शासक र सेनापति ठहराएको छु।
5निश्चय तिमीहरूले नजानेका राष्ट्रहरूलाई तिमीहरू बोलाइपठाउनेछौ;
अनि याहवेह इस्राएलका पवित्र परमेश्वरका कारण
तिमीहरूलाई नचिनेका जातिहरू
तिमीहरूतिर हतारसाथ आउनेछन्;
किनकि उहाँले तिमीहरूलाई गौरवले भर्नुभएको छ।”
6जबसम्म याहवेहलाई पाउन सक्छौ, तबसम्म उहाँलाई खोज!
उहाँ नजिक हुनुहुँदा नै उहाँलाई पुकार!
7दुष्टले आफ्नो चाल,
र अधर्मीले आफ्नो विचार त्यागोस्।
तिनीहरू याहवेहतिर फर्कून्,
र उहाँले तिनीहरूमाथि कृपा देखाउनुहुनेछ;
अनि हाम्रा परमेश्वरतर्फ फर्कून्;
किनकि उहाँले सित्तैँमा क्षमा दिनुहुनेछ।
8“किनकि मेरा विचार तिमीहरूका विचार होइनन्,
न त मेरा मार्गहरू तिमीहरूका मार्गहरू हुन्”
याहवेह घोषणा गर्नुहुन्छ।
9“जसरी आकाश पृथ्वीभन्दा उच्च छ,
त्यसरी नै मेरा मार्गहरू तिमीहरूका मार्गहरूभन्दा उच्च छन्;
अनि मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्च छन्।
10जसरी वर्षा र हिउँ
आकाशबाट तल झर्छ,
र पृथ्वीलाई नभिजाएसम्म
र त्यसमा कोपिला लागेर उब्जनी नदिएसम्म,
त्यसले छर्नेलाई बिउ
र खानेलाई भोजन नदिएसम्म फर्केर जाँदैन;
11त्यसरी नै मेरो मुखबाट निस्केको वचन पनि त्यस्तै हुनेछ:
त्यो मकहाँ व्यर्थै फर्कनेछैन,
तर त्यसले मैले इच्छा गरेको काम सम्पन्न गर्छ;
अनि मैले जुन उद्देश्यले त्यसलाई पठाएँ, त्यो प्राप्त गर्छ।
12तिमीहरू आनन्दमा जानेछौ,
र शान्तिमा डोर्याइनेछौ;
पर्वतहरू र डाँडाहरूले तिमीहरूको सामु
जोडसित गीत गाउनेछन्;
अनि वनका रूखहरूले
ताली बजाउनेछन्।
13काँडाहरूको सट्टा सल्लाका रूखहरू उम्रनेछन्;
अनि लुहुँडेकाँडाको सट्टामा मेहदी उम्रनेछ;
त्यो कुरा याहवेहको ख्यातिको निम्ति
अनन्तको चिन्हको रूपमा हुनेछ,
जुन सदाको निम्ति रहनेछ।”