57
1धर्मी जनहरू नाश हुन्छन्,
र यस कुराको कसैले आफ्नो हृदयमा विचार गर्दैन;
भक्तहरू उठाइलगिन्छन्,
र धर्मीहरूलाई दुष्टताबाट
बचाइनका निम्ति लगिँदैछन् भनेर
कसैले बुझ्दैनन्।
2धर्मको मार्गमा हिँड्नेहरू
शान्तिमा प्रवेश गर्छन्;
तिनीहरू मृत्युमा सुत्दा विश्राम पाउनेछन्।
3“तर हे टुनामुना गर्ने स्त्रीका सन्तान,
व्यभिचारी र वेश्याका सन्तान हो, यहाँ आओ!
4तिमीहरू कसलाई गिल्ला गर्दछौ?
कसका विरुद्धमा मुख खोल्छौ र जिब्रो निकाल्छौ?
के तिमीहरू बागी वा झूटाहरूका सन्तान होइनौ?
5तिमीहरू फलाँटका रूखहरूको बीचमा
हरेक झ्याम्म परेको रूखमुनि कामवासनाले उत्तेजित हुन्छौ;
तिमीहरू आफ्ना छोराछोरीहरूलाई खोल्सा
र चट्टानका धाँदाहरूमा बलिदान गर्छौ।
6खोल्साका चिल्ला ढुङ्गाहरूको बीचमा भएका मूर्तिहरू तिमीहरूका भाग हुन्;
तिनीहरू नै तिमीहरू भाग हुन्।
हो, तिनीहरूलाई तिमीहरूले अर्घबलि र अन्नबलि चढाएका छौ।
यस्ता कुराहरू जान्दाजान्दै पनि के म खुशी होऊँ?
7तिमीहरूले आफ्नो ओछ्यान अग्ला डाँडाहरूमा बिछ्याएका छ्यौ;
तिमीहरू त्यहाँ आफ्ना बलिदानहरू चढाउन उक्लेर गयौ।
8तिमीहरूका ढोका र चौकसहरूको पछिल्तिर
तिमीहरूले आफ्नो देवताहरूका चिन्हहरू राख्यौ।
मलाई त्यागेर तिमीहरूले आफ्नो ओछ्यान उघार्यौ!
त्यसमा चढेर तिमीहरूले त्यसलाई उदाङ्गो पार्यौ;
तिमीहरूले जसका ओछ्यान मन परायौ, तिनीहरूसित सम्बन्ध गाँस्यौ,
र तिमीहरूले तिनीहरूको नग्नता हेर्यौ।
9तिमीहरू मोलोखकहाँ#57:9 अथवा राजाकहाँ जैतुनको तेल लिएर गयौ;
अनि तिमीहरूले सुगन्धित तेलहरू लगायौ।
तिमीहरूले आफ्नो राजदूतहरू#57:9 अथवा मूर्तिहरू टाढा पठायौ,
र तिमीहरू पातालसम्मै ओर्लेर गयौ!
10तिमीहरू आफ्नो लामो मार्गले गर्दा थकित भयौ,
तर तिमीहरूले, ‘यो व्यर्थको हो’ भनेनौ।
तिमीहरूले नयाँ सामर्थ्य पायौ,
यसैकारण तिमीहरू मूर्च्छा परेनौ।
11“कोसित तिमीहरू यति साह्रो डरायौ र त्रसित भयौ,
कि तिमीहरू मप्रति झूटो भयौ;
अनि न त मलाई सम्झना गर्यौ,
न त आफ्ना हृदयमा यस विषयमा विचार गर्यौ?
के धेरै बेरसम्म म चुप रहेँ भनेर नै
तिमीहरूले मलाई आदर गर्न छाडेका हौ त?
12म तिमीहरूका धार्मिकता र तिमीहरू कामहरू देखाइदिनेछु,
तर यसबाट तिमीहरूलाई कुनै लाभ हुनेछैन।
13तिमीहरूले सहायताको निम्ति पुकार्दा
तिमीहरूले थुपारेका मूर्तिहरूले नै तिमीहरूलाई बचाऊन्!
हावाले तिनीहरू सबैलाई उडाइलानेछ;
एकै सासले पनि तिनीहरूलाई टाढा लानेछ।
तर मलाई शरणस्थान बनाउने मानिसले
देशमाथि अधिकार गर्नेछ,
र मेरो पवित्र पर्वतलाई प्राप्त गर्नेछ।”
पश्चात्तापी हुनेलाई सान्त्वना
14तब यसो भनिनेछ:
“बनाओ, बनाओ, बाटो तयार गर!
मेरा प्रजाको निम्ति बाटोदेखि बाधाहरू हटाओ।”
15किनकि उच्च र सर्वश्रेष्ठ परमेश्वर भन्नुहुन्छ:
जो सदाकालको निम्ति रहनुहुन्छ, जसको नाम पवित्र होः
“म उच्च र पवित्र ठाउँमा बस्छु,
तर नम्रहरूको आत्मा
र पश्चात्तापीहरूको हृदयलाई जागृत पार्न,
आत्मामा नम्र र पश्चात्तापी भएकाहरूसित पनि बस्दछु।
16म सदाको निम्ति दोष दिइरहनेछैनँ,
न त सधैँ रिसाउनेछु;
किनकि त्यसो गर्दा मानिसको आत्मा,
मैले सृष्टि गरेको मानिसको सास, मेरो सामु शिथिल हुनेछ।
17मलाई त्यसको पापपूर्ण लोभले रिस उठायो;
मैले त्यसलाई दण्ड दिएँ, र रिसमा आफ्नो अनुहार लुकाएँ;
तापनि त्यो आफ्नै इच्छाको मार्गमा चलिरह्यो।
18मैले त्यसका चालहरू देखेको छु,
तर म त्यसलाई निको पार्नेछु;
म त्यसलाई डोर्याउनेछु,
र त्यसको चैन त्यसकहाँ फर्काइल्याउनेछु;
19म शोक गर्नेहरूका ओठमा प्रशंसा सृष्टि गरिदिनेछु।”
याहवेह भन्नुहुन्छ, “नजिक र टाढा भएकाहरूलाई शान्ति! शान्ति!
अनि म तिनीहरूलाई निको पार्नेछु।”
20तर दुष्टहरू अस्थिर समुद्रझैँ हुन्,
जसले विश्राम लिन सक्दैन,
जसका छालहरूले हिलो र माटो फ्याँक्छन्।
21मेरा परमेश्वर भन्नुहुन्छ, “दुष्टहरूलाई शान्ति हुँदैन।”