YouVersion लोगो
खोज आइकन

यर्मिया 10

10
परमेश्‍वर र मूर्तिहरू
1हे इस्राएलका घराना हो, याहवेहले तिमीहरूलाई के भन्दै हुनुहुन्छ, सो सुन। 2उहाँले तिमीहरूलाई यसो भन्‍नुहुन्छ:
“अरू राष्ट्रहरूका मार्गहरू नसिक,
अथवा आकाशका चिन्हहरूद्वारा नआत्तिओ;
यद्यपि ती राष्ट्रहरूचाहिँ ती चिन्हहरूद्वारा आत्तिन्छन्।
3किनकि तिनीहरूका रीतिरिवाजहरू व्यर्थका छन्;
तिनीहरूले जङ्गलबाट एउटा रूख काट्छन्;
अनि शिल्पकारले आफ्नो हतियारले त्यसलाई आकार दिन्छ।
4तिनीहरूले त्यसलाई चाँदी र सुनले सिँगार्छन्;
हथौडाले काँटी ठोकेर तिनीहरूले त्यसलाई जोड्छन्,
ताकि त्यो यताउता नहल्‍लिओस्।
5काँक्राबारीमा काग धपाउन राखिएको पुत्लाझैँ,
तिनीहरूका मूर्तिहरू बोल्न सक्दैनन्;
किनकि ती हिँड्न सक्दैनन्।
ती मूर्तिहरूलाई बोकेर लैजानुपर्छ।
तिनीहरूदेखि नडराओ;
तिनीहरूले कुनै पनि हानि गर्न सक्दैनन्,
न त तिनीहरूले कुनै असल कुरा नै गर्न सक्छन्।”
6हे याहवेह, तपाईंजस्तो अरू कोही पनि छैन;
तपाईं महान् हुनुहुन्छ;
अनि तपाईंको नाम महान् र शक्तिशाली छ।
7हे राष्ट्रहरूका राजा,
तपाईंसँग कोचाहिँ डराउँदैन र?
किनकि तपाईं आदरयोग्य हुनुहुन्छ।
राष्ट्रहरूका सबै बुद्धिमान् मानिसहरू
र तिनीहरूका सबै राज्यहरूमा
तपाईंजस्तो अरू कोही छैन।
8तिनीहरू सबै विवेकहीन र मूर्ख छन्;
तिनीहरू काम नलाग्ने काठका मूर्तिहरूद्वारा सिकाइएका छन्।
9मूर्ति बनाउन तर्शीशबाट पिटिएको चाँदी र
उपाजबाट सुन ल्याइन्छ।
शिल्पकार र सुनारद्वारा त्यसलाई बनाइन्छ;
अनि त्यसमा निलो र बैजनी रङ्गको लुगा लगाइन्छ।
ती सबै थोक सिपालु कारिगरहरूद्वारा बनाइएका छन्।
10तर याहवेह सत्य परमेश्‍वर हुनुहुन्छ;
उहाँ जीवित र अनन्तसम्मका राजा हुनुहुन्छ।
जब उहाँ रिसाउनुहुन्छ, पृथ्वी थरथर काँप्छ;
राष्ट्रहरूले उहाँको क्रोध सहनै सक्दैनन्।
11“तिनीहरूलाई यसो भन्: ‘यी देवताहरू, जसले स्वर्ग र पृथ्वी बनाएनन्, ती पृथ्वी र आकाशमुनिबाट नष्‍ट हुनेछन्।’ ”
12तर परमेश्‍वरले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो;
उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो;
र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो।
13जब उहाँ बोल्नुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ;
उहाँले बादललाई पृथ्वीको अन्तिम छेउबाट उठाउनुहुन्छ।
उहाँले झरीसँग बिजुली पठाउनुहुन्छ;
अनि हावालाई उहाँको भण्डारहरूबाट निकाल्नुहुन्छ।
14हरेक मानिस विवेकहीन र ज्ञानहीन छ;
हरेक सुनार आफ्नै मूर्तिहरूद्वारा शर्ममा पर्नेछ।
किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन्;
तिनीहरूमा जीवनको सास हुँदैन।
15ती मूर्तिहरू सबै व्यर्थका र ठट्टाका पात्र हुन्;
जब तिनीहरूको न्याय आउँछ, तब तिनीहरू नष्‍ट हुनेछन्।
16उहाँ, जो याकोबका अंश हुनुहुन्छ, उहाँ ती मूर्तिहरूजस्ता हुनुहुन्‍न;
किनकि उहाँ सबै कुराहरूको सृष्‍टिकर्ता हुनुहुन्छ,
जसमा इस्राएल, उहाँको उत्तराधिकारका मानिसहरू पनि सामेल छन्;
सेनाहरूका याहवेह उहाँको नाम हो।
आउन लागेको विनाश
17हे घेराउमा परेर बसेका यरूशलेमका बासिन्दाहरू हो,
देश छोड्नलाई आफ्ना सरसामानहरू बटुल।
18किनकि याहवेह यसो भन्‍नुहुन्छ:
“यसै समयमा म यस देशमा बस्‍नेहरूलाई
झटारो हानेर निकालिदिनेछु;
म तिनीहरूमाथि सङ्कष्‍ट ल्याउनेछु,
ताकि तिनीहरू पक्राउ परून्।”
19मेरो चोटको खातिर मलाई धिक्‍कार छ!
मेरो चोट निको नहुने किसिमको छ!
तापनि मैले आफूलाई भनेँ,
“यो मेरो रोग हो, र मैले यसलाई सहनैपर्छ।”
20मेरो पाल भत्काइएको छ;
पालका सबै डोरीहरू चुडाइएका छन्।
मेरा छोराछोरीहरू मबाट गइसकेका छन् र अब कोही पनि छैन;
अब मेरो पाल टाँगिदिने
अथवा मेरो वासस्थान ठिक गरिदिने कोही पनि बाँकी छैन।
21गोठालाहरू विवेकहीन भएका छन्,
र तिनीहरू याहवेहको खोजी गर्दैनन्;
यसैकारण तिनीहरू सफल हुँदैनन्;
अनि तिनीहरूका सबै बगालहरू छरपस्ट भएका छन्।
22सुन! यस्तो खबर आइरहेको छ,
उत्तरको देशबाट एउटा ठूलो होहल्‍ला आइरहेछ!
यसले यहूदाका सहरहरूलाई उजाड पार्नेछ,
र स्यालहरूका ओडार बनाउनेछ।
यर्मियाको प्रार्थना
23हे याहवेह, म जान्दछु, मानिसको जीवन उसको आफ्नो हातमा छैन;
तिनीहरू आफैँले आफ्ना पाइलाहरूलाई निर्देशन गर्दैनन्।
24हे याहवेह, मलाई सुधार्नुहोस्, तर तपाईंको न्यायअनुसार,
तपाईंको रिसमा चाहिँ होइन;
नत्रता तपाईंले मलाई भष्म पारिदिनुहुनेछ।
25तपाईंको क्रोध ती राष्ट्रहरूमाथि खन्याइदिनुहोस्,
जसले तपाईंलाई परमेश्‍वर भनी स्वीकार गर्दैनन्;
ती मानिसहरूमाथि, जसले तपाईंको नाम पुकार्दैनन्।
किनकि तिनीहरूले याकोबलाई निलेका छन्;
तिनीहरूले तिनलाई सर्लक्‍कै निलेका छन्;
अनि तिनको जन्मभूमिलाई उजाड पारिदिएका छन्।

अहिले सेलेक्ट गरिएको:

यर्मिया 10: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्