YouVersion लोगो
खोज आइकन

लूका 2:1-20

लूका 2:1-20 NCV

ती दिनहरूमा रोमी सम्राट सिजर अगस्टसले उनको साम्राज्यमा सबैको जनगणना गरियोस् भन्‍ने हुकुम जारी गरे। (कुरेनियस सिरिया राज्यका राज्यपाल हुँदा यो पहिलो जनगणना भएको थियो।) नाम दर्ता गर्न सबै आ-आफ्ना सहरमा गए। यसरी योसेफ पनि गालील प्रदेशको नासरत सहरबाट यहूदिया प्रदेशमा, दावीदको सहर बेथलेहेम गए; किनकि उनी दावीदकै घराना र वंशका थिए। उनी आफ्नो नाम दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्। तिनीहरू त्यहाँ रहेकै बेला बालक जन्मने बेला भयो, र तिनले आफ्नो जेठो छोरा जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्; किनकि तिनीहरूका निम्ति पाटी-पौवामा ठाउँ नै थिएन। त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्‍ने केही गोठालाहरू थिए। त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ प्रकट भए, र प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए। तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका लागि हुनेछ। आज दावीदको सहर बेथलेहेममा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्‍ट प्रभु हुनुहुन्छ। अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।” तब एक्‍कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्‍वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्‍यो: “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।” जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब ती गोठालाहरूले आपसमा भने, “हामी बेथलेहेममा जाऔँ, र यो भएको घटना हेरौँ, जसको विषयमा प्रभुले हामीलाई भन्‍नुभएको छ।” त्यसकारण तिनीहरू हतार-हतार गए, र मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए। जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैलाए। जति जनाले यो सुने, गोठालाहरूले तिनीहरूलाई बताएका कुरामा सबै आश्‍चर्यचकित भए। तर मरियमले यी सबै कुरा मनैमा राखिन् र त्यस बारेमा विचार गर्दै बसिन्। सबै कुरा तिनीहरूलाई भनिएबमोजिम नै सुनेका र देखेका हुनाले ती सबै कुराहरूका निम्ति परमेश्‍वरलाई महिमा र प्रशंसा गर्दै गोठालाहरू फर्के।

लूका 2 पढ्नुहोस्