5
येशूका प्रथम् चेलाहरू
1एक दिन येशू गनेसरेत#5:1 गालील र गनेसरेत एउटै ताल हो तालको छेउमा उभिरहनुभएको थियो, र मानिसहरू उहाँको वरिपरि भीड लागेर परमेश्वरको वचन सुनिरहेका थिए। 2त्यस बेला उहाँले तालको किनारमा मछुवाहरूले छोडिराखेका दुईओटा डुङ्गाहरू देख्नुभयो, मछुवाहरूचाहिँ जाल धोइरहेका थिए। 3उहाँ ती दुईमध्ये सिमोनको डुङ्गामा चढ्नुभयो, र किनारबाट अलिक पर लैजान भन्नुभयो। अनि उहाँले डुङ्गामा बसेर मानिसहरूलाई शिक्षा दिनुभयो।
4बोलिसक्नुभएपछि उहाँले सिमोनलाई भन्नुभयो, “गहिरोतिर गएर माछा पक्रन जाल हाल।”
5सिमोनले भने, “गुरुज्यू, हामीले रातभरि कडा परिश्रम गरेर पनि केही पक्रेका छैनौं, तर पनि तपाईंले भन्नुहुन्छ भने म जाल हाल्नेछु।”
6जब तिनीहरूले जाल हाले, तब तिनीहरूले यति धेरै माछा पक्रे कि जाल नै फाट्न थाल्यो। 7त्यसकारण तिनीहरूले आएर सहायता गर्नलाई अर्को डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई इशारा गरेर बोलाए। तिनीहरू आए, र दुवै डुङ्गालाई माछाले भरे, जसले गर्दा डुङ्गा नै डुब्लाजस्तो भयो।
8जब सिमोन पत्रुसले यो देखे, तब येशूको पाउमा परेर भने, “हे प्रभु, मबाट गइहाल्नुहोस्, किनकि म ता पापी मानिस हुँ!” 9किनकि तिनी र तिनका साथीहरू आफूले पक्रेका त्यति धेरै माछा देखेर छक्कै परेका थिए, 10त्यसरी नै जब्दीका छोराहरू याकोब र यूहन्ना पनि, जो सिमोनका साझेदारहरू थिए।
त्यसपछि येशूले सिमोनलाई भन्नुभयो, “नडराऊ, अबदेखि तिमीले मानिसहरूलाई पक्रनेछौ।”#5:10 अर्थात् सुसमाचार प्रचारद्वारा चेला बनाउने काम 11अनि डुङ्गालाई तानेर किनारमा ल्याएपछि तिनीहरूले सबै कुराहरू त्यागेर उहाँको पछि लागे।
कुष्ठरोग लागेको मानिस
12येशू कुनै एउटा शहरमा हुनुभएको बेला, एकजना मानिस आयो, जसलाई कुष्ठरोगले#5:12 त्यस बेला यहूदी समाजमा कुष्ठरोगलाई अशुद्ध मानिन्थ्यो, तर येशूले उसलाई छुनुभएर यहूदीहरूको पवित्रताप्रतिको गलत विचारलाई भङ्ग गरिदिनुभयो। ढाकेको थियो। येशूलाई देखेपछि भुइँमा घोप्टो परी त्यसले विन्ती गर्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने तपाईंले मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
13येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ।” अनि तुरुन्तै कुष्ठरोगले त्यसलाई छोड्यो।
14त्यसपछि येशूले त्यस मानिसलाई आदेश दिनुभयो, “यो कुरो कसैलाई नभन, तर जाऊ, आफैलाई पूजाहारीकहाँ देखाऊ, अनि मोशाले तिमीहरूको शुद्धीकरणको निम्ति दिएका आज्ञाअनुसार, तिनीहरूका साक्षीको लागि बलिदानहरू चढाऊ।”
15तर उहाँको विषयमा झन् धेरै चर्चा फैलियो, जसले गर्दा मानिसहरूका ठूला-ठूला भीड उहाँको शिक्षा सुन्न र आ-आफ्ना रोगहरूबाट निको हुन उहाँकहाँ आउँथे। 16तर येशू प्रायः तिनीहरूबाट अलग भई एकान्त स्थानहरूमा गएर प्रार्थना गर्नुहुन्थ्यो।
पक्षघात निको पारिएको
17एक दिन येशूले शिक्षा दिँदैगर्नुहुँदा गालील प्रदेशका हरेक गाउँ, यहूदिया प्रदेश र यरूशलेमबाट आएका फरिसीहरू#5:17 आफूलाई अरूभन्दा श्रेष्ठ ठान्ने यहूदीहरूको एउटा कट्टर समूह र व्यवस्थाका शिक्षकहरू#5:17 व्यवस्थाका पुस्तकबाट शिक्षा दिने यहूदी गुरुहरू त्यहीं बसिरहेका थिए। अनि बिरामीहरूलाई निको पार्नको लागि प्रभुको शक्ति उहाँसँग थियो। 18केही मानिसहरूले पक्षघात भएको एउटा मानिसलाई ओछ्यानमा बोकेर ल्याए, अनि त्यस मानिसलाई येशूको अघिल्तिर राखिदिन घरभित्र लैजान प्रयास गरे। 19तर भीडको कारणले गर्दा केही उपाय नलागेपछि, तिनीहरू छानामाथि चढे, र छानालाई उक्काएर त्यसको ओछ्यानसमेत नै त्यहींबाट ठीक येशूको सामुन्नेमा ओरालिदिए।
20जब येशूले तिनीहरूका विश्वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।”
21फरिसी र व्यवस्थाका शिक्षकहरूले आफैमा विचार गर्न लागे, “ईश्वरनिन्दा गर्ने यो मानिस को हो? परमेश्वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?”
22तिनीहरूले के सोच्दैछन् भन्ने थाहा पाएर येशूले सोध्नुभयो, “आफ्ना हृदयमा तिमीहरूले किन यस्ता कुराहरू विचार गर्दैछौ? 23के भन्नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ र हिँड’ भन्नु? 24तर मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरू जान।” यही कुरा दर्शाउन येशूले त्यस पक्षघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोकेर घर जाऊ।” 25त्यो तुरुन्तै तिनीहरूका बीचमा उठ्यो र आफू जुन ओछ्यानमा थियो, त्यो बोकेर परमेश्वरको प्रशंसा गर्दै घर फर्कियो। 26सबैजनाले अचम्म माने र परमेश्वरको प्रशंसा गरे। तिनीहरू भयभीत भएर भने, “आज हामीले आश्चर्यका काम देखेका छौं।”
लेवीलाई बोलावट
27त्यसपछि येशू बाहिर जानुभयो, र उहाँले लेवी नाउँ भएका एकजना कर उठाउनेलाई तिनको अड्डामा बसिरहेका देख्नुभयो; अनि येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग र मेरो चेला बन।” 28अनि तिनी सबै कुरा छोडे, उठे र उहाँलाई पछ्याए।
29त्यसपछि लेवीले आफ्नो घरमा येशूको निम्ति एउटा ठूलो भोजको आयोजना गरे; अनि कर उठाउनेहरू र अरू मानिसहरू ठूलो संख्यामा भोजमा बसिरहेका थिए। 30तर तिनीहरूका सम्प्रदायका फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँका चेलाहरूसँग गनगन गरे, “तिमीहरू किन कर उठाउनेहरू र पापीहरूसित खानपान गर्दछौ?”
31येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्दछ। 32म धार्मिकहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ।”
उपवास सम्बन्धी सोधपुछ
33तिनीहरूले उहाँलाई भने, “यूहन्नाका चेलाहरू प्रायः उपवास बस्दछन् र प्रार्थना गर्दछन्, अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्दछन्, तर तपाईंका चेलाहरू भने सधैं खानपान नै गरिरहन्छन्।”
34येशूले जवाफ दिनुभयो, “के दुलहा साथमा रहुन्जेल जन्तीहरूलाई तिमीहरूले उपवास बस्न लगाउन सक्छौ? 35तर बेला आउनेछन्, जब दुलहा तिनीहरूबाट लगिनेछन्, अनि त्यस दिन तिनीहरू उपवास बस्नेछन्।”
36उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “कुनै मानिसले नयाँ लुगा च्यातेर टालो निकाली पुरानो लुगामा टाल्दैन; नत्र ता त्यसले नयाँ लुगा पनि फटाउँछ, अनि नयाँ टालो पुरानोसँग मिल्दैन पनि। 37त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो छालाको थैलोमा खन्याउँदैन; नत्र ता नयाँ दाखमद्यले छालाहरू फुट्छन्; दाखमद्य पोखिन्छ, र छालाको थैलो पनि नष्ट हुन्छ। 38त्यसो हुन नदिन नयाँ दाखमद्य नयाँ छालाको थैलोमै राखिनुपर्दछ। 39अनि पुरानो दाखमद्य पिएपछि कसैले पनि नयाँको चाहना गर्दैन, किनकि त्यसले भन्छ, ‘पुरानै असल छ।’ ”