YouVersion लोगो
खोज आइकन

मत्ती 27

27
यहूदाले आफूलाई झुण्ड्याएको
1एकाबिहानै सबै मुख्य पूजाहारीहरू र जनताका प्रधानहरूले येशूलाई मार्ने निर्णय गरे। 2तिनीहरूले उहाँलाई बाँधेर लगे, र राज्यपाल पिलातसको हातमा सुम्पिदिए।
3जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डको आज्ञा दिइएको देख्यो, ऊ पछुतोले भरियो। अनि तीसओटा चाँदीका सिक्‍काहरू मुख्य पूजाहारीहरू र प्रधानहरूलाई फर्काइदियो, 4अनि भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।”
तिनीहरूले जवाफ दिए, “हामीलाई यसको के मतलब? यो ता तिम्रो जिम्मेवारी हो।”
5यसकारण यहूदाले त्यो पैसा मन्दिरमा फ्याँकिदियो र बाहिर निस्कियो। तब ऊ टाढा गयो, अनि आफू झुण्डिएर मर्‍यो।
6मुख्य पूजाहारीहरूले ती सिक्‍काहरू टिपेर भने, “यसलाई ढुकुटीमा हाल्न उचित छैन, किनकि यो रगतको मोल हो।” 7तसर्थ तिनीहरूले त्यस पैसाले परदेशीहरूको लागि गाड्ने ठाउँ भनेर कुमालेको जमिन किन्‍ने निश्‍चय गरे। 8यसैकारण आजसम्मै यसलाई रगतको जमिन भनिदै आएको छ। 9तब यर्मिया अगमवक्‍ताद्वारा भनिएको कुरा पूरा भयो: “तिनीहरूले इस्राएलीहरूद्वारा उहाँको मोल भनेर तोकेका चाँदीका तीसओटा सिक्‍काहरू लिए, 10अनि प्रभुले मलाई आदेश दिनुभएअनुसार तिनीहरूले त्यसलाई कुमालेको जमिन किन्‍न प्रयोग गरे।”#27:10 जक 11:12, 13; यर्मिया 19:1-13; 32:6-9
येशू पिलातसको सामुन्‍ने
11अनि येशू राज्यपालको अघि उभिनुभयो, अनि राज्यपालले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”
येशूले जवाफ दिनुभयो, “हो, तपाईंले भन्‍नुभएझैं।”
12जब उहाँलाई मुख्य पूजाहारीहरू र प्रधानहरूले दोष लगाए, उहाँले कुनै जवाफ दिनुभएन। 13तब पिलातसले उहाँलाई सोधे, “तिनीहरूले तिम्रो विरुद्धमा दिएका साक्षीहरू के तिमी सुन्दैनौ?” 14तर येशूले कुनै पनि अभियोगको जवाफ नदिनुभएको देखेर राज्यपाल अति छक्‍क परे।
15अब चाडको समयमा भीडले चाहेबमोजिम एकजना कैदीलाई छोडिदिने राज्यपालको चलन थियो। 16त्यस बेला तिनीहरूसित बारब्बा नाउँ भएको एकजना कुख्यात कैदी थियो। 17अनि जब भीड जम्मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूको लागि मैले कसलाई छोडिदिएको चाहन्छौ? बारब्बालाई कि ख्रीष्‍ट भनिने येशूलाई?” 18किनकि तिनीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भनी तिनलाई थाहा थियो।
19पिलातस न्याय आसनमाथि बसिरहेका बेला तिनकी पत्नीले तिनलाई यो समाचार पठाइन्: “यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज राती मैले सपनामा तिनको कारण धेरै कष्‍ट भोगेकी छु।”
20तर मुख्य पूजाहारीहरूले अनि प्रधानहरूले बारब्बालाई छोड्न र येशूलाई मृत्युदण्ड दिने माग गर्न भीडलाई उक्साए।
21राज्यपालले सोधे, “दुईजनामा म तिमीहरूको निम्ति कसलाई छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?”
तिनीहरूले जवाफ दिए, “बारब्बालाई।”
22पिलातसले सोधे, “त्यसो भए ख्रीष्‍ट भनिने येशूलाई म के गरूँ?”
तिनीहरूले जवाफ दिए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
23पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?”
तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
24जब पिलातसले आफ्नो केही सीप नलाग्ने, बरु अझ खैलाबैला मच्‍चिने देखे, तिनले पानी लिएर भीडको सामुन्‍ने आफ्ना हात धोए। तिनले भने, “म यस मानिसको रगतदेखि निर्दोष छु। यसको जिम्मा तिमीहरूकै हो।”
25सबैजनाले जवाफ दिए, “यिनको रगत हामीहरू र हाम्रा सन्तानमाथि परोस्।”
26तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए। तर तिनले येशूलाई कोर्रा लाउन लगाए, अनि उहाँलाई क्रूसमा टाँग्नलाई सुम्पिदिए।
सिपाहीहरूले येशूलाई अपमान गरेका
27तब राज्यपालका सिपाहीहरूले येशूलाई महलमा लगे अनि जम्मै पल्टनलाई उहाँको चारैतिर भेला गराए। 28तिनीहरूले उहाँको वस्त्र फुकालेर सिन्दूरे रङ्गका वस्त्रहरू लगाइदिए। 29अनि तिनीहरूले काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँको दाहिने हातमा एउटा निगालो राखिदिए; अनि उहाँको अघि घुँडा टेकेर उहाँलाई अपमान गरेर भने, “यहूदीहरूका राजाको जय!” 30तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा बारम्बार हिर्काए। 31उहाँलाई अपमान गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए, र उहाँलाई उहाँकै वस्त्र लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।
येशू क्रूसमा चढाइनुभएको
32तिनीहरू जाँदै गर्दा थिए, तिनीहरूले साइरिनीवासी सिमोनलाई भेटे अनि तिनीहरूले उसलाई क्रूस बोक्न कर लगाए। 33तिनीहरू गलगथा अर्थात् खप्परे भनिने ठाउँमा आइपुगे। 34त्यहाँ तिनीहरूले येशूलाई पित्त मिसाइएको दाखमद्य पिउनलाई दिए, तर चाखेपछि उहाँले त्यो पिउन अस्वीकार गर्नुभयो। 35जब तिनीहरूले उहाँलाई क्रूसमा चढाइसके, तिनीहरूले उहाँका वस्त्रहरू चिट्ठा हालेर आपसमा बाँडे। 36अनि तिनीहरू त्यहाँ बसेर उहाँलाई पहरा दिन थाले। 37उहाँको शिरको मास्तिर तिनीहरूले उहाँको विरुद्धमा लेखिएको यो दोषपत्र टाँगे:
यो यहूदीहरूको राजा येशू हो।
38त्यति बेला दुई डाँकूहरू पनि उहाँसित क्रूसमा टाँगिएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि। 39त्यस ठाउँबाट भएर हिँड्नेहरूले आफ्ना शिर हल्‍लाउँदै उहाँलाई अपमान गरेर 40यसो भने, “तँ, जो मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने, आफूलाई बचा! तँ परमेश्‍वरका पुत्र होस् भने, क्रूसबाट तल ओर्लेर आइज!” 41यस्तै किसिमले मुख्य पूजाहारीहरू, व्यवस्थाका शिक्षकहरू अनि प्रधानहरूले पनि उहाँको अपमान गरे। 42तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफूलाई बचाउन सक्दैन! यो इस्राएलको राजा हो! अहिले यो क्रूसबाट तल ओर्लिआओस्, र हामी यसलाई विश्‍वास गर्नेछौं। 43यसले परमेश्‍वरमाथि भरोसा राख्छ। यदि परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले यसलाई अहिले मुक्‍त गरून्, किनकि यसले ‘म परमेश्‍वरका पुत्र हुँ’ भनेको छ।” 44यसरी नै उहाँसित क्रूसमा टाँगिने डाँकूहरूले पनि उहाँलाई धेरै अपमान गरे।
येशूको मृत्यु
45बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। 46दिउँसो तीन बजेतिर येशू चर्को सोरमा कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” जसको अर्थ हो “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभयो?”#27:46 केही पा.लि.हरूमा इलोई, इलोई
47त्यहाँ उभिनेहरूमध्ये कतिले जब यो सुने, तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदैछ।”
48तीमध्ये एक जनाले तुरुन्तै दौडेर गई स्पन्ज लियो। उसले त्यसलाई सिर्कामा चोपेर एउटा निगालोमा लगाएर पिउन भनी येशूलाई दियो। 49अरूले भने, “अब यिनलाई एकलै छोडिदेओ। हेरौं कतै एलिया आएर यिनलाई बचाउँछन् कि।”
50अनि जब येशू चर्को सोरले फेरि कराउनुभयो, उहाँले आफ्नो प्राण त्याग्नुभयो।
51त्यस बेला मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। पृथ्वी हल्‍लियो अनि चट्टानहरू फुटे। 52चिहानहरू उघारिए अनि मरेर गएका धेरै पवित्र जनका शरीरहरू जीवित भई उठे। 53तिनीहरू चिहानबाट बाहिर निस्किआए, अनि येशू पुनर्जीवित भएपछि तिनीहरू पवित्र शहरमा गए र धेरै मानिसहरूकहाँ देखा परे।
54जब येशूलाई पहरा दिने त्यो कप्‍तान र ऊसित हुने अरूहरूले त्यो भुइँचालो र अरू घटनाहरू देखे, तिनीहरू अत्यन्त डराए, अनि भने, “निश्‍चय उहाँ परमेश्‍वरका पुत्र हुनुहुँदोरहेछ!”
55त्यहाँ धेरै स्त्रीहरू थिए, जसले टाढैबाट हेरिरहेका थिए। तिनीहरू उहाँको खाँचोमा सेवा गर्नलाई गालीलदेखि नै येशूको पछि लागेका थिए। 56तीमध्ये मरियम मग्दलिनी, याकोब र योसेफकी आमा मरियम र जब्दीका छोराहरूकी आमा थिइन्।
येशू गाडिनुभएको
57साँझ परेपछि, अरिमथियाका योसेफ नाउँ भएका धनी मानिस आए, जो स्वयम् येशूका चेला भएका थिए। 58तिनले पिलातसकहाँ गएर येशूको शव मागे र पिलातसले तिनलाई त्यो दिइयोस् भन्‍ने हुकुम गरे। 59अनि योसेफले शव लगे, र सफा मलमलको लुगाले बेह्रे, 60अनि आफ्नै नयाँ चिहानमा राखे जुन चट्टान खोपेर बनाइएको थियो। तिनले चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड्याइदिए र गए। 61त्यहाँ चिहानको सामुन्‍ने मरियम मग्दलिनी र अर्की मरियम बसिरहेका थिए।
चिहानमा पहरा
62अर्को दिन, अर्थात् विश्रामदिनको तयारीको भोलिपल्ट मुख्य पूजाहारीहरू अनि फरिसीहरू पिलातसकहाँ गए। 63तिनीहरूले भने, “हजुर, त्यस ठगले जिउँदो हुँदा ‘म तीन दिनपछि फेरि जीवित भई उठ्नेछु’ भनेको कुरा हामीलाई याद छ। 64यसकारण तेस्रो दिनसम्म चिहानलाई सुरक्षित राख्ने हुकुम दिनुहोस्। नत्र ता त्यसका चेलाहरूले आएर उसको शरीर चोरेर लैजालान्, अनि मानिसहरूलाई ऊ जीवित भई उठेको छ भन्लान्। यो अन्तिम धोका पहिलोभन्दा अझ नराम्रो हुनेछ।”
65पिलातसले जवाफ दिए, “केही पहरादारहरू लेओ र चिहानलाई तिमीहरूले जानेअनुसार सुरक्षित राख।” 66यसकारण तिनीहरू गए, अनि ढुङ्गामा छाप लगाएर एउटा पहरादारहरूलाई त्यहाँ राखेर चिहानलाई सुरक्षित पारे।

अहिले सेलेक्ट गरिएको:

मत्ती 27: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्