भजनसंग्रह 32
32
भजन 32
दावीदको मस्किल।#32:0 शीर्षक: सम्भवतः एक साहित्यिक वा साङ्गीतिक शब्द
1धन्य हो त्यो मानिस,
जसका अपराधहरू क्षमा भएका छन्;
जसका पापहरू ढाकिएका छन्।
2त्यो मानिस धन्यको हो,
जसको पापको लेखा याहवेहले राख्नुहुन्न,
जसको मनमा कुनै छलकपट छैन।
3जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ,
तब मेरो दिनभरिको विलौनाले गर्दा
मेरा हाडहरू मक्किए।
4किनकि दिनरात
तपाईंको बाहुलीको भार ममाथि रह्यो;
मेरो शरीरको शक्ति
गर्मीको तापलेझैँ सुकिगएको छ। सेला
5तब मैले आफ्नो पाप तपाईंको सामु स्वीकार गरेँ,
र मेरो अधर्म लुकाइ राखिनँ।
मैले भनेँ, “म याहवेहको सामु
मेरो अपराधहरू स्वीकार गर्नेछु।”
र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला
6यसकारण, जबसम्म तपाईंलाई भेट्न सकिन्छ,
सबै भक्तजनहरूले तपाईंमा प्रार्थना गरून्;
निश्चय नै उर्लेको डरलाग्दो भेलले
तिनीहरूलाई छुनेछैन।
7तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ;
तपाईंले मलाई सङ्कष्टबाट रक्षा गर्नुहुन्छ;
तपाईंले मलाई उद्धारका गीतले चारैतिर घेर्नुहुन्छ। सेला
8म तँलाई शिक्षा दिनेछु; र तँ कुन मार्गमा हिँड्नुपर्ने हो, सो तँलाई सिकाउनेछु;
म तँलाई सल्लाह दिनेछु, र तँमाथि मेरो नजर राख्नेछु।
9घोडा वा खच्चरझैँ नहोऊ, जसको समझशक्ति हुँदैन,
जसलाई रोक्न लगाम
र डोकरी चाहिन्छ,
नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्।
10दुष्टहरूले धेरै कष्ट भोग्छन्,
तर याहवेहमा भरोसा राख्नेहरूलाई
उहाँको अचुक प्रेमले चारैतिर घेर्दछ।
11हे धर्मी जनहरू हो, याहवेहमा आनन्दित होओ र हर्ष मनाओ;
सोझो मन भएकाहरू हो, तिमीहरू सबैले आनन्दसाथ जयजयकार गर!
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 32: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.