भजनसंग्रह 35
35
भजन 35
दावीदको भजन।
1हे याहवेह, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्;
मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्।
2ढाल लिनुहोस् र कवच पहिरनुहोस्;
उठ्नुहोस् र मेरो सहायताको निम्ति खडा हुनुहोस्।
3मलाई खेद्नेहरूका विरुद्धमा
तपाईंको भाला र बर्छा उठाउनुहोस्।
मलाई भन्नुहोस्,
“म तेरो मुक्ति हुँ।”
4मेरो प्राण लिन खोज्नेहरू
अपमानित होऊन् र शर्ममा परून्;
मेरा विरुद्धमा हानि रच्नेहरू
पछाडि फर्कून् र शर्ममा परून्।
5याहवेहका स्वर्गदूतले तिनीहरूलाई टाढा लखेटून्;
तिनीहरू बतासले उडाएका भुसजस्ता होऊन्।
6याहवेहका स्वर्गदूतले तिनीहरूलाई लखेटिरहून्;
तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्।
7किनकि कारणविना तिनीहरूले मलाई फसाउनलाई पासो बिछाए;
र कारणविना मलाई फसाउनलाई तिनीहरूले खाडल खने,
8अचानक तिनीहरूमाथि विनाश आइपरोस्;
तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफैँ परून्,
तिनीहरूले खनेका खाडलमा आफैँ परेर नष्ट होऊन्।
9तब मेरो प्राणचाहिँ याहवेहमा आनन्दित हुनेछ,
र उहाँको मुक्तिमा हर्षित हुनेछ।
10मेरो पूरा बलले भन्नेछु,
“हे याहवेह, तपाईंजस्तो को छ र?
तपाईंले दुर्बलहरूलाई तिनीहरूभन्दा शक्तिशालीहरूबाट बचाउनुहुन्छ,
अनि दुर्बल र खाँचोमा परेकाहरूलाई लुटेराहरूबाट बचाउनुहुन्छ।”
11निर्दयी साक्षीहरू अगि आउँछन्;
तिनीहरूले मैले जान्दै नजानेका कुराहरू मलाई सोध्छन्।
12तिनीहरूले मलाई भलाइको बदलामा खराबी गर्छन्,
तपाईंले मेरो प्राणलाई आफन्त गुमाएझैँ शोकमा डुबाउनुभएको छ।
13तापनि जब तिनीहरू बिरामी भए, मैले भाङ्ग्राको वस्त्र लगाएँ;
र उपवास बसेर आफूलाई दुःखित बनाएँ,
जब मेरा प्रार्थना उत्तरविना नै फर्केर आयो,
14मेरा मित्र वा भाइको निम्ति शोक गरेझैँ,
म तिनीहरूको निम्ति शोक गर्दै हिँडेँ।
आफ्नी आमाको निम्ति विलाप गरेझैँ
मैले शोकमा शिर झुकाएँ।
15तर जब मैले ठेस खाएँ, तिनीहरू मेरो विरुद्धमा एकमत भएर हाँसो गरे;
मैले थाहै नपाई आक्रमणकारीहरू मेरो विरुद्धमा जम्मा भए।
तिनीहरूले नथाकी लगातार मेरो निन्दा गरे।
16भक्तिहीनलेझैँ तिनीहरूले क्रूरतासाथ निन्दा गरे;
तिनीहरूले ममाथि दाह्रा किटे।
17हे प्रभु, कहिलेसम्म तपाईं हेरिरहनुहुन्छ?
तिनीहरूका आक्रमणबाट,
र ती सिंहहरूबाट मलाई छुटाउनुहोस्।
18म तपाईंलाई ठूलो महासभामा धन्यवाद चढाउनेछु;
विशाल जनसमूहमा म तपाईंको प्रशंसा गर्नेछु।
19मेरा शत्रुहरू कारणविना
मेरो विरुद्धमा रमाउन नपाऊन्;
मलाई घृणा गर्नेहरूले कारणविना
एकनासै मेरो खिल्ली गर्न नपाऊन्#35:19 मूल भाषामा आँखा झिम्काउनु।
20तिनीहरू त शान्तिको कुरै गर्दैनन्;
तर देशमा शान्तिसँग बस्ने
मानिसहरूका विरुद्धमा झूटो आरोपहरू रच्दछन्।
21तिनीहरूले ठूलो मुख बाएर मेरो विरुद्धमा भन्छन्, “ओहो! ओहो!
हामीले आफ्नै आँखाले यो देख्न पायौँ।”
22हे याहवेह, तपाईंले यो देख्नुभएको छ; अब चुप लागेर नबस्नुहोस्।
हे प्रभु, मदेखि टाढा नहुनुहोस्!
23हे प्रभु, मेरा परमेश्वर, उठ्नुहोस्; र मेरो रक्षाको निम्ति जाग्नुहोस्!
मेरो निम्ति लडिदिनुहोस्।
24हे याहवेह, मेरा परमेश्वर, तपाईंको धार्मिकतामा मलाई निर्दोष ठहराउनुहोस्;
तिनीहरू ममाथि रमाउन नपाऊन्।
25तिनीहरूले आफ्ना मनमा भन्न नपाऊन् कि, “आहा! हामीले चिताएजस्तै पुग्यो!”
अथवा भन्न नपाऊन्, “हामीले त्यसलाई निलिदियौँ।”
26मेरो विपतको समयमा मेरो हाँसो उडाउनेहरू
सबै लाजमा र अन्योलमा परून्;
मभन्दा ठूलो हुँ भनी घमण्डले धाक दिनेहरू
सबै शर्म र अपमानले ढाकिऊन्।
27म निर्दोष साबित भएको कामना राख्नेहरू
आनन्दले जयजयकार गरून् र हर्षित होऊन्;
तिनीहरूले निरन्तर यसो भनिरहून् कि, “याहवेह उच्च पारिनुभएको होस्,
उहाँ, जो आफ्नो सेवकको भलाइमा प्रसन्न हुनुहुन्छ।”
28मेरो जिब्रोले तपाईंको धार्मिकताको घोषणा गर्नेछ,
र तपाईंको प्रशंसा दिनभरि गरिरहनेछ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 35: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.